लोप हुने हो कि मितेरी साइनो !

यलु जोशी / काठमाडौँ, साउन १९ गते । ललितपुर लुभूका सजना श्रेष्ठ आफू सात वर्षको हुँदा हजुरआमाले मित लगाइदिएको सम्झनुहुन्छ । उहाँ भन्नुहुन्छ, “धेरै सम्झना त छैन तर मितिनीसँग खेल्न र हाँस्न पाउँदा निकै रमाइलो लाग्थ्यो । ”

उहाँको मितिनीको नाम प्रमिला थापा हो । श्रेष्ठले थप्नुभयो, “हाम्रो घरमा दूध पु¥याउन आउने आमाको पनि एक जना छोरी र म पनि एक्ली छोरी भएका कारण आमाले मित लगाइदिएको भन्नुहुन्थ्यो । ” उहाँले दशैँ, तिहारमा मितिनीको घर जाने, रमाइलो गर्ने गरेको स्मरण गर्नुभयो । पछि मितभाइ जन्मेपछि मेरो भाइ नभएकाले उनैलाई भाइटीका लगाउँदा अझै रमाइलो हुन थाल्यो । मेरो बिहे भयो, पछि मितिनीको पनि बिहे भयो, त्यसपछि भने भेटघाट हुन छाड्यो, श्रेष्ठ पुराना दिन स्मरण गर्नुहुन्छ ।

संस्कृतविद् डा. सत्यमोहन जोशी भन्नुहुन्छ, “मितेरी साइनो भनेको एक प्रकारको ऊर्जावान साइनो हो । मेरा पनि मित हुनुहुन्थ्यो, निधन भइसक्यो । मित साइनोले दुई फरक भूगोल, परिवेश, पृष्ठभूमि, संस्कृति, समाज, परिवार र व्यक्तिलाई जोड्छ ।” जोशीले भन्नुभयो, “सोलुखुम्बुको शेर्पा र

सर्लाहीका यादवलाई एउटै थालमा खाने घनिष्ठ मित्र बनाइदिन्छ भने झापाको क्षेत्री र पाँचथरका लिम्बूलाई मित्र बनाइदिन्छ । ”

तर, अहिले मितेरी साइनो ‘दुर्लभ’ भइसक्यो । जोशी भन्नुहुन्छ, “प्रेम प्रकट गर्ने सबैभन्दा महìवपूर्ण माध्यम मित्रता हो । असल मित्रको सङ्गत अनि हितैषी मित्रको साथ पाउनु संसारको सबैभन्दा
दुर्लभ कुरा पनि हो । ”

मित्रसँग बस्दा एक प्रकारको निर्धक्क महसुस हुन्छ । संस्कृतिविद् जोशीले थप्नुभयो, “केही लुकाउनु नपर्ने र हृदय खोलेर ढुक्कसँग आफूलाई अभिव्यक्त गर्न सकिने हुनाले मित्रहरूसँगको बसउठले जीवनमा ऊर्जा भर्ने तथा बहार ल्याउने काम गर्छ । ”

मानसिक रोग विशेषज्ञ रवि शाक्य भन्नुहुन्छ, “मित्रतापूर्ण व्यवहारले मानसिक सन्तुलन गुमाएकाहरूलाई समेत ठीक बनाउन सहयोग मिल्छ । घरपरिवारको माया नपाउँदा र एक्लो हुँदा धेरै पीर परेर हुने खालका मानसिक समस्या मित लगाउने वा मिल्ने साथी पाएपछि कम हुन्छन् । ”

मित साइनोलाई धेरै महìवपूर्ण रूपमा हेर्नुहुन्छ, ७३ वर्षीय लालबहादुर कार्की । उहाँले आफूले मितज्यूबाट धेरै मद्दत पाएको र उहाँसँगको सङ्गतमा धेरै रमाइलो गरेको अनुभव सुनाउनुभयो । कार्की भन्नुहुन्छ, “२० वर्षको उमेरमा मधेसीमूलका युवकसँग मित लगाएको थिएँ, तराई जाँदा नराम्ररी बिरामी परेकाले मितज्यूले नै मद्दत गरी घरमा आश्रय दिएर मेरो उपकार गरिदिनुभएको थियो । ”

मित लगाउनु भनेको मित्रतालाई बलियो एवं दिगो बनाउने प्रयास हो । अनुहारको रूपरङ्ग, जातधर्म, वेशभूषा, उमेर आदिजस्ता कुनै पनि कुरा मित गाँस्ने सन्दर्भमा बाधा बन्दैनन् । “मित मन र भावनाको सम्बन्ध हो, सामाजिक व्यवहारको सम्बन्ध हो, जीवन अगाडि बढाउने क्रममा सुखदुःखलाई साझा भोगाइमा ल्याएर जीवनको मिठास बाँड्ने सम्बन्ध हो,” उहाँले भन्नुभयो । विज्ञान विषयमा प्रमाणपत्र तह अध्ययनरत अन्जना अधिकारीलाई ‘मित साइनो’ भनेको के हो थाहै छैन । उहाँले भन्नुभयो, “गीत त सुनेको थिएँ तर मित भनेको के हो थाहा छैन । ”

पौराणिक ग्रन्थहरूमा मित्रताका निकै राम्रा उदाहरण पाइन्छ । तीमध्ये पनि राम र सुग्रीवको मित्रता, कर्ण र दुर्योधन, कृष्ण र सुदामा, मित्र र वरुण दुई दाजुभाइको मित्रता आदर्श मित्रता मानिन्छ ।

मित लगाउने नेपाली चलन

प्राध्यापक गोविन्द मिश्र भन्नुहुन्छ, “मित लगाउने कामले भावनात्मक सम्बन्ध कसिलो बनाउँछ, सुखदुःखमा मेरा पनि कोही छन् है भन्ने भाव जगाउँछ । अनि नेपाली समाजमा मरेपछि पनि अन्त कतै बास नपाए मितको घरमा बास पाइने
मान्यता छ । ”

मित वा मितिनीका पति तथा पत्नीलाई पनि मित र मितिनी नै भनेर सम्बोधन गरिन्छ । त्यस्तै मितदाइ, मितभाइ, मितिनीदिदी वा बहिनी, मितबा, मितिनीआमा जस्ता साइनो पनि नेपालीबीच प्रिय छन् । यस्ता साइनो नेपाली समाजको जरासम्म भिजेको पाइन्छ ।
संस्कृतिविद् जोशीले नेपाली संस्कृतिले मितेरी सम्बन्धलाई ठूलो मानेको कुरा स्वस्थानी व्रत कथाबाट थाहा पाउन सकिने बताउनुभयो । त्यसमा व्रतालुले स्वस्थानीको प्रसाद सकेसम्म छोरा नभए मितछोरालाई दिनू भनेर मितेरी सम्बन्धको महìव उजागर गरेको छ ।

इतिहासमा मितेरी साइनो

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा मितेरी सम्बन्धलाई कूटनीतिक रूपमा प्रयोग गरेका थिए । शाहले भक्तपुरका राजा रणजित मल्लका छोरा वीरनरसिंह मल्लसँग मितेरी साइनो गाँसेका थिए । गोरखाका राजा राम शाहले ललितपुरका राजा सिद्धिनरसिंह मल्लसँग, गोरखाका राजा पृथ्वीपति शाहले काठमाडौँका राजा नृपेन्द्र मल्लसँग र नरभूपाल शाहले रणजित मल्लसँग मित लगाएका थिए ।

“नेपालीको आस्था, विश्वास, मूल्य, मान्यता र संस्कृतिको कमजोरीलाई बुझेका अङ्ग्रेज प्रशासक मेजर जनरल अक्तर लोनीले आफ्ना छोरा लुनीअक्तरसँग बडाकाजी अमरसिंह थापाका छोरा राम थापाको मितेरी साइनो लगाइदिएका थिए । परिणामस्वरूप नेपालीले कुमाउ र गढवालबाट हात धुनु परेको थियो । (इन्दिरा जोशी, नेपाल अङ्ग्रेज युद्ध, पृष्ठ १०३) । ”

कसरी बन्छ त मित ?

मितेरी साइनो गाँस्ने क्रममा कुनै मन्दिरमा गई वा उपयुक्त स्थानमा मण्डप वा वेदी नै तयार गरी गणेश, दीप र कलश स्थापना गरी हवन गराई अष्टचिरञ्जीवी र नवग्रहहरूको पूजा गरी–गराई मितेरी साइनो सम्बन्ध गाँस्ने परम्परा रहेको पाइन्छ ।

सजना श्रेष्ठ सम्झनुुहुन्छ, “मलाई मित लगाइदिँदा एउटा कोठामा लगियो, पर्दाले एकअर्कोको मुख नदेख्ने गरी छोपेर टीका लगाइदिनुभयो । पर्दा हटाएपछि दुवैलाई अँगालो मार्न लगाइयो, उपहार साटासाट भयो र मितिनी–मितिनी भइयो ।

धार्मिक मान्यतामा मित साइनो

नेवारहरूमा ईही संस्कारको सप्तपानको पातमा हिँडाउने विधि सकेपछि मित लगाउने विधि गरिन्छ । सात पाइलासँगै हिँडेपछि मित्रको छनोट गर्नु भनिएको हो । यस संस्कारमा आफ्ना बच्चीहरूको मन मिल्ने साथीसँग मित लगाई मितको महìवलाई स्वीकारेको हुन्छ । यो विधिमा पुरोहितले नै विधिपूर्वक एकआपसमा उपहारको आदानप्रदान गराई ईश्वर साक्षी राखी मितेरी साइनो लगाइन्छ (मञ्जरी प्रधान, नेवार समाज र इही, पृ.सं. ४४) ।

स्वयम्भू अवस्थित हारती मातासँग पनि आफ्ना बच्चाहरूको मित लगाउने प्रचलन छ । हारती मातासँग मित लगाउँदा आफ्ना बच्चाहरू निरोगी हुन्छन् भन्ने जनविश्वास छ । मित लगाइसकेपछि यस सम्बन्धले पारिवारिक सदस्यको मान्यता
प्राप्त गर्छ ।

सामाजिक मूल्यमा मित
मितेरी साइनोको आयामभित्र धार्मिक र सांस्कृतिक चिन्तनका साथसाथै सामाजिक मूल्य र मान्यता रहेको पाइन्छ । पहिले–पहिले अहिलेजस्तो बाटोघाटो र यातायातको सुविधा थिएन । त्यस अवस्थामा धेरै दिनसम्म लामो पैदलयात्रा गर्नुपर्ने हुन्थ्यो । खानपानको समस्याका साथसाथै बीच बाटोमा बास बस्नुपर्ने हुन्थ्यो तर यसरी विभिन्न ठाउँका मित्रहरूसँग साइनो गाँसिसकेपछि त्यही साइनोका आधारबाट आफ्नो मितज्यूकहाँ खानपान गर्ने र बास बस्ने यात्राको तालिका बन्थ्यो ।

दुई जातबीचको सम्बन्ध

अझ भिन्न जातजाति र संस्कृतिबीच मितेरी लगाउने प्रचलनले धार्मिक र सांस्कृतिक चेतना आदानप्रदानमा सकारात्मक भूमिका निर्वाह गरेको पाइन्छ । हिमालवासीले तराईवासीसँग र तराईवासीले

पहाडवासीसँग मित लगाई राष्ट्रिय एकता बलियो बनाउन मितेरी संस्कृतिले प्रभावकारी भूमिका निर्वाह गर्नसक्छ ।

मित फिर्ता गर्ने

मितको कुरा काट्न नहुने र मितको नाम लिन नहुने भन्ने मान्यता हाम्रो समाजमा अहिले पनि विद्यमान नै छन् । कुनै कारणवश झगडा अथवा कुरा नमिलेको खण्डमा जसरी मित लगाएको थियो, त्यसरी नै मित फर्काउने चलन पनि रहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter