पोखरेलीको चार दशकको सङ्घर्षको प्रतिफल हो अन्तर्राष्ट्रिय विमानस्थल

Pokhara Airportवासुदेव पौडेल (पोखरा), २ वैशाख । पोखरेली जनताको चार दशकदेखि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सपना बुधबार विमानस्थलको शिलान्याससँगै साकार हुने भएको छ ।

विमानस्थल निर्माणका लागि प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको ऋण सम्झौतासँगै निकै उत्साहित बनेका पोखरेली जनतालाई शिलान्यासले थप उत्साहित बनाएको छ । विश्वमा नै परिचित पर्यटकीय नगरी पोखरामा विमानस्थल निर्माणको प्रक्रिया अघि बढ्नुले यहाँको विकासका सम्भावनालाई अघि बढाएको विमानस्थल निर्माणका एक अभियन्ता एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी बताउनुहुन्छ ।

पोखरेली जनताले चार दशकदेखि विमानस्थल निर्माणका लागि देखाएको अग्रसरता एवम् सङ्घर्षले विमानस्थलको शिलान्याससँगै साकार रुप लिन लागेको उहाँले उल्लेख गर्नुभयो । “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराको मात्र नभएर ४ नं प्रदेश र समग्र नेपालकै लागि गौरवको विषय हो,” उहाँले भन्नुभयो, “विमानस्थल निर्माणसँगै सडक यातायात लगायतका पूर्वाधार विकासलाई पनि सँगसँगै लैजानुपर्छ ।”

पूर्वसांसद एवम् नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा पोखरामा लामो प्रतीक्षापछि अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुनुले पोखरा र प्रदेश नं ४ का जनतालाई निकै हर्षित तुल्याएको बताउनुहुन्छ । संविधान प्राप्त भएपछिको ठूलो उपहारका रुपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पोखरेलीले लिएको उहाँको भनाइ छ ।

विमानस्थल बनेसँगै लाखौँ विदेशी पर्यटक पोखरा भएर लुम्बिनी, मुक्तिनाथ, पशुपतिनाथ, कैलाशनाथ आदि धार्मिकस्थलको दर्शन र अवलोकनका लागि आउने शर्माले बताउनुभयो । जिविस कास्कीका पूर्वसभापति पुण्यप्रसाद पौडेल पनि विमानस्थलले पोखराका धेरै सम्भावनालाई उजागर गर्ने धारणा राख्नुहुन्छ । २०३४ सालदेखि जग्गा अधिकरण गरे पनि लामो समयदेखि काम अघि बढ्न नसकेकामा चिन्तित पोखरावासीले विमानस्थलको शिलान्यासको अवस्थासम्म आइपुग्नुलाई अत्यन्त हर्षका साथ हेरेको पौडेलले बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा गण्डकी धवलागिरि क्षेत्रीय समिति अध्यक्ष शङ्करप्रसाद बरालले अन्तर्राष्ट्रिय विमानस्थल समग्र पश्चिमाञ्चल र यस क्षेत्रको विकासका लागि अत्यन्त उपयोगी हुने धारणा राख्नुहुन्छ । “लामो समयको सङ«घर्षपछि विमानस्थल शिलान्यास भएको छ,” उहाँले भन्नुभयो, “यसलाई सबैले मिलेर समयमा नै सम्पन्न गर्न लाग्नुपर्छ ।”

पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसँगै पोखरा र यस आसपासको धेरै सम्भावना खुल्ने बताउनुहुन्छ । उहाँले यसले स्थानीय विकासका धेरै सम्भावना खोल्ने विश्वास व्यक्त गर्नुभयो । अबका दिनमा अन्तर्राष्ट्रिय विमानस्थल सुहाउँदा पूर्वाधार निर्माण गर्ने चुनौती थपिएको बताउँदै उहाँले विमानस्थल निर्माणका लागि ठूलो लगानी पोखरामा भित्रनु पनि आफँैमा यस क्षेत्रका लागि महत्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter