रसुवाः नौ हजार आवास निर्माण
रसुवा, वैशाख ११ गते । भूकम्प गएको चार वर्ष बित्दा पनि रसुवा जिल्लाको निजी आवाव निर्माणको कामले अझै पूर्णता पाउन सकेको छैन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ रसुवाका अनुसार विसं २०७२ वैशाखको भूकम्पका कारण क्षति भएका कूल १२ हजार ४९२ निजी घरमध्ये हालसम्म तेस्रो किस्तासम्म अनुदान लगी घर निर्माण नौ हजार ६७३ मात्र भएको छ । जिल्लामा बसोबास गर्ने ग्रामीणवासीकोे बसोबास अहिले क्रमशः सहज हँुदै गएको छ ।
पहिलो किस्ता लगेका लाभग्राहीको सङ्ख्या ११ हजार ७४४ र दोस्रो किस्ता लग्नेमा १० हजार ९११ छन् । भूकम्पको असरले जमीन चिरिएपछि एक हजार २० जनाले आफ्नो थातथलो छाडी विस्थापित हुन पुगेका थिए । विस्थापितमध्ये पाँच सय ५७ जनालाई सरकारले तोकेको रु दुई लाख अनुदानबाट सुरक्षित ठाउँमा पुनर्वासका लागि घडेरी खरीद भैसकेको छ । त्रिहत्तर जनाले भने आफूखुशी घडेरी जमीनको व्यवस्था गरिसकेको पुनःनिर्माण प्राधिकरण एकाइले जनाएको छ ।
बसोबासका लागि सबैभन्दा बढी मर्का परेकामा उत्तरगया –१ गोगने, मैलुङ(साविक हाकु ८ र ९)का बासिन्दा छन् । अहिले उत्तरगया गाउँपालिका खाल्टे बगरमा करीब १५० परिवारको बसोबास रहेको उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले जानकारी दिनुभयो ।
गर्मीको मौसम, खोलाको बगर, जस्ताको टहरो, बढी हावाहुरी चल्ने क्षेत्र भएका कारण विस्थापित त्रिशूली नदी, खाल्टे बगरमा रहेका शिविरका १३ टहरा हालैको हुरीले पूर्ण रुपले क्षति भएको र ३२ घर सामान्य रुपमा क्षति पुगेको उत्तरगया गाउँपाकिालले जनाएको छ । टहरा पुनःनिर्माणका लागि विपद् व्यवस्थापन समितिबाट केही सहयोगको पहल भइरहेको बताइएको छ ।
गोगने र मैलुङका विस्थापितलाई खाल्टेबगरबाट तिरु क्षेत्रमा लगी एकीकृत बस्ती बसाल्ने कार्ययोजना बनाई १०९ घरपरिवारका लागि जग्गा व्यवस्थापन भइसके पनि अन्य व्यक्तिलाई घडेरी जग्गाको खोजी भइरहेको उत्तरगयाका अध्यक्ष लम्सालले बताउनुभयो ।
भौगोलिक विकटताकै कारण एकीकृत बस्ती निर्माणको काम अगाडि बढाउन निर्माण सामग्री ढुवानीका लागी मैलुङ, त्रिशूली नदीदेखि तिरुसम्म नौ किमी सडक निर्माण अगाडि बढाइसकिएको गाउँपालिकाले जनाएको छ ।
भूकम्पपछि विस्थापित हाकु क्षेत्रका अधिकांश बासिन्दालाई अन्यत्र बसोबास सार्दा भावी पुस्ताले आफ्नो कला, संस्कृति र रीतिरिवाज बिर्सन सक्ने सम्भावना बढेकाले आफ्नो थातथलोकै आसपासमा पुनःबास गर्ने सोचका साथ तिरु क्षेत्रको सुरक्षित ठाउँमा एकीकृत बस्तीमा केही विस्थापित जाने विचारमा पुगेको गोगनेका छेकु लामाले बताउनुभयो ।
सदरमुकामभन्दा पश्चिम हाकु क्षेत्रअन्तर्गत सानो हाकु क्षेत्रका बासिन्दा भने साबिक थलोभन्दा केही तल सरेको स्थानीय बासिन्दाले बताए । हाकु क्षेत्रका बासिन्दाको बसाइ धुञ्चे र हाकु दुवै क्षेत्रमा आलोपालो हुन थालेको छ । केही सीमित व्यक्ति धुञ्चेमा स्थायी घरटहरा बनाई बसेको बताइएको छ ।
गोरखा भूकम्पले जिल्लाका १९ विद्यालय अर्थात् ६५९ कक्षाकोठामा क्षति पु¥याएकामा हालसम्म ७० कोठा निर्माण भइसकेको विद्यालय पुनःनिर्माणमा कार्यरत जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का जिल्ला प्रमुख सरोज भण्डारीले जानकारी दिनुभयो । निर्माण गर्न बाँकी विद्यालयका हकमा विद्यालयका नाउँमा जग्गाको स्वामित्व नहँुदा कसरी लगानी गर्ने भन्ने विषयमा अलमल भइरहेको भण्डारीले बताउनुभयो ।
निर्माण भएका विद्यालयमा केही गैससको समेत सहयोग रहेको बताइएको छ । विद्यालय निर्माण गराउँदै गर्दा पठनपाठनमा कुनै समस्या नभएको र सुरक्षित तवरले पढाइ सञ्चालन भरहेको शिक्षा एकाइ प्रमुख बालकृष्ण सिंखडाले जानकारी दिनुभयो । रसुवाका जनतालाई सेवा दिने स्वास्थ्य संस्था भने अधिकांश(लाङटा¬ङबाहेक) प्रिफ्याब ढाँचाबाट बनेका छन् । स्वास्थोपचार सेवा नियमित रुपमा सञ्चालन भरहेको स्वास्थ्य कार्यालय प्रमुख शिवप्रसाद बरालले बताउनुभयो ।
एक एक जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र तथा १७ स्वास्थ्यचौकीमध्ये लाङटाङ स्वास्थ्यचौकी निर्माण भइरहेको छ । जिल्ला अस्पताल रेडक्रसले र अधिकांश स्वास्थ्यचौकी कणा फाउण्डेशनले निर्माण गरेको स्वास्थ्य प्रमुख बरालले बताउनुभयो । भूकम्प अगाडिको भन्दा अहिलेको प्रिफेब्रिकेशनका भवनबाट उपचार दिने कार्यमा सहजता भएको स्वास्थ्यकर्मीले बताएका छन् ।
बौद्ध गुम्बातर्फ भने भूकम्पले क्षति पु¥याएका ५४ गुम्बा निर्माण हुन बाँकी रहेको बताउँदै प्राधिकरणले लाङ्टाङको क्याङ्जेन गुम्बा निजीस्तरबाट निर्माण भइसके पनि त्यसको पुष्टि भने भननसकेको जनाएको छ । जिल्लामा रहेका अधिकांश सरकारी कार्यालय स्थानीय तहमा गाभिए पनि भूकम्पले क्षति बनाएका खानेपानी, भवन, आवास, हुलाक, कृषि, पशुसेवा, सिँचाइजस्ता कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समितिले जनाएको छ । पुनःनिर्माणको काम गराउन तोकिएको अनुदान रकम सरकारले छिटो छिटो उपलब्ध गराए पनि कार्यान्वयन पक्षमा शिथिलता आएको नागरिक समाजले जनाएको छ ।