नेपाली उत्पादनलाई प्रवद्र्धन गर्नुपर्ने; लुम्बिनीमा जैविक विविधता सम्बन्धी अध्ययन शुरु
काठमाडौँ, पुस २१ गते । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्नसके मात्र देशको आर्थिक विकास हुने बताउनुभएको छ ।
नेपाली कपडा तथा जुत्ता उत्पादनको प्रदर्शन कक्ष ९गोरखा ट्वीड० को आज लाजिम्पाटमा शुभारम्भ गर्दै उहाँले नेपाली धागो, कपडा तथा जुत्ताका सामानले नै नेपालको पहिचान बढाएको बताउनुभयो ।
कला, संस्कृतिको धनी नेपालमा नेपाली उत्पादनलाई बढवा दिने तथा ती सामानको उपभोग गर्नुपर्ने सुझाव दिदैं उहाँले भन्नुभयो, “हातले तयार पारेको सामान केही महँगो त अवश्य हुन्छ, सस्तोको खोजीमा विदेशी सामान किन्ने बानी त्यागी स्वदेशी सामान किन्ने बानी बसाल्नुपर्छ ।”
नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले नेपाली उत्पादनमा विदेशी पर्यटकको उत्साहप्रद आकर्षण रहेको बताउनुभयो । गोरखनाथ ह्याण्डलुम प्रालिका अध्यक्ष दीपबहादुर शाहीले नेपाली उत्पादन पनि गुणस्तर हुन्छ भन्नुभयो ।
चापागाउँस्थित धागो उत्पादन गर्ने कारखाना तथा बलम्बुस्थित गोरखनाथ ह्याण्डलुम कारखानाबाट उत्पादित जुत्ता, कपडा तथा अन्य विभिन्न लुगाफाँटा तथा पाइन्ट प्रदर्शन कक्षमा राखिएको छ ।
लुम्बिनीमा जैविक विविधता सम्बन्धी अध्ययन शुरु
बुद्धजन्मस्थल लुम्बिनीमा जैविक विविधता सम्बन्धी अध्ययन शुरु गरिएको छ । एघार सय ५५ बिगाहा क्षेत्रफलमा फैलिएको लुम्बिनी बगैँचाभित्रका वनस्पति, रुख बिरुवा, जडीबुटी तथा जलचर, थलचर र किटपतङ्गको समेत अध्ययन शुरु भएको हो । लुम्बिनी विकास कोषले वनस्पति विज्ञहरुको सहभागितामा जैविक विविधता सम्बन्धी अध्ययन थालेको कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले जानकारी दिनुभयो ।
यहाँ कति प्रजातिका वनस्पति छन् भन्ने विषयमा अध्ययन जरुरी छ,उहाँले भन्नुभयो, “अध्ययनपछि बुद्धकालीन वनस्पतिका बारेमा समेत थाहा हुनेछ । ”
लुम्बिनीमा वृहत वृक्षरोपण (फलफूलका बिरुवा) अभियान शुरु भएकाले यहाँ हाल रहेका फलफूल तथा वनस्पतिको अवस्था, लुम्बिनीको माटोमा हुर्किन सक्ने फलफूल तथा रुख बिरुवाका साथै तीनको संरक्षणका उपाय वनस्पति विज्ञले पत्ता लगाउने छन् ।
लुम्बिनीमा अहिले १५० प्रजातिका वनस्पति पाइने वनस्पति शाखा अधिकृत सब्बिर खाँन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“अहिले नयाँ वनस्पति थप भए नभएको बारे अनुसन्धान थालेको छौ ।”हालसम्म लुम्बनीमा १२ प्रजातिका बुद्धकालीन समयका बिरुवा वनस्पति विज्ञ अच्युत तिवारी जानकारी दिहुन्छ । यहाँ बुद्धकालीन समयका महत्वपूर्ण वनस्पति भेटिएका छन् ।
उहाँ भन्नुहुन्छ, “ती यही उत्पादन भएका हुन कि बाहिरबाट ल्याएर लगाइएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।”यहाँ रुख बिरुवा हुर्काउनका साथै जलचर प्राणीको वासस्थान विस्तार गर्न विकास कोष क्षेत्रभित्र १० वटा ठूला पोखरीको निर्माण समेत शुरु भएको छ ।
हाल रहेका वनस्पतिको संरक्षण गर्दै थप कति प्रजातीका वनस्पति हुर्किन सक्छन् भन्ने विषयमा विज्ञहरुले अध्ययन गर्ने लुम्बिनी विकास कोषले जनाएको छ । लुम्बिनीमा हाल आँप, पिपल, सिसौ, जामुन, निमलगायत वनस्पति र मृग, निलगाई, बँदेल, कछुवा, सर्प, लोखर्के पाइन्छन् । साथै सारस लगायत जलचर, थलचर जीव जन्तु तथा पक्षी पनि छन् ।
लुम्बिनी चराचुरुङगीका लागि समेत उपयुक्त वासस्थान मानिन्छ । यहाँ सारस कोइली, भद्राई, कालो चिबे, मधुमक्षी, विभिन्न प्रजातिका बकुल्ला, भुडिफोर, घोगीफोर, कालोगण्ड, हरिहाँस, बिजुलगैरे, सानो जलेवा, सावरी, कुर्मा, लालसर, लामोऔले, मरुल, जलअप्सरा, छुट्टिच्याउँ, टमटमे, आँसीठुडे, पानीचाहा र तोमुनीया, छिर्केमुनीया, सुनचरी, काजले सुनचरी, माटोकोरे, काफलपाक्यो, कोकले,साइबेरीयन रुबि, रानीचरी, लगायतका २२२ प्रजातिका चरारा पाइन्छन् ।
वनस्पति र जीवजन्तुलाई संरक्षण गर्नसकेमा मात्र जैविक विविधताको संरक्षण गर्न सकिने भएकाले तिनको संरक्षणमा ध्यान दिन आवश्यक रहेको वनस्पतिविद्हरू बताउँछन् । रासस