गैँडा संरक्षण – तेस्रो शून्य चोरी सिकार वर्ष
रत्ननगर (चितवन), माघ । सन् २०१५ मा कुनै पनि गैँडा चोरी सिकारबाट नमारिएको खुसियालीमा आज चितवनमा ‘सून्य चोरी सिकार वर्ष २०१५’ मनाइएको छ ।
यसअघि सन् २०११ र २०१३ मा सून्य चोरी सिकार वर्ष मनाइसकिएको छ । वन्यजन्तु अपराध नियन्त्रण समन्वय समितिले कार्यक्रम गरेको हो । विसं २०७१ वैशाख २० देखि आजसम्म ६४५ दिन नै शून्य चोरी सिकार अवधि रहेको निकुञ्ज विभागका महानिर्देशक तथा वन्यजन्तु अपराध नियन्त्रण समन्वय समितिका सदस्य सचिव फणीन्द्रराज खरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले सून्य चोरी सिकार मनाउन सफल हुनु प्रकृति र वन्यजन्तु संरक्षणमा महत्वपूर्ण आयाम भएको र यसले सामूहिक प्रयासको नयाँ सन्देश दिएको बताउनुभयो । “हामी गर्न सक्छौँ भन्ने सन्देश यो उपलब्धिले दिएको छ, सामूहिकता नै सबैभन्दा ठूलो कुरा हो भनेर पाठ समेत सिकाएको छ, यसले अन्तर्राष्ट्रियरुपमै गौरव बढाएको छ ”, मन्त्री सापकोटाले भन्नुभयो ।
नेपालमा प्रहरी, सेना, स्थानीयवासी र संरक्षणकर्मीको संयुक्त सहभागितामा संरक्षण भइरहेको छ । वन्यजन्तु संरक्षणमा जनस्तरमा चेतना अभिवृद्धि भएको र वन्यजन्तुको चोरी सिकार तथा अवैध व्यापार नियन्त्रणमा प्रभावकारी कार्यसम्पादन भएकाले संरक्षण सफल भएको चितवन निकुञ्जको निष्कर्ष छ ।
नेपालको चितवन राष्ट्रिय निकुञ्ज र भारतको काजिरङ्गा राष्ट्रिय निकुञ्ज गैँडाको मुख्य वासस्थान छ । सन् १९५० को दशकमा ८०० को सङ्ख्यामा रहेको अनुमान गरिएको गैँडा विसं २०२४÷२५ तिर ८१ देखि १०० मा झरेको अनुमान गरिएको थियो । हालैको गैँडा गणनाबाट नेपालमा ६४५ र चितवन निकुञ्जमा गैँडाको सङ्ख्या ६०५ रहेको तथ्याङ्क छ । चोरी सिकार नियन्त्रणका लागि निकुञ्ज कार्यालयमा चोरी सिकार प्रतिरोध एकाइ स्थापना गरी सुराकी परिचालन, सुराक सङ्कलन कार्य गरिएको निकुञ्जले जनाएको छ ।
यस्तै कुकुरको प्रयोगसँगै अत्याधुनिक प्रविधिको प्रयोग गरेर गस्ती हुने गरेको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । यसैबीच आज सून्य चोरी सिकार वर्ष मनाउने कार्यक्रममा संरक्षणमा सक्रिय भएका आठ संस्था र १३ संरक्षणकर्मीलाई कदरपत्रसहित सम्मान गरिएको छ । रासस