चेपाङहरु पहिले बाध्यताले गिठा भ्याकुर खान्थे, अहिले रहरले

Chepang communityनारायण ढुङ्गाना / चितवन, ७ कात्तिक । शिक्षक बन्ने धोको बोकेका यस जिल्लाकै विकट गाविस लोथरका १४ वर्षीय गणेश चेपाङ तीन वर्षअघिसम्म जङ्गलमा घाँस दाउरा गर्ने, गिठा भ्याकुर र च्याउ खोज्ने गर्थे । कहिले बुबाआमासँग त कहिले उनी एक्लै पनि जान्थे । कुनैबेला जङ्गली गिठा खोजेर नल्याए बेलुकी भोकै सुत्नु पथ्र्यो ।

विद्यालय छाडेर जङ्गल जानुपर्ने बाध्यता थियो उनीहरुलाई । फाँडेको खोरियामा हुने मकै, कोदो र फापरले छ महिना पनि खान पुग्दैनथ्यो । अहिले तीन–चार वर्षदेखि उनी बाध्यतावस जङ्गलमा गिठा टिप्न गएका छैनन् । पढ्न नियमित विद्यालय जान्छन् । तेक्वान्दो खेल्छन् । छात्रावासमा बसेर अध्ययन गर्दैछन् । ‘अहिले त गिथा तिप्न गा’थैन’ – मलिन स्वरमा गणेशले भने ।

लोथर गाविसको विकट गाउँ कान्दामा कुमार बलराम स्मृति छात्रावासमा बसेर अध्ययन गर्न थालेका कोराक–४ दिवाङडाँडाका आकाश तामाङको पनि दैनिकी उस्तै छ । छ महिने अनिकालमा गिठा नखोजे उनको घरमा पनि आगो बल्थेन । त्यसबेला खानेकुरा नभएर भोकै बसेको अनुभव उनीसँग छ । ‘गिठा नखोज्दा एकदिन भोकै भाथ्यो’ आकाशले विगत सम्झिए । भात, तरकारी जे भने पनि गिठा थियो । त्यही गिठा उसिनेर बाँडेर खान्थे । नभए गाउँबाट मागेर या ऋण काढेर अन्नको जोहो गर्नुपथ्र्यो । ‘गाउँमा होस्टेल नहुँदा गिठा खोज्न जान्थ्यो, अहिले छैन’ – आकाशले भने ।

चितवनकै विकटमा रहेको कान्दा गाउँको कथा बेग्लै छ । विषालु च्याउ खाएर एकै परिवारका आठजनाको मृत्युपछि विगत र अहिले फेरिएको छ । गाउँमा अझै वर्षमा छ महिना अनिकाल व्यहोर्ने चेपाङ छन् । तर उनीहरुमा गिठा भ्याकुर खोजेर खानुपर्ने बाध्यता विस्तारै हट्दै गएको छ । स्थानीयवासी विभिन्न कृषिकर्ममा सक्रिय हुन थालेका छन् । कुनैबेला खान पुगेन भन्नेबित्तिकै यहाँ क्रियाशील लक्ष्मी प्रतिष्ठानले अन्न पठाइदिन्छ ।

प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले भने –‘कान्दा हाँस्नु पर्छ, कान्दा हाँस्दा देश हाँस्छ । विकट हाँस्दा जुन सौन्दर्य जन्मिन्छ, त्यसले अन्तर्राष्ट्रिय रुपमा पर्यटनको माध्यमबाट पहिचान पाउँछ ।’ अहिले कान्दा ‘यु टर्न भएको’ र पर्यटक भित्र्याउने अभियानमा लागेको गौतम बताउछन् । यसपालिको दसैँमा पनि चामल, दाल, तेललगायत सामग्री प्रतिष्ठानबाट उपलब्ध भएको बताउने कान्दा गाउँका स्थानीयवासी ५० वर्षीय झ्याउँको लाल चेपाङ भन्छन् – ‘खान त खोरियाले अझै पुग्दैन, तै नि ज्याला गर्न पा’छ, अन्न पा’छ ।’

उनका अनुसार पनि गिठा टिप्न बाध्यताले जानुपर्ने अवस्था छैन । गाउँमा तरकारी खेती सुरु गरिएको छ । छात्रावास निर्माण, बाटो निर्माण तथा अन्य विभिन्न काममा गाउँले नै खटिनुपर्छ । छात्रावासमा चाहिने सामान बोकेर ल्याउने काम पनि स्थानीयवासीकै हो । त्यसैले गाउँमै ज्याला मजदुरीसमेत पाइने भएपछि पहिले जस्तो हातमा पैसा नपर्ने महिना छैन र जङ्गलमा कन्दमूल खोज्न जानै पर्ने बाध्यता छैन ।

तैपनि पुरानो लागेको बानी भएकाले गाउँका चेपाङ जङ्गली गिठा भ्याकुर, तरुल खोजेर खाने चलन भने हराएको छैन । रहरले भए पनि कन्दमूल खोजेर खाने बानी छ । ‘पहिले बाध्यताले गिठा भ्याकुर खाइन्थ्यो भने अहिले रहरले खाइन्छ’– कान्देश्वरी विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलिया बताए ।

थपलिया त्यो गाउँ बसेको १५ वर्ष भयो । उनका अनुसार कति दिनसम्म पनि मुखमा अन्न पर्दैनथ्यो स्थानीयवासीको । खान हुने जडीबुटीका मुन्टा खान्थे । जङ्गली गिठा भ्याकुर र च्याउले जीवन धानिन्थ्यो । आङ ढाक्ने एकसरो कपडा हुँदैन्थ्यो । मान्छे देख्दा डराउँथे । ओछ्याउने कुरा नभएर अँगेनुमा आगो बालेर छेउमा बसेर रात काट्थे । भात खान दसैँ नै कुर्नुपथ्र्यो ।

विद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थी एउटै कोठामा हुन्थे । कान्दा रुपान्तरणमा लागेका सुरुका अभियन्ता मितेरी फाउन्डेसनका एकल सिलवाल ५० रुपैयाँले दसैँ मानेको तितो अनुभव सुनाउँछन् । तर अहिले विस्तारै परिवर्तन हुँदैछ । अधिकांशका नयाँ घर बने । उनीहरुले नयाँ संसार देख्न थालेका छन् । संसार बुझ्न थालेका छन् । एक अर्कामा सहयोगी भावना जाग्न थालेको छ । आत्मनिर्भर हुन थालेका छन् ।

पाँच वर्षको छोटो समयमै गरे के हुन्न र भन्ने उदाहरण पेस भएको छ कान्दा गाउँको परिवर्तनले । स्थानीय अगुवा चेपाङ सीताबहादुर गाउँमा नसोचेको परिवर्तन आउँदै गरेकामा खुसी छन् । चितवनको अति विकटमा पर्छ चेपाङ बस्ने कान्दा गाउँ । यहाँ जान सदरमुकाम भरतपुरबाट पूर्वी क्षेत्र हात्तीढापसम्म चार घन्टाको सवारी यात्रा हुन्छ । त्यहाँबाट उकालो छ घन्टा हिँडेपछि पहाडको टुप्पोसँगै जोडिएको खोपीमा पर्छ कान्दा ।

विसं २०६७ जेठ १४ गते जङ्गली कन्दमूल खोज्ने क्रममा स्थानीयवासी बाबुराम चेपाङको घरमा च्याउ आइपुग्यो । समय एकै भएन । सधैँ खाँदा केही नहुने च्याउ त्यसदिन फरक परेछ । विषालु भनेर चिनेनन् । उनीहरुले पकाएर भोको पेट भरे जसका कारण उनका परिवारका आठजनाकै मृत्यु भयो । बाबुरामसहित श्रीमती मतिमायाँ, छोराहरु पूर्णबहादुर र जितबहादुर, छोरी सानीमायाँ र डल्लीमायाँ, बुहारी सुमित्रा र सम्झना चेपाङको ज्यान गएको थियो । च्याउ खान नसक्ने भएकाले शम्शेरबहादुरलाई टुहुरो बनाएर सबै गए ।

सोही घटनाका कारण चितवनको अति विकट लोथर गाविसको कान्दा गाउँको मुहार परिवर्तन सम्भव भएको हो । भोकै र नाङ्गै बस्ने चेपाङ बालबालिका अहिले छात्रावासमा बस्छन् । विद्यालय जान थालेका छन् । सीप र प्रतिभा देखाउन थालेका छन् । बाहिरका जो कोही गए पनि ‘आहा १ कान्दा’ भन्ने गरेका छन् । गाउँमा १०२ घरका १२३ जना बालबालिका छात्रावासमा बसेर विद्यालय पढ्न थालेका छन् । लक्ष्मी प्रतिष्ठानले कान्दा रुपान्तरणका लागि काम गरिरहेको छ । ‘अब जङ्गलका गिठा, भ्याकुर र च्याउलाई भोको पेट भर्ने होइन त्यो देखाएर पर्यटन भित्र्याउनुपर्छ’ –गाउँ रुपान्तरणका अभियन्ता विष्णुले थपे ।

गाउँका अगुवा चन्द्रबहादुर गुरुङ गाउँ फेरिएको देखेर दङ्ग हुनुहुन्छ । यहाँको विकासका लागि विदेशमा रहेका नेपालीको अथाह सहयोग छ । चितवनका स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेल कान्दाको नमुना कार्य अन्यत्र पनि प्रयोग गर्नुपर्ने खाँचो औँल्याए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter