दूधको मूल्य प्रतिलिटर ६ रुपियाँ बृद्धि
काठमाडौं, भदौ १८ गते । दूधको मूल्य आगामी शनिबारदेखि बढ्ने भएको छ । नेपाल दुग्ध विकास संस्थानका अनुसार शनिबारदेखि दुधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढ्ने भएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार दुधको मूल्य लिटर ६ रुपैयाँ बढाउन दुग्ध विकास संस्थानलाई पत्राचार गरेपछि शनिबारबाट लागु हुनेगरी दुधको मूल्य बढाउन लागिएको हो ।
संस्थानका अनुसार शनिबारदेखि उपभोक्ताले हाल तिर्दै आएको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले बढी अर्थात प्रतिलिटर ७६ रुपैयाँ तिर्नुपर्ने भएको छ ।
दुधको मूल्य बढाउन किसानहरुले आन्दोलन नै गरेपछि कृषि मन्त्रालयले समिति नै गठन गरेर अध्ययन गरेको थियो । समितिले चैतदेखि भदौंसम्म लिटरमा १० रुपैयाँ र भदौंदेखि चैतसम्म लिटरमा ६ रुपैयाँ मूल्य बढाउन सकिने प्रस्ताव गरेको थियो । सोहि अनुसार दुधको मूल्य बढाउन लागिएको हो ।
संस्थानकाअनुसार बढेको मूल्यको ४ रूपैयाँ १६ पैसा किसानले पाउने छन् भने १ रूपैयाँ ८४ पैसा डेरी व्यवसायीले पाउनेछन्।