प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
कृष्ण अधिकारी / गोवा (भारत), २९ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण यसै वर्ष उपयुक्त समयमा गर्ने वचन दिनुभएको छ ।
ब्रिक्स सम्मेलनमा भाग लिने क्रममा यहाँ आउनुभएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सीबीच भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री दाहालले नेपाल भ्रमणका लागि उहाँलाई पुनः निम्तो दिनुभएको थियो ।
परराष्ट्रमन्त्री डा प्रकाशशरण महतका अनुसार प्रधानमन्त्री दाहालको आग्रहपछि राष्ट्रपति सीले भन्नुभयो – “म यसै वर्ष उपयुक्त समयमा नेपालको भ्रमण गर्छु ।”
भ्रमणको मिति भने दुवै देशले कूटनीतिक माध्यमबाट तय गर्ने भएका छन् ।
भेटका बेला दुई नेताबीच पर्यटन प्रवद्र्धन, पूर्वाधार निर्माण, यातायात सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहनका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालले विगतमा चीन सरकारसँग भएका सम्झौताहरुको कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको परराष्ट्रमन्त्री डा महतले जानकारी दिनुभयो ।
चीनले नेपालको आर्थिक एवम् सामाजिक विकासमा निरन्तर सहयोग गर्दै आएको छ । पछिल्लो समय चीन सरकारले नेपाल सरकारलाई उपलब्ध गराउँदै आएको सहयोग राशिमा ठूलो परिमाणमा वृद्धि गरेको छ ।
भेटका अवसरमा प्रधानमन्त्री दाहालले चीन सरकारले अप्ठ्यारो अवस्थामा नेपाल र नेपाली जनतालाई पु¥याएको सहयोग र सद्भावप्रति आभार व्यक्त गर्नुभयो ।
सन् १९५५ मा दौत्य सम्बन्ध कायम भएपनि नेपाल र चीनबीच हजारौँ वर्षदेखि मित्रवत् सम्बन्ध रहिआएको छ । भूगोल र जनसङ्ख्याको दृष्टिले नेपाल र चीनबीच निकै ठूलो असमानता रहेपनि दुई देशबीचको सम्बन्ध निक्कै प्रगाढ छ । दुई मुलुकबीचको सम्बन्ध संयुक्त राष्ट्रसङ्घको बडापत्र र पञ्चशीलका सिद्धान्तमा आधारित छ ।
भेटका अवसरमा प्रधानमन्त्री दाहालले एक चीन नीतिप्रतिको नेपालको प्रतिबद्धतालाई दोहो¥याउँदै नेपालीे भूमि कुनै पनि मित्रराष्ट्रको अहितमा प्रयोग हुन नदिइने बताउनुुभयो ।
चीनले खासगरी विमानस्थल, विद्युत् आयोजना र सडकलगायत पूर्वाधार विकासमा महत्वपूर्ण अनुदान सहायता र आर्थिक सहयोग प्रदान गर्दैआएको छ ।
मन्त्री महतका अनुसार प्रधानमन्त्री दाहालले दुई देशका साझा समस्यालाई आपसी संवादबाटै समाधान गर्ने र त्यसका लागि मिलेर अगाडि बढ्ने चाहना चिनियाँ नेतासामु राख्नुभएको थियो ।
सो अवसरमा चीनका राष्ट्रपति सीले चीन, नेपाल र भारतबीचको त्रि–पक्षीय सम्बन्धलाई सुदृढ बनाएर अगाडि बढ्ने नेपालको प्रस्तावमा समर्थन जनाउनुभएको मन्त्री महतले बताउनुभयो ।
चीनका तर्फबाट नेपाली विद्यार्थीलाई उपलब्ध गराइँदै आएको छात्रवृत्ति कोटामा वृद्धि गर्ने, कृषि, उद्योग, जलविद्युत् र ऊर्जा विकासमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको थियो ।
सो अवसरमा राष्ट्रपति सीले बिम्स्टेकको प्रभावकारी कार्यान्वयनका लागि यस क्षेत्रका मुलुकहरुबीचको एकतामा जोड दिँदै त्यसका लागि बिम्स्टेक संयन्त्रलाई मजबुत तुल्याउनुपर्ने खाँचो आँैल्याउनुभएको थियो ।
त्यसैगरी, उहाँले नेपालको आन्तरिक एकतालाई मजबुत बनाएर जारी संविधानलाई कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिनुभएको मन्त्री डा महतले जानकारी दिनुभयो ।
करिब ४० मिनेट भएको उक्त द्विपक्षीय वार्तामा लुम्बिनीसम्म रेलमार्ग विस्तार गर्ने प्रसङ्ग पनि उठेको थियो ।
भेटमा परराष्ट्रमन्त्री डा महत, परराष्ट्र सचिव शंकरदास बैरागी, उच्च चिनियाँ अधिकारी र भारतका लागि नेपालका कार्यबाहक राजदूत कृष्णप्रसाद ढकालको उपस्थिति थियो । यसअघि प्रधानमन्त्री दाहालले भुटानी समकक्षी छिरिङ तोब्गेसँग भेटवार्ता गर्नुभएको थियो । रासस