दृष्टि गुम्यो ! हिम्मत गुमाएनन् दुर्गादत्तले पसल चलाएर ४ छोराछोरी पढाउँदै
गोकर्ण दयाल / बैतडी, साउन १९ गते । दुर्गादत्त ओझा पूर्ण रुपमा आँखा देख्नुहुन्न । परिवार पाल्न उहाँले किराना पसल सञ्चालन गर्नुभएको छ । ग्राहकले मागेको सामान दिएर छामेरै पैंसा लेनदेन गर्नुहुन्छ उहाँ । सुन्दा अचम्म लाग्छ तर, ओझाको २० वर्षदेखिको दैनिककी हो यो ।
मेलौली नगरपालिका वडा नं. ७ दबानी गाउँका दुर्गादत्त ओझाको ६ जनाको परिवार यही किराना पसलले धानेको छ । नेपाली रुपियाँ चिन्न उहाँलाई कुनै कठिनाई हुँदैन तर, ग्राहकले कहिले काही भारतीय रुपियाँ ल्याउँदा समस्या हुने गरको ओझाले बताउनुभयो ।
भारतीय रुपियाँ चिन्ने उहाँले आफ्नै सूत्र बनाउनु भएको छ । कसले कति रुपियाँको दियो भन्ने कुरा चेक गर्न उहाँले भारतीय रुपियाँका विभिन्न अंकका रुपियाँ राख्नु भएको छ । ग्राहकले दिएका भारतीय रुपियाँ ती नोटसँग छामेर लम्बाई र चौडाई नापेर रुपियाँ पत्ता लगाउने गरेको बताउनुभयो ।
समाचार संकलन गर्न ओझाको घर पुग्दा किराना पसलसमा ढक तराजुमा चिउरा तौलेर बेच्दै हुनुहुन्थ्यो । दैनिक उपभोग्य वस्तु किन्न दबानी गाउँका स्थानीय, स्कुल जाने केटाकेटी र बटुवाहरु ओझाका ग्राहक हुन् ।
किराना पसलसँगै जोडिएको चौतारीमा बटुवाहरु थकाई मार्न एकछिन सुस्ताउँछन् । किराना सलमा चिया पकाउने कामसमेत गर्नुहुन्छ दुर्गादत्त ओझा । छोराछोरी पढाउने खर्च र साँझ बिहानको चुल्हो बाल्न यही पसको आम्दानीले धानेको ओझाले बताउनुभयो ।
ओझाका दुई छोरी कक्षा १२ मा र एक छोरा, एक छोरी कक्षा १० मा मेलौली स्थित मणिलेक माध्यमिक बिद्यालयमा अध्ययनरत छन् । ती मध्ये जेठी छोरी द्रोपतिको आँखाको दृष्टि कमजोर छ । घरको काम श्रीमतिले गर्नु भएको छ । दैनिक घर खर्च चलाउन आफुले किराना पसल सञ्चालन गरेको ओझाले बताउनुभयो ।
ओझाले भन्नुभयो, “२२ वर्षअघि अचानक मेरो दृष्टि गुम्यो । सानो छँदै १५ वर्षको उमेरबाट मेरो दृष्टि कमजोर हुन थालेको हो । धेरैठाउँमा उपचार गर्न गए । बैतडीबाट गेटा आँखा अस्पतालहुँदै तिलगंगादेखि भारतसम्म पुगे पनि डाक्टरले पूर्णरुपमा दृष्टि गुमिसकेको बताएपछि निराश भएर घर फर्कनुभयो । घरमा स–साना केटाकेटी थिए । श्रीमति रुन थालिन । मेरो संसार नै अँध्यारो भईसकेको थिया तर, मैले हिम्मत हारिन । ऋण निकालेर गाउँमै किराना पसल सञ्चालन गरे । केटाकेटी हुर्काए । ”
अपाङ्ग परिचयपत्र बनेपछि सरकारले मासिक एक हजार भत्ता दिने गरेको ओझा बताउनुहुन्छ । छोराछोरी हुर्केर गाउँकै सामुदायिक विद्यालयमा पढ्ने गरे पनि छात्रवृत्तिको व्यवस्था भईदिए सजिलो हुने ओझा बताउनुहुन्छ ।
प्राविधिक शिक्षा पढ्ने धोको भए पनि घरको आर्थिक समस्याका कारण कक्षा १२ मा सामान्य विषय पढ्दै गरेको छोरी लक्ष्मी ओझाले पीडा सुनाउनुभयो ।
जेठी छोरी द्रोपति ओझाको पनि आफ्नै जस्तै दृष्टि कमजोर हुँदै जान थालेकोले कतै आफ्नो जस्तै समस्या त हुने होईन भन्दै निकै डर लागिरहेको दुर्गादत्त ओझाले बताउनुभयो ।
डाक्टरले समय समयमा जेठी छोरीको आँखा चेकजाँच गर्न सुझाव दिए पनि अस्पताल जान खर्चको र सहयोगी नहुँदा समस्या भईरहेको दुर्गादत्तले पीडा सुनाउनुभयो ।