वर्षाका कारण काठमाडौंमा तीन सहित ११ जनाको मृत्यु; वर्षा अझै दुई दिन जारी रहने, सजग रहन आग्रह

काठमाडौ, असार २७ गते । दुई दिन देखिको निरन्तर वर्षाले देशभर धनजनको क्षति भएको समाचारहरू प्राप्त भएका छन् ।

गृहमन्त्रालयका अनुसार देशभर शुक्रबार अपरान्ह सम्म एघार जनाको मृत्यु भएको छ भने आठ जना वेपत्ता भएका छन् । बाढी पहिरोका कारण १३ जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ ।

यसबीच मुलपानीमा पर्खाल भत्कँदा तीन जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ

प्रमद्वारा उद्धारमा जुटन निर्देशन

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनको निरन्तरको वर्षाका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढी पहिरो पीडितका लागि उद्धार तथा राहतको काममा जुटन गृह, रक्षा लगायत सम्बन्धित मन्त्रालय सुरक्षा निकाय र स्थानीय तहलाई निर्देशन दिनु भएको छ ।

यस्तै प्रधानमन्त्रीले आफ्नो ट्वीटरमा बाढीसँगै उद्धारका लागि तदारुक्ताका साथ सुरक्षाकर्मी परिचालन गरिएको र सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा दुई देशबीच समन्वय गरी वहाव खुलाउने काम भई रहेको उल्लेख गर्नु भएको छ

प्रधानमन्त्रीले मन्त्रीहरूसँग मन्त्रालयका कामको प्रगति बारे ब्रिफिङ् लिने क्रममा सो निर्देशन दिनु भएको हो ।

यसैबीच जल तथा मौसम विज्ञान विभागले भेरी निन्दा विरिङ मावा, रतुवा, नुनखोला, लोहन्द्रा, बुढीखोला, खेसिलिया, सुनसरी खोला, त्रिुयुगा, वालन, खुट्टी चुरियाखोला, खाडो माहुली, रातो हर्दि, लाल बकैया लगायत साना नदी तथा जलाधारका धेरै स्थानहरूमा समान्य भन्दा धेरै वर्ष भईरहेकाले तटीय क्षेत्रमा सर्तकर्ता अपनाउन आग्रह गरेको छ ।

ललितपुरमा पहिरोमा परेर बालकको मृत्यु

निरन्तरको वर्षाका कारण ललितपुरको वाग्मती गाउँपालिका–२ माल्टामा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु भएको छ । पञ्चलाल जिम्माका घर पहिरोमा पुरिँदा घरभित्र रहेका दुई छोरामध्ये ११ वर्षीय सरोज जिम्माको मृत्यु भएको वाग्मती गाउँपालिकाले जनाएको छ ।

घर पुरिनासाथ स्थानीयवासीले तत्काल उद्धार गर्दा एक जना सकुशल भेटिएको र एक जनाको मृत्यु भइसकेको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनलाई उद्धृत गर्दै महानगरीय प्रहरी वृत चापागाउँका प्रमुख रामकृष्ण सापकोटाले बताउनुभयो ।

कान्ती लोकपथमा पर्ने खानीखोला बढ्दा अहिलेसम्म घटनास्थलमा प्रहरी पुग्न नसकेको उहाँले बताउनुभयो । प्रहरी चौकी छपेली र प्रहरी चौकी आश्राङ गरेर दुवैतर्फका प्रहरी घटनास्थलमा पुग्न सकेका छैनन् । उहाँले भन्नुभयो, “त्यहाँको अवस्थाका बारेमा हामी गाउँपालिकासँग नियमित सम्पर्कमा छौँ ।” दक्षिणी भेगका कतिपय स्थानमा खोला बढेर र सडक अवरुद्ध हुँदा घटना हुँदा हेलिकप्टरबाट मात्रै उद्धार गर्न सकिने अवस्था रहेको वृत्तले जनाएको छ ।

पर्खाल भत्किँदा तीनको मृत्यु

काठमाडौँको मूलपानी बाबाचोकस्थित स्वास्थ्यचौकी भवन नजिकै पर्खाल भत्किँदा एकै परिवारका दुई जना र अर्को एक जनाको मृत्यु भएको छ । बारा देवताल गाउँपालिका–५ स्थायी घरभई कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने ३५ वर्षीया शर्मीला यादवलाई उद्धार गरी अस्पताल पु¥याएपछि नेपाल मेडिकल कलेज अत्तरखेलले मृत घोषणा गरेको छ ।

उहाँका १० वर्षीय छोरा र सोही ठेगाना भएकी ३० वर्षीय नितु यादवको उद्धार गर्दै गर्दा मृत्यु भइसकेको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर टहरामा बस्दै आएका यादव परिवारलाई पुरेको हो ।

उर्लियो हनुमन्ते

अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ । हिजोदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो ।

हनुमन्तेमा बाढी उर्लिएपछि जिल्ला प्रशासन कार्यालयले हनुमन्ते नदी आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ भने नदी किनारामा बसेका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायण भट्टले हनुमन्तेमा बाढी बढेकाले नदी आसपासका बासिन्दालई उच्च सतर्कतामा रहन आग्रह गरेको बताउनुभयो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रजिअ भट्टका साथै नेपाली सेना, प्रहरीसहितको टोलीले डुबानको जोखिममा रहेको क्षेत्र अनुगमन गरेको छ ।

उहाँले भन्नुभयो, “हनुमन्ते नदी किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरेका छाँै, बाढी बस्तीमा पसेमा तत्काल उद्धार गर्न नेपाली सेना, प्रहरीलगायतको विपद् व्यवस्थापनका टोली समेतलाई तयारीमा राखेका छौँ, नेपाली सेनाका टोली जोखिम रहेको ठाउँमा परिचालन भएका छन् ।”

नदी थुनिएको ठाउँहरुमा नेपाली सेनाको टोलीले खोला खोल्ने काम गरिरहेका छ । बाढी भक्तपुर नगरपालिकाको सूर्यविनायक राम मन्दिर, बाराहीस्थान, मध्यपुरथिमिको राधेराधे, शङ्खधर चोक, सूर्यविनायक नगरपालिकाको बालकोट, चारदोबाटोलगायत क्षेत्रबाट बाढी बस्तीमा पस्न थालिसकेका छन् । शङ्खधर चोकबाट दधिकोट जाने पुल भासिएको छ । मध्यपुरथिमि नगरपालिकाका बिस्कुट कारखाना, तरकारी बजारलगायत क्षेत्र डुबानमा परेका छन् ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित अन्य स्वयंसेवकको टोली जिल्लामा आइपर्ने विपद् न्यूनीकरणका लागि उच्च सतर्कतामा रहेका छन् । प्रतिनिधिसभा सदस्य महेश बस्नेतको पहलमा यस वर्ष रु २० लाख विपद् व्यवस्थापन एवं उद्धार सामग्रीहरु खरीद गरेर उद्धारको तयारीमा राखिएको छ ।

गत वर्ष असार २८ गते परेको भीषण वर्षाका कारण आएको बाढीले भक्तपुर नगरपालिकाको जगातीदेखि सल्लाघारीसम्म, मध्यपुरथिमि नगरपालिकाको राधेराधे क्षेत्र कमरोटार क्षेत्र, मध्यपुर अस्पताल, शङ्खधर चोक, अरनिको राजमार्ग, सागबारी, सूर्यविनायक नगरपालिकाका कटुञ्जे, बालकोटलगायत क्षेत्रमा हनुमन्तेको बाढी पस्दा सयौँ घर डुबानमा पर्नाका साथै करोडौँको धनमाल क्षति भएको थियो ।

यस वर्ष हनुमन्ते करिडोर निर्माण शुरु भएसँगै हनुमन्तेको बाढी बस्तीमा नपस्ने आशामा बसेका यहाँका बासिन्दामा भूमाफियाको चलखेलमा हनुमन्ते करिडोर निर्माण रोकिएकाले थप समस्या बल्झिएको हो ।

सांसद बस्नेतले बाढीको जोखिममा रहेका क्षेत्रको अनुगमन गर्दै हनुमन्ते करिडोर निर्माण रोकिँदा थप समस्या आएको बताउनुभयो । उहाँले उक्त करिडोर निर्माण रोकिएकै क्षेत्रमा पानीको बहाब फर्किएर गएको पाइएको बताउँदै जोखिम न्यूनीकरण गर्न आवश्यक पहल भइरहेको बताउनुभयो ।

विसं २०७५ मङ्सिरदेखि उक्त करिडोरको निर्माण कार्य शुरु भई असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेकामा असार लागेलगत्तै भूमाफियाको चलखेलमा रोकिएको छ । मध्यपुर थिमि नपा–३ र सूर्यविनायक नपा–३ मा पर्ने चारदोबाटो क्षेत्रमा निर्माण कार्य पुगेपछि २०२१ सालको नापी नक्साअनुसार खोला बग्न दिन हुन्न भन्दै भूमाफियाले अवरोध पु¥याएपछि करिडोर निर्माण रोकिएको बालकोटका रामशरण श्रेष्ठले बताउनुभयो ।

आज आएको बाढी करिडोर निर्माण रोकिएकै ठाउँबाट फर्किएर बस्तीमा पस्न थालेको बताउँदै यसबाट हुने क्षतिको जिम्मेवारी रोक्ने व्यक्तिहरुले लिनुपर्ने बताउनुभयो । मध्यपुरथिमि नगरपालिका क्षेत्रमा ब्लक कारखानाले पर्खाल लगाएर दुई दशकदेखि कब्जा गर्दै आएको करोडौँको मूल्य पर्ने सात रोपनी सार्वजनिक जग्गा झिक्न पर्खाल भत्काएपछि भूमाफियाको चलखेलमा हनुमन्ते करिडोरको काम रोकिएको स्थानीयवासीको गुनासो छ ।

जग्गाधनीको सहमतिअनुसार सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकाले संयुक्त रुपमा तयार पारेको नक्साका आधारमा दीर्घकालीन रुपमा समस्या समाधान गर्नेगरी नदीको बहावलाई व्यवस्थित गर्दै जग्गाको विवाद ल्याण्डपुलिङको माध्यमबाट समाधान गर्ने, अतिक्रमण भएका सार्वजनिक जग्गाहरु फिर्ता गरी व्यवस्थित गरिने सहमतिअनुसार करिडोर निर्माण गरिएकामा एक महीनादेखि रोकिएको छ ।

यातायात अवरुद्ध

निरन्तरको वर्षाका कारण जिल्लाका तीन गाउँपालिकाको जनजीवन प्रभावित बनेको छ । कोञ्ज्योसोम, वाग्मती र महाँकाल गरेर तीन गाउँपालिकामा यातायात पूर्णरुपले अवरुद्ध बनेको वृत्तले जनाएको छ । गएरातिदेखि ठाउँठाउँमा सडक माथिबाट पहिरो जाँदा यातायातका कुनै पनि साधन चल्न नसकेको प्रमुख सापकोटाले बताउनुभयो ।

पहिरो जाँदा तत्काल हटाउनका लागि स्काभेटर तयारी अवस्थामा राखेको भए पनि निरन्तर वर्षाका कारण अहिले काम हुन नसकेको उहाँको भनाइ छ । कान्ती लोकपथ, लेले–गोटीखेल, लेले सङ्खुलगायतका सडक अवरुद्ध छन् । उहाँले भन्नुभयो, “स्थानीय सडक यति नै ठाउँमा अवरुद्ध छन् भन्ने यकिन छैन, हामीले सङ्कलन गरिरहेका छौँ ।”

घर, गोठ र गाईबस्तु बगायो

वर्षाका कारण यहाँका झण्डै चार वटा घर र गोठ बगाएको वृत्तले जनाएको छ । विभिन्न स्थानमा गाईबस्तु मरेको विवरण प्राप्त भएको छ । धेरै घरमा भित्रै पानी पसेर र पानीले लड्न सक्ने भन्दै स्थानीयवासी घरमा बस्न छाडेका बताइएको छ ।

वर्षा अझै दुई दिन जारी रहने, सजग रहन आग्रह

मौसम तथा जलवायु विज्ञान विभागले विहीबारबाट जारी वर्षा अझै आइतबारसम्म जारी रहने बताएको छ ।

सो विभागद्वारा शुक्रबार जरी विज्ञप्तिमा विहीबारबाट नेपालको मध्य तथा तराइ क्षेत्रमा न्यून चापीय प्रणाली समेत विकसित भई मनसुन थप सक्रिय भएको र त्यसबाट पूर्वी नेपालको पहाडी भूभाग तथा तराइ क्षेत्रहरूमा अविरल वर्षा भई रहेको जनाएको छ ।

साथै मौसमको यो विषम अबस्था अझै दुई दिनसम्म जारी रहने संभावना भएकाले जनमानस तथा सबै निकाएले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter