माछा पालेर भाइ र छोरालाई चिकित्सक बनाए

siraha-fishराजाराम कार्की / सप्तरी, २ मङ्सिर । सिरहाका पाण्डव मण्डल र सप्तरीका बलराम यादवले छोरा र भाइलाई डाक्टर मात्रै बनाएनन् झन्डै २५ जनालाई रोजगारी दिनुभयो र थोरै जमिन हुनेलाई पनि माछापालन व्यवसाय गर्न लगाउनुभयो ।

जहाँ इच्छा त्यहाँ उपाय भने झैँ मण्डल र यादवको चाहनालाई जिल्ला कृषि विकास कार्यालय सिराहा र सप्तरीका मत्स्य विकास अधिकृतले पूरा गरिदिए ।

नेपाल सरकारको प्राविधिक सहायता र तराईमा एक हेक्टर जमिन बराबर रु तीन लाख आर्थिक सहयोग उपलब्ध गराउने नीतिका कारण तराईमा माछापालन गर्ने किसानको सङ्ख्या अहिले बढेको छ ।

बलरामका छोरा अनिल यादवले गत वर्ष नेपालबाट एमबिबिएस (डाक्टर) को उपाधि प्राप्त गर्नुभयो । अनिल केही महिनापछि मेडिकल डाक्टर (एमडी) अध्ययनका लागि मित्र राष्ट्र चीन जाने अन्तिम तयारीमा हुनुहुन्छ ।

त्यसो त सिरहाका पाण्डवले भाइ ओमप्रकाश मण्डल र धीरज मण्डललाई नेपालमा एमबिबिएस अध्ययन गर्न लगाउनुभयो । मण्डलले आफ्नो फार्म भाइको नामबाट स्थापना गर्नुभएको छ । सशस्त्र द्वन्द्वको चपेटाबाट ओमले नयाँ जीवन प्राप्त गर्न सकेकाले फार्मको नाम ‘ओम मत्स्य फार्म’ राख्नु भएको रहेछ ।

सप्तरीका भरतकुमार शाहले पथ्थरगडा–७ मा व्यावसायिक माछापालन सुरु गर्नुभएको छ । आठ बिगाह जग्गामा व्यावसायिक माछापालन सुरु गर्नु भएका शाहको उत्साहको स्रोत यादव र मण्डल हुन् । उहाँको ११ वटा पोखरी छन् । प्रतिकट्टा १२० केजी धान दिएर उहाँले आठ बिगाहा जग्गा भाडामा लिनुभएको हो ।

भरतका अनुसार उहाँको पोखरीमा प्रतिकट्ठा २०० देखि २५० केजीसम्म माछा उत्पादन हुन्छ । सरदर जम्मा ३७ हजार केजी माछा उत्पादन हुने र ती माछा रु १९० देखि रु २०० प्रतिकेजीसम्ममा बिक्री गर्दा उहाँलाई खर्च कटाएर वार्षिक रु ५० लाख आम्दानी हुन्छ ।

नकटी रायपुर–८ रुपनी सप्तरीमा बलराम यादवले झन्डै १० बिगाह जमिनमा माछा व्यवसाय गर्नुभएको छ । उहाँको पोखरीमा १० जना व्यक्तिले रोजगारी पाएका छन् । उहाँका १३ वटा पोखरी छन् । सरकारबाट रु सात लाख ८० हजार अनुदान प्राप्त गर्नुभएका बलरामको कुल लगानी रु २४ लाख छ । उहाँले खर्च कटाएर वार्षिक रु ६० लाख बचत गर्नुहुन्छ ।

त्यस्तै, सिरहाका पाण्डव मण्डलले विसं २०७० मा ओम माछा फार्म दर्ता गरी व्यावसायिक माछापालन सुरु गर्नुभएको हो । उहाँको रु ४५ लाख ऋण छ । उहाँले सरकारबाट रु आठ लाख अनुदान प्राप्त गर्नुभएको छ । उहाँका ११ वटा पोखरी छन् । उहाँले खर्च कटाएर वार्षिक रु ५५ लाख बचत गर्नुहुन्छ । उहाँका फार्ममा १४ जनाले रोजगारी पाएका छन् ।

यहाँका अधिकांश पोखरीमा पङ्गासिएस, कार्प, रहु, नैनी, भाकुर र विदेशी जातमा कमन, सिल्भर, बिगहेड र ग्रासकार्प माछा उत्पादन गर्ने गरिन्छ । पङ्गासिएसलाई माछा जातमा राजा मानिन्छ । उक्त माछाको मेरुदण्डमा सग्लो एकमात्र काँडा हुन्छ ।

कुल गार्हस्थ्य उत्पादनमा माछाको योगदान चार दशमलव शून्य २२ प्रतिशत छ । नेपालमा माछाको बजार प्रचुर छ । आव २०७२÷७३ को असार मसान्तसम्म ४० हजार ३३६ वटा पोखरीबाट व्यावसायिक माछा उत्पादन कार्य भइरहेको सरकारी तथ्याङ्क छ ।

नेपाल मत्स्य व्यवसायी सङ्घका महासचिव जोगेन्द्र महतोका अनुसार भारतबाट प्रतिवर्ष झन्डै ७० प्रतिशत माछाको आयात हुन्छ । आव २०७२÷७३ को असार मसान्तसम्म पोखरीबाट ५५ हजार ५०० मेट्रिक टन र प्राकृतिक जलाशय, खोला तथा तालबाट २२ हजार ५०० गरी वार्षिक ७८ हजार मेट्रिक टन माछा उत्पादन भएको छ । सङ्घका अनुसार भारतबाट वर्षैपिच्छे ५४ हजारदेखि ६० हजारसम्म मेट्रिक टन माछा आयात हुने गरेको छ । यस आवमा गत आवको तुलनामा २९ प्रतिशतले माछा आयातमा कमी आएको बताइन्छ ।

आव २०७२÷७३ को असार मसान्तसम्ममा नौ हजार ९३४ हेक्टर जलाशय व्यावसायिक माछा उत्पादनका लागि उपयोगमा ल्याइएकोे छ । माछा उत्पादन कार्यमा ३५ हजार व्यवसायी किसान आबद्ध भएको बताइन्छ ।

खाद्य तथा गुणस्तर विभागले भारतबाट फर्मालिनको प्रयोग भएको माछा आयात भएको प्रमाणित गरेपछि काठमाडौँमा जिउँदो माछाको व्यापारसमेत बढेको छ । अठार महिनादेखि राजधानीमा ३८ वटा कक्षबाट जिउँदो माछाको बिक्री वितरण गर्दै आएको गोल्डेन लाइफ फिस इन्टरप्राइजेजका धनी खगेन्द्र ढकालले जानकारी दिनुभयो ।

राजधानीको बल्खु, चाबहिल, बानेश्वर, कलङ्की, बसुन्धरालगायतका चोकमा विभिन्न जातका जिउँदो माछा रोजीरोजी उपभोक्ताले खरिद गर्न सक्छन् ।

फर्मालिन एक प्रकारको रसायन हो । यसको प्रयोग लासलाई ताजा बनाइराख्न प्रयोग गरिन्छ । फर्मालिन प्रयोग भएको माछा खानाले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने कृषि सूचना तथा सञ्चार केन्द्रका प्रमुख नारायण न्यौपानेको भनाइ छ ।
छ ।

कुखुराको मासुको विकल्पमा उपभोक्ताले माछा रोज्न थालेपछि चितवन जिल्लाबाट ट्याङ्करमा माछा आयात गरी राजधानीका विभिन्न स्थानबाट जिउँदो माछा बिक्री वितरण गर्न थालिएको हो ।

नेपालमा करिब ५० जिल्लामा माछाको व्यावसायिक उत्पादन हुन्छ । यसमध्ये जनकपुर, चितवन, बाराको बोध वन, रुपन्देहीको छपिया र मोरङको बाबियाबिर्ता माछा उत्पादनका लागि प्रमुख क्षेत्र मानिन्छ । राजधानीसँग सहज पहँुच पुगेको चितवन जिल्लाले मात्र काठमाडौँमा माछा आपूर्तिलाई धानेको बताइन्छ ।

पछिल्लोपटक बर्डफ्लु रोगको सङ्क्रमणबाट हजारौँ किसान मर्कामा परेलगत्तै मासु उत्पादनमा लागिपरेका किसान माछा उत्पादनतर्फ आकर्षित भएका हुन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Nepal’s Kushal Bhurtel nominated for ICC Men’s Player of the month award

Nepal climbs a notch up in T-20 ranking and ranked 13th

US pledges $8.5 million to Nepal to fight against COVID-19 pandemic

NOC says there won’t be shortage of petroleum products despite prohibitory orders

SC bars CIAA from conducting Sting Operations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter