जनताका नायक कोइराला

Sushil Koirala

(सिबी अधिकारी)

काठमाडौँ, । हलिउडमा हिरो बन्ने उत्कट चाहनाका साथ अमेरिका जाने अन्तीम तयारीका बेला नेपाली राजनीतिले यु टर्न गरिदियो र हलिउडको नायक बन्ने सपना अधुरै रह्यो, राजनीतिक यात्रा पो सुरु भो – सुशील कोइरालाको ।

पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला नेतृत्वको सरकारलाई तत्कालीन राज महेन्द्रले विसं २०१७ साल पुस १ गते अपदस्त गर्दै पञ्चायती व्यवस्था लादेपछि कोइरालाको हलिउडको नायक बन्ने सपना अधुरै रह्यो । नयाँ बाटो पो तय भो –जनताको नायक बन्ने ।

लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, लोकान्त्रिक मूल्य र मान्यताका प्रतिमूर्ति कोइराला जसले, लामो राजनीतिक जीवनमा आफ्नो अनुपम उदाहरणीय छवि बनाउनुभयो , आफ्नो राजनीतिक यात्राका क्रममा ।
निर्वासन, जेल र विमान अपहरणका आरोह अवरोह कोइरालाका यात्रालाई कुनै विचलन ल्याएन ।

संविधान सभाबाट संविधान बनाउने छ दशक भन्दा लामो नेपाली जनताको सपना साकार पार्न कोइरालाको अथक योगदान रह्यो । उहाँकै नेतृत्वमा मुलुकले नयाँ संविधान पायो ।

वि.स. २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन र २०७० मङ्सिर ४ गते भएको दोस्रो संविधानसभा निर्वाचनपछि चारजना प्रधानमन्त्री बने तर संविधान जारी गर्ने सौभाग्य कोइरालाले पाउनुभयो । यसले कोइरालाको राजनीतिक उचाईलाई थप उचो बनायो ।
गणतन्त्र नेपालको छैटौँ प्रधानमन्त्री बन्नुभएका कोइरालालाको सोमबार राति १२ः५० बजे आफ्नै निवास महाराजगञ्जमा ज्वरो र निमोनियाका कारण निधन भएको थियो ।

पार्टीको सर्वोच्च पद सभापति र मुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्री हुँदा समेत कोइरालालाई कुनै लाभ र लालसका आकाङ्क्षाले छोएन । बरु कोइरालाले नेपालको राजनीतिका नेतृत्वलाई असल चरित्रको नमुना प्रदर्शन गरेर सबैको प्रशंसा हासिल गर्नुभयो ।

कोइरालाको देहावसनपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट उहाँको सादगी, निष्ठापूर्ण राजनीतिक योगदान र उदाहरणीय व्यक्तित्वका रुपमा मुक्त कण्ठले प्रशंसा हुन थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्व. कोइराला नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, देशभक्त राजनीतिज्ञ र अग्रणी व्यक्तित्व भएको चर्चा गर्दै उहाँको निधनबाट देशलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले स्व. कोइरालालले निरङ्कुशता विरुद्ध लोकतन्त्रको स्थापनाका साथै संविधान निर्माणका लागि खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसाका साथ स्मरण गर्नुभएको छ ।

सहमति, सहकार्य र एकताका अगुवा कोइरालाले संविधान सभाबाट संविधान निर्माण गर्न नेतृत्वदायी भूमिका खेल्नुभयो । संविधानको सफल कार्यान्वयनमा उहाँको अभाव खड्कनेछ प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष ओलीले वताउनुभयो ।

नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले सभापति कोइरालाको निधनबाट पार्टीलाई मात्र नभई मुलुकको राजनीति र लोकतान्त्रिक मूल्य मान्यतालाई समेत अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला नेपाली राजनीति तथा लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा र स्थापित व्यक्तित्व रहेको बताउनुभएको छ ।

कोइरालाको निधनप्रति समवेदन सन्देश दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजनीतिमा लामो समय सेवा गर्नुभएका कोइरालाको निधनबाट नेपाली काँग्रेसले शीर्ष नेता र भारतले असलमित्र गुमाएको बताउनुभएको छ ।

उहाँले कोइरालाको सरलताले सबैलाई पाठ सिकाएको पनि उल्लेख गर्नुभएको छ । मङ्गलबार काठमाडौँ आउनुभएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्व. कोइरालाप्रछि श्रद्धाञ्जलि अर्पण गर्दै स्व. कोइराला सादा जीवन र उच्च विचारका एक सच्चा र इमान्दार नेता भएको बताउनुभएको छ ।

त्यस्तै चीनका विदेशमन्त्री वाङ्चीले पनि समवेदना सन्देश पठाई स्व. कोइराला एक सादगी, लगनशील र सफल राजनीतिज्ञ भएको बताउनुभएको छ ।

संयुक्त राष्ट्र सङ्घका महासचवि बान की मुनले नेता कोइरालाको असामयिक निधनबाट आफू मर्माहत भएको उल्लेख गर्दै उहाँ सबैका आदरणीय राजनेता हुनुहुन्थ्यो भन्नुभएको छ ।

महासचिवका तर्फबाट उहाँका प्रवक्ताले आज जारी गर्नुभएको वक्तव्यमा महासचिव बानले जटिल सङ्क्रमणकाल र संवैधानिक प्रक्रियाका बेला नेपाललाई नेता कोइरालाले मार्गनिर्देश गर्नुभएको बताउनुभएको छ ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तमा अविचलित र अविछिन्न रही उहाँ काँग्रेसको केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यबाहक सभापति हुँदै १२औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएको थियो ।

पिता बोधप्रसाद र माता कुमुदिनीका जेठा छोरा सुशीलको जन्म १९९६ साउन २८ गते मोरङको विराटनगरमा भएको थियो । उहाँको पुख्र्यौली थलो सिन्धुलीको दुम्जा हो ।

राजनीतिका क्रममा डेढदशक निर्वासन जीवन व्यतित गर्नुभएका कोइरालाले जीवनका अनेकौ हन्डर खानुभयो । उहाँले छ वर्ष जेल जीवन बिताउनुभएको थियो । निर्वासनपछि २०३६ सालको जनमत सङ्ग्रह र वि.सं २०४६ को प्रथम जनआन्दोलनमा पनि उहाँको सक्रिय भूमिका थियो ।
बाल्यकालदेखि नै राजनीतिमा क्रियाशील उहाँ २००७ सालको जहानियाँ राणासासन अन्त्यको आन्दोलनमा बुबा बोधप्रसादसँगै सहभागी हुनुभएको थियो ।

विसं २०१० देखि नै राजनीतिमा सक्रिय कोइराला २०३६ सालमा काँग्रेस केन्द्रीय सदस्य हुनुभएको थियो । नेता कोइरालाले विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद जस्ता नेतासँग निकट रही काम गर्नुभयो ।

कोइरालाले पत्रकार ( ‘तरुण’ पत्रिकाको सम्पादक) का रूपमा पनि काम गर्नुभएको थियो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter