धरौटीमा छुटेलगत्तै पक्राउ परे व्यापारी अग्रवाल
काठमाडौं, वैशाख १८ गते । व्यापारी सुलभ अग्रवाल धरौटीमा छुटेलगत्तै पक्राउ परेका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको आदेशमा २५ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका अग्रवाललाई प्रहरीले लगत्तै पक्राउ गरेको हो ।
सम्पत्ति शुद्धीकरणमा छानबिनका लागि अग्रवाललाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार जिल्ला अदालतमा मुद्दा दायर गएको थियो । उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार डेढ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवानाको माग गरी मुद्दा दायर गरिएको थियो ।ऐनको दफा (९क), ३ (१) तथा ५ अनुसार सजायको माग दाबी गरिएको थियो । तीनैवटा दफाअनुसार बढीमा एक वर्ष कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । अग्रवाल अवैतानिक वाणिज्यदूत भएकाले थप ५० प्रतिशत सजाय माग दाबी गरिएको थियो ।
‘बुधबारबाट बहस सुरु भएकोमा बिहीबार अदालतले धरौटीमा छोड्ने आदेश दिएको हो,’ स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने ।
करिब पाँच हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बिक्री गरेको अभियोग उनीमाथि छ ।