इटालीका नागरिकको हत्यामा संलग्न पक्राउ

gurung pkrau

काठमाडौँ, २१ चैत । ठमेलमा २१ वर्षअघि इटालीका एक नागरिकको हत्यामा संलग्न टासी गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

विसं २०५२ असोज २७ गते राति अन्दाजी १०ः३० बजेको समयमा ठमेलस्थित रेगी पवमा इटालियन नागरिक वर्ष २१ डेभिड क्यारारोलाई कुटपिट तथा चक्कु प्रहार गरी हत्या गर्ने कार्यमा संलग्न गुरुङलाई प्रहरीको केन्द्रीय अनुुसन्धान व्युरोले शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

क्यारारो आफ्ना दुईजना इटालेली महिला साथी एन्टेनोला केसराइनी र लारा स्कीबिनासँग ठमेलको रेगी पवमा बसिरहेको अवस्थामा गुरुङसहितका उनको समूह राति आई इटालीका महिलामाथि आपत्तिजनक व्यवहार प्रदर्शन गरेका थिए ।

सोही कुरामा विवाद हुँदा क्यारारोलाई कुटपिट एवम् छुरीसमेत प्रहार गरी सक्त घाइते बनाएकामा उपचारका लागि वीर अस्पतालमा लगेकामा चिकित्सकले मृत्यु भइसकेको बताएका थिए ।

घटनापश्चात् गुरुङ फरार भई नेपाल तथा भारतका विभिन्न स्थानमा लुकीछिपी बसेको अनुसन्धानको क्रममा खुलेको ब्युरोका वरिष्ठ उपरीक्षक मनोज न्यौपानले जानकारी दिनुभयो ।

घटनाको करिब डेढ वर्षपश्चात् गुरुङका बुबा कालु मनाङ्गे भन्ने तेन्जिङ गुरुङले छोरालाई अमेरिका पठाउन गोरखा जिल्ला समा गाविस बस्ने सण्डुप घलेको नामको प्रवेशाज्ञा लागेको २९६१५५० नम्बरको राहदानी रु चार लाख ५० हजारमा खरिद गरेका थिए ।

सो राहदानीमा तस्बिर परिवर्तन गरी गुरुङले आफ्नो फोटो राखी अमेरिका गएको अनुसन्धानको क्रममा खुलेको छ ।

गुरुङ करिब १५ वर्षभन्दा बढी समय अमेरिका बसी त्यहाँको स्थायी बसोबास अनुमतिपत्र (पिआर) लिइसकेका थिए ।

उनी साढे तीन वर्षअघि नेपाल फर्केको वरिष्ठ उपरीक्षक न्यौपानले बताउनुभयो । नेपाल आएपछि उनी मनाङ जिल्ला घर भएका काठमाडौँ, नयाँबजार, मनाङ गेटमा बस्दै आएका थिए ।

उनले आफ्नो नाममा हालसम्म कुनै जिल्लाबाट नागरिकता नलिए पनि उनको साथबाट बरामद भएको सण्डुप घले नाम उल्लेख भएको सवारी चालक अनुमतिपत्रमा नागरिकता नम्बर १६३१२ रहेको छ ।

सो नागरिकता नम्बर जिल्ला गोरखा छोप्राक बस्ने विमलादेवी पोखरेलको नाममा जारी भएको छ ।

गुरुङको तस्बिर प्रयोग भएको सण्डुप घलेको नामको सवारी चालक अनुमतिपत्र समेत मोरङ अमरदह बस्ने चौमाया लिम्बूको नाममा जारी भएको नम्बरसँग मिल्ने देखिएको छ । उनले प्रयोग गर्दै आएको सवारी चालक अनुमतिपत्र र नागरिकता नम्बर दुवै गलत रहेको भेटिएको छ ।

सो घटनामा संलग्न चार जना घटनालगत्तै पक्राउ परे पनि मुख्य अभियुक्त गुरुङ पक्राउ परेका थिएनन् । घटनामा संलग्न थप आठ जना अझै फरार छन् ।

तीमध्ये केही विदेशमा रहेको अनुसन्धानको क्रममा खुलेको र इन्टरपोलमार्फत पक्राउका लागि प्रयास गरिने ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले जानकारी दिनुभयो ।

तत्कालीन समयमा इटालिका नागरिक नेपालमा हत्या भएपछि इटालियन पर्यटक नेपाल आउनै छाडेका थिए । ब्युरोका निर्देशक सिलवालका अनुसार हत्यापछिको तीन वर्षका अवधिमा जम्मा तीन जना मात्रै इटालिका पर्यटक नेपाल आएका थिए ।

निर्देशक सिलवालले मृतकका परिवारलाई घटनाको दोषी पक्राउ परेको जानकारी दिन दिल्लीस्थित इटालियन दूतावासमा खबर गरिसकिएको बताउनुभयो ।

गुरुङको पक्राउले अपराध गर्ने बच्न सक्दैनन्, ढिलो वा चाँडो पक्राउ परिहाल्छन् भन्ने पुष्टि भएका उहाँको भनाइ छ ।

गुरुङलाई लागेको अभियोगमा सरकारी छाप दस्तखत कीर्तेमा एक वर्षसम्म कैद र रु ५० सम्म जरिवाना वा दुवै, राहदानी ऐनअनुसार एक वर्षसम्म कैद र रु ५०० सम्म जरिवाना वा दुवै, नागरिकता ऐनअनुसार एकदेखि पाँच वर्षसम्म कैद र रु २० हजारदेखि रु एक लाखसम्म जरिवाना वा दुवै र कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय हुनसक्ने कानुनी प्रावधान रहेको छ ।

उनलाई आज काठमाडौँ जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । रासस /किरण शान्ता

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter