प्रधानमन्त्रीसहित ६ जनाद्वारा सपथ ग्रहण, बाढी पहिरोबाट ज्यान गुमाएकाहरुका परिवारलाई एक लाख दिने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, २० साउन – राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ६ मन्त्रीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महराले पद तथा गोपनीयताको सपथ लिनुभयो । बिहिबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट उहाँहरुले जनताको नाममा पद तथा गोपनियताको सपथ लिनुभएको हो ।
राष्ट्रपति भण्डारीले सर्वप्रथम प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनियताको सपथ गराउनुभयो । त्यसपछि दुई उपप्रधानमन्त्री बिमलेन्द्र निधि र कृष्णबहादुर महराले पद तथा गोपनीयताको सपथ लिनुभएको थियो । तेस्रो चरणमा रमेश लेखक, गौरी शंकर थारु र दलजीत श्रीपाइलीले पद तथा गोपनियताको सफथग्रहण गर्नुभयो ।
सरकारले बाढी पहिरोका कारण ज्यान गुमाएकाहरुका परिवारलाई सहयोगस्वरुप प्रतिपरिवार एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
मन्त्रिरिषद्को विहिवार साँझ बसेको पहिलो बैठकले देशका विभिन्न भागमा बाढी पहिरोका कारण ज्यान गुमाएकाहरुका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँसम्म राहत दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयका अनुसार साउन महिना लागेयता मात्र बाढी पहिरोमा परी १ सय भन्दा बढीको मृत्यु भएको छ ।
मन्त्रीपरिषद् बैठकले बाढी पहिरोका घटनामा परी घाइते भएकाहरुको स्वास्थ्य लाभको कामना गर्नुका साथै सरकार गठनमा सहयोग गर्ने सबै राजनीतिक दल र तिनका सांसद्लाई धन्यवाद दिएको छ ।
बैठकले सहिद् तथा बेपत्ता परिवारलाई राहतस्वरुप दिन यसअघिका सरकारले गरेका निर्णय कार्यान्वयन गर्ने निर्णय पनि गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।
बैठकले अर्को व्यवस्था नभएसम्मका लागि उपप्रधानमन्त्री तथा अर्थमन्त्री महरालाई प्रवक्ताको जिम्मेवारी तोकेको छ भने विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद्हरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।