सुदूरपश्चिममा पहिलो पटक ग्रेभिटी रोपवे
November 26, 2015 | 9:22 pm    
बैतडी, १० मङ्सिर । सुदूरपश्चिममा नयाँ प्रविधिको ग्रेभिटी रोपवे पहिलो पटक दार्चुलामा निर्माण गरिएको छ ।
फिनल्यान्ड सरकारको आर्थिक सहयोगमा सञ्चालित ग्रामीण जलस्रोत परियोजना तथा स्थानीय निकायको सहयोगमा ग्रेभिटी गुड्स रोपवेको नेपालका लागि फिनल्यान्डका राजदूत योर्मा सुवान्तो, डोरिडारका उपमहानिर्देशक राजाराम कर्माचार्य र कृषि विभागका उपमहानिर्देशक सूर्यप्रसाद पौडेलले संयुक्त रुपमा बुधबार उद्घाटन गर्नुभएको हो ।
स्थानीय विकास अधिकारी सहदेव रायमाझीका अनुसार छापरी क्षेत्रमा आधुनिक तरकारीखेती गरिरहेका कृषकहरुलाई तरकारी सदरमुकामसम्म ल्याउन सजिलो बनाउन रोपवे निर्माण गरिएको हो ।
विद्युत्को अभाव तथा भिरपाखा भएको ठाउँमा रोपवे निर्माण गर्नु खुसीको कुरा भएको समेत स्थानीय विकास अधिकारी रायमाझीले बताउनुभयो ।
दार्चुलाको अपि नगरपालिका वडा नं ६ छापरीदेखि वडा नं १० बाँगावगडसम्म चल्ने रोपवे ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना, जिल्ला कृषि विकास कार्यालय, जिल्ला विकास समिति, अपि नगरपालिका र समुदायको करिब रु ४० लाखको आर्थिक सहयोग तथा स्थानीय जनसमुदायको श्रमदानबाट निर्माण गरिएको थियो ।
एक हजार २३६ मिटर लामो ग्रेभिटी (गुरुत्व बलका आधारमा चल्ने) उक्त रोपवेबाट सामान ओसारपसार गर्न झन्डै दुई मिनेट २० सेकेन्ड लाग्ने जिल्ला जलस्रोत विज्ञ पदम विष्टले बताउनुभयो । रासस