हाइकिङसँगै दृश्यावलोकनको रोजाइमा हुडिकोट

वासुदेव पौडेल / गण्डकी, असोज १३ गते । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

विश्वमै ख्याति कमाएको नेपालको पर्यटकीयस्थल पोखराको दक्षिणभेगस्थित हुडिकोट पछिल्लो समय हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरिलगायत हिमशृङ््खला तथा सेती नदी, सात तालको बगैँचा भनेर चिनिने लेखनाथ सहितको बृहत् पोखरा महानगर एकसाथ देख्न सकिने रमणीय हुडिकोटमा पछिल्ला वर्षमा आन्तरिक पर्यटक पुग्ने क्रम बढिरहेको छ । समुद्री सतहबाट एक हजार १४० मिटरको उचाइमा रहेको यो स्थलले समग्र भरतपोखरीको गरिमा र महत्व बढाएको यहाँका स्थानीयवासी बताउँछन् ।

बढ्दो पर्यटकीय आकर्षणसँगै पर्यटन लक्षित पूर्वाधार विकासले पनि गति लिएको छ । पछिल्ला समयमा बजार क्षेत्रको व्यस्ततालाई केही समय फुर्सद निकालेर भरतपोखरीको हुडिकोट जस्ता रमणीय स्थल हाइकिङ, दृश्यावलोकनका लागि पर्यटकले रोज्ने गरेको हाइकर्स क्लब नेपालका उपाध्यक्ष कृष्ण रानाभाटले बताउनुभयो । “पोखरा र यस आसपासबाट पछिल्ला समयमा हाइकिङसहित दृश्यावलोकनका लागि हुडिकोट र आसपासका क्षेत्रमा आन्तरिक पर्यटक लोभिने गरेका छन्”, उहाँले भन्नुभयो, “क्लबले विशेषगरी पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका पोखरा आसपासका स्थललाई प्रवद्र्धन गर्दै हाइकिङका माध्यमबाट प्रकृति र संस्कृतिलाई जोड्ने काम गर्दै आएको छ ।”

उच्च पहाडी भू–भागमा रहेको भरतपोखरीको हुडिकोट सूर्योदय र सूर्यास्तको अवलोकनका लागि पनि उपयुक्त गन्तव्य हो । यहाँबाट माछापुच्छ«े, अन्नपूर्ण हिमालदेखि लमजुङ हिमाल सम्मका रमणीय दृश्यलाई एकसाथ नियाँल्न सकिन्छ । यहाँबाट कास्की, तनहँु, लमजुङ, मनाङ, गोरखा, चितवन, नवलपरासी, पाल्पा, पर्वत बागलुङ, म्याग्दी, स्याङ्जा जिल्लालगायत विभिन्न स्थान देखिन्छन् । पछिल्ला वर्षमा पोखराको विरौटा हुँदै पोखरा महानगरका बस र पोखराबाटै पावरहाउस, गगनगौंडा हुँदै मनियल डाँडासम्म स्थानीय मिनी बस गरी दुवैतर्फ सार्वजनिक यातायातसमेत सञ्चालनमा आउँदा पर्यटकलाई ठूलै राहत महसुस भएको छ ।

मनियलडाँडा बसपार्कबाट निजी सवारी साधन हुने हुडिकोटसम्म नै पुग्न सक्छन् भने नहुनेले करीब १५ मिनेट हिँड्नुपर्छ । पछिल्ला वर्षमा पर्यटकहरू आउने क्रम बढेसँगै मनियलडाँडा बसपार्कका साथै हुडिकोटमा नै होटल तथा रेस्टुरेन्ट बन्ने क्रमले पनि गति लिएको छ । पर्यटकको बढ्दो आगमनलाई लक्षित गरी हुडिकोटमा स्थानीय युवा धनबहादुर भुजेलले हुडिकोट भ्यू प्वाइन्ट सेन्टर नामक होटल हालै सञ्चालनमा ल्याउनुभएको छ । दीर्घकालीन लक्ष्यका साथ गत फागुनदेखि सञ्चालनमा ल्याइएको हुडिकोट भ्यू प्वाइन्ट सेन्टरमा हालसम्म रु २५ लाखभन्दा बढी लगानी भइसकेको भुजेलले बताउनुभयो । होटल सञ्चालनमा आएयता पोखराबाट समूह समूहमा आन्तरिक पर्यटक आउने गरेको बताउँदै उहाँले हाल आवासीय रुपमा १० जनासम्म राख्न सकिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

“हुडिकोटमा आउने पर्यटकलाई हिमाली दृश्यसहितको प्राकृतिक सुन्दरतासँगै प्राङ्गारिक उत्पादनका खानाका परिकार खुवाउने सोचका साथ होटेल सञ्चालन थालेका हौँ”, उहाँले भन्नुभयो, “आगामी दशैँबाट होटलसँगै व्यावसायिक गाईपालनसमेत गरी पर्यटकको रोजाइअनुसार दूध, दही एवम् ताजा तरकारी खुवाउने सोच राखेका छौँ ।” स्थानीय जातका कुखुरासमेत पाल्ने र पर्यटकलाई स्थानीय प्राङ्गारिक उत्पादन खुवाउने दीर्घकालीन लक्ष्य रहेको उहाँले बताउनुभयो ।

चौबिसै घण्टा शीतल हावा लागिरहने हुडिकोट पुगेपछि जो कोही त्यहाँको भौगोलिक अवस्थिति एवम् दृश्यावलोकनमा मोहित हुने गरेका छन् । हुडिकोटसम्म पुग्ने हाइकिङका मार्गमा पृथ्वीराजमार्गअन्तर्गत पावरहाउस चोकबाट मुसेटुँडा, तिक्लाङ, भञ्ज्याङ, मालागिरि, चिलाउने, धारापानी, मनियलडाँडा, कोटभैरव हुँदै हुडिकोटसम्मको दूरी नौ किलोमिटर पार गर्नुपर्छ ।

त्यस्तै अर्को मार्गमा पृथ्वीराजमार्ग अन्तर्गतकै आदर्शचोक भण्डारढिकबाट पुल्चोक, बरेलीचोक, चैनपुर, भिरखोरिया, भर्तिपोखरा र ठाडाबारी हुँदै हुडिकोटसम्म पुग्न सकिन्छ । अर्कोतर्फ दक्षिणतर्फ बगेको सुरौदी खोलामा केही ठाउँमा पक्की पुल निर्माण गर्न सके तनहुँको दुलेगौंडाबाट सुरौदी कुर्लिङबराहसम्म पर्यटकलाई यातायातका साधनमा ल्याएर त्यहाँबाट छहरा, लाङ्दी, पावनडाँडा, जामुने, कुलेस्वाहाँरा, कोलडाँडा, सिलिङ्गे, माझथर हुँदै हुडिकोटसम्म अर्को हाइकिङको मार्ग विस्तार गर्न सकिने स्थानीयवासी बताउँछन् ।

बर्सात वा हिउँद जुनसुकै समयमा वरिपरिका क्षेत्रमा हुस्सु, कुहिरो लाग्दा पनि केही प्रभाव नपर्ने यो ठाउँबाट नाङ्गो आँखाले एकसाथ १४ जिल्लाको अवलोकन गर्न सकिने स्थानीयवासी गुरुप्रसाद पौडेलले बताउनुभयो । हुडिकोटबाट नजिकै रहेको मल्लकालीन कोटभैरव मन्दिर पनि यहाँको अर्को धार्मिक पर्यटकीय आकर्षण हो । यो तीर्थस्थलमा कास्कीको साबिकका भरतपोखरी, निर्मलपोखरी, कृस्ती गाविसका साथै स्याङ्जा र तनहँुका विभिन्न स्थानबाट दर्शनार्थी आउने गर्दछन् । भैरवको स्मरण मात्रले पनि विपत्ति नष्ट हुने प्राचीन जनविश्वास यहाँको महत्वपूर्ण पक्ष हो । हाइकिङको मार्गमा नै रहेको हुडिकोट नजिकैको देउराली देवीको मन्दिर यहाँको अर्को महत्वपूर्ण शक्तिपीठ हो । लामो समयसम्म पानी नपर्दा देउराली देवीको मन्दिरमा स्थानीयवासी मिलेर पूजाआजा गरी ‘हरहर महादेव’ भन्दै पानी मागेमा त्यही दिन वा नभए एकदुई दिनभित्रमा पानी पर्ने गरेको स्थानीयवासी बताउँछन् ।

“पोखराबाट एकदिने हाइकिङसहित दृश्यावलोकनका लागि हुडिकोट उपयुक्त गन्तव्य रहेको छ”, हाइकर्स क्लब नेपालका उपाध्यक्ष कृष्ण रानाभाटले भन्नुभयो, “यसको पर्यटकीय प्रवर्धन गर्नु आवश्यक छ ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter