सामुदायिक वन ठोकर्पावासीका लागि बरदान

forestअच्युत रेग्मी / (सिन्धुपाल्चोक), २७ साउन । पहिलोपटक सामुदायिक वन राष्ट्रिय दिवस मनाउन पाउँदा ठोकर्पावासी खुसी छन् ।

सामुदायिक वनको उद्गमस्थलका रुपमा परिचित ठोकर्पा गाविसमा यसैवर्षदेखि सामुदायिक वन राष्ट्रिय दिवस मनाउन थालिएपछि स्थानीयवासीमा खुसीयाली छाएको हो । विसं २०३० साउन २५ मा तत्कालीन गाउँ पञ्चायतका सभापति नीलप्रसाद भण्डारीको पहलमा ठोकर्पामा मुलुककै पहिलो सामुदायिक वनको स्थापना भएको थियो ।

सामुदायिक वनको मान्यता पाएको ४३ वर्षपछि पहिलो पटक सामुदायिक वन दिवस मनाइएको हो । ठोकर्पा– २ का ९३ वर्षीय इन्द्रबहादुर थापा त्यतिवेलाको उजाड डाँडालाई सम्झेर भावुक हुनुभयो । “घाँसदाउरा केही पाइदैनथ्यो, अहिले जताततै हराभरा छ,” उहाँले भन्नुभयो ।

उहाँले त्यस बखत खाना पकाउन दाउरा नभएर रुखका जरा खोतलेर दाउराको रुपमा प्रयोग गर्नुपरेको क्षण स्मरण गर्दै भन्नुभयो – “हामी गाउँले मिलेर बोटबिरुवा रोप्यौँ र एकघन्टा टाढा गएर पानी बोकेर ल्याएर हाल्थ्यौँ ।” आगामी पुस्तालाई घाँसदाउराका लागि अब भने सहज हुने उहाँको भनाइ छ ।

त्यसबेला नीलप्रसादसहितको १०३ सदस्यीय कार्यसमितिले सामुदायिक वनको स्थापना गरेको थियो । त्यही समितिले वनको रेखदेख गर्ने गथ्र्यो । उक्त वन बनाउन र संरक्षण गर्न तत्कालीन जिल्ला वन अधिकृत डा तेजबहादुरसिंह भण्डारीले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

ठोकर्पा–५ की ६० वर्षीया कृष्णकुमारी पौडेल त्यतिबेला तीन घन्टा टाढा गएर घाँसदाउरा खोजेर ल्याउनुपरेको दुःख सम्झनुहुन्छ ।

“अहिले आफ्नै बारीमा घाँसदाउरा पाइन्छ,” उहाँले भन्नुभयो । ‘ठोकर्पा सामुदायिक वन विश्वको पहिलो अभियान’ नारालाई तय गरेर अहिले ठोकर्पावासी वन संरक्षण र सम्बद्र्धनमा जुटिरहेका छन् ।

जिल्लामा हाल ४२९ सामुदायिक वन रहेका जिल्ला वन अधिकृत शिव सापकोटाले बताउनुभयो । वन संरक्षण र सम्बद्र्धनमा स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहेपनि वन प्रविधिज्ञ र रेञ्जरको पनि उत्तिकै भूमिका हुने उहाँ बताउनुहुन्छ ।

ठोकर्पा र कालिका गाविसबीच रहेको ठोकर्पा वनको संरक्षणपछि अहिले इन्धनको जोहो गर्न सजिलो भएको छ । सामुदायिक वनका अभियन्ता नीलप्रसाद भू–क्षय, बाढीपहिरो रोक्न र घाँसदाउराको अभाव हुन नदिन आफूले सामुदायिक वनको अवधारणालाई अगाडि सारेको बताउनुहुन्छ ।

पूर्व वन तथा भू–संरक्षणमन्त्री अग्निप्रसाद सापकोटा विश्व जगत्मा नेपालको पहिचान वन क्षेत्र नै भएकाले यसको विकास र विस्तार अहिलेको आवश्यकता रहेको बताउनुहुन्छ । “वनले ‘हरियो वन नेपालको धन’ भन्ने पहिचान पाएकाले यसको संरक्षण हुनु जरुरी छ,” उहाँले भन्नुभयो ।

हाल मुलुकको १७ लाख ९८ हजार ७३३ हेक्टर क्षेत्रफलमा १८ हजार ९६० वटा सामुदायिक वन फैलिएका छन् । वन तथा भू–संरक्षण मन्त्रालयका सचिव उदयचन्द्र ठाकुर सामुदायिक वनमा देखिएका चुनौतीलाई सबै मिलेर समाधान गर्नुपर्ने बताउनुहुन्छ । “सबै मिलेर एउटै धारणा बनाइयो भने सामुदायिक वनको समस्या हल हुन्छ,” उहाँले भन्नुभयो ।

सामुदायिक वन महासङ्घका अध्यक्ष गणेशबहादुर कार्की सामुदायिक वनको संरक्षण गरेमात्र देशको पहिचान स्थापित हुने बताउनुहुन्छ । विश्वव्यापी रुपमा आफ्नो पहिचान बनाएको सामुदायिक वनलाई जोगाउनु सबैको दायित्व भएको उहाँको भनाइ छ ।

ठोकर्पा सामुदायिक वनमा खोटे सल्लो, साल, सिसौँ, समी, टुनी, कटुसलगायतका रुख छन् भने आँप, कागती, नास्पाती, अमला, काफल, सुन्तलालगायतका फलफूलका रुख छन् । बाघ, भालु, चितुवा, मृग, स्याल, वनकुखुरा, ढुकुर, जुरेली, गिद्ध यहाँ पाइने मुख्य वन्यजन्तु तथा चराचुरुङ्गी हुन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter