प्रदेश ५ प्रदेश सभामा बैठकमा प्रतिपक्षिद्वारा ताेडफाेड, कुनै निर्णय भएन, भाेलि पुन बैठक बस्ने

बुटवल, असोज १९ गते । प्रदेश ५ सरकारले प्रदेश सभामा प्रस्तुत गरेको प्रदेशको राजधानी र नामको प्रस्ताव उपर सोमबार प्रदेश सभामा औपचारिक रुपमा छलफल सुरु भएको छ ।

छलफल सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सदन अवरोध गर्दै कुर्सी तोडफोड गरेका छन ।

सभामुख पूर्णवहादुर घर्तीले वैठक अघि बढाएपछि कांग्रेसका सांसदहरुले दुवै बैठकको सुरुदेखि अन्त्यसम्म नै नाराबाजी गरेका थिए । त्यसक्रममा सांसदहरुले रोष्टम अघि नाराबाजी गर्दै बैठक कक्षका कुर्सी तोडफोड गरेका थिए ।

आक्रोशित बिपक्षीहरुले सभामुखमाथि समेत प्रहारको प्रयास गरेका थिए । सभामुख पूर्णबहादुर घर्तीले प्रहारबाट आफूलाई भौतिक क्षति भने नभएको बताउनुभयो ।

प्रदेश सभाको मंगलवारको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाका सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने र मंगलवार नै प्रदेशको राजधानी र नामका विषयमा सरकारको प्रस्तावमाथि मतदान गर्ने कार्यसूचि रहेको सत्तारुढ नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले बताउनु भयो ।

यता सोमवार प्रदेश ५ प्रदेश सभाको ३० औं बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजी र अवरोधका वीच सम्पन्न भएको छ ।

बैठक सुरु हुनासाथ नेपाली कांग्रेस र जनता समाजबादी पार्टीका सांसदहरुले विरोध जनाएपछि सभामुख पूर्णवहादुर घर्तीले कांग्रेसका प्रदेश संसदीय दलका नेता बीरेन्द्रकुमार कनौडियालाई बोल्न समय दिनुभयो ।

कांग्रेस नेता कनौडियाले सरकारले एकलौटी ढंगले प्रदेश राजधानी सार्ने प्रस्ताव प्रदेश सभामा प्रस्तुत गरेकोमा विरोध जनाउँदै प्रदेश सरकारको उक्त प्रस्तावको विरोध गर्नुभयो ।

उहाँले प्रदेश राजधानी बुटवलबाट अन्यत्र सार्नुपर्ने बाध्यता किन आयो भन्ने प्रश्न गर्दै त्यसको स्पष्ट जवाफ दिन प्रदेश सरकारलाई चुनौति दिनुभयो । कनौडियाले सम्बाद र सहमतिको विकल्प हुँदाहुँदै एकलौटीरुपमा प्रदेश सरकारले ल्याएको प्रस्तावले लोकतन्त्रको उपहास गरेको आरोप लगाउनु भयो ।

कनौडियाले बोलेर सकेपछि सभामुखले प्रदेश सरकारको प्रस्ताव छलफलका लागि अघि बढाउँदा नाराबाजी भएपछि पहिलो सत्रको वैठक केही समय स्थगित गर्नुभयो ।

करिव एक घण्टापछि सुरु भएको सदनको प्रकृया प्रारम्भसंगै कांग्रेसका सांसदहरुले नाराबाजीसंगै कुर्सी तोडफोड गरेर सदनमा अवरोध गरेपनि सभामुख घर्तीले नेकपाका सांसद भोजप्रसाद श्रेष्ठलाई बोल्न समय दिनुभयो ।

सांसद श्रेष्ठले प्रतिपक्षी दलले गरिरहेको विरोधको सम्मान गर्न आग्रह गर्दै संसदीय मूल्य र मान्यता अनुसार सदन चलाउन सभामुखलाई आग्रह गर्नुभयो ।

उहाँले प्रदेश सरकारलाई जनताको अधिकार खोस्ने अधिकार नभएको भन्दै अझैपनि प्रदेशको राजधानीको विषयमा सरकारले पुनर्विचार गरोस भन्नुभयो । नेकपाका अर्का सांसद विष्णु पन्थीले प्रदेश सरकारको लुम्विनी प्रदेश नामकरण गर्ने प्रस्तावप्रति पूर्ण सहमति जनाउँदै राजधानीको विषयमा पुनर्विचार गर्न आग्रह गर्नुभयो ।

उहाँले भूगोल, ऐतिहासिकता र शाक्यमुनिको ऐतिहासिक राजधानी, तीन हजार बर्ष पुरानो शहर भएर पनि अहिले प्रदेशकै सवैभन्दा विकासमा पछि परेकोले कपिलवस्तुलाई प्रदेशको राजधानी वनाउन प्रदेश सरकारसंग माग गर्नुभयो ।

जनता समाजबादी पार्टीका सांसद सहर्षराम यादवले मधेश आन्दोलनको भावनाको सम्मान गर्दै र भूगोलका आधारमा पनि प्रदेशको राजधानी कपिलवस्तु हुनुपर्ने आफूहरुको माग गरेको बताउनु भयो ।

राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले प्रदेश सभा स्थापना गर्दागर्दै आफूहरुले संघीयता नेपालका लागि अफापसिद्ध हुन्छ भन्दा अरु सांसदहरुले हाँसोको विषय वनाएको स्मरण गर्दै बल्ल संघीयता ठिक छैन भन्ने नेपाली जनताले बुझ्दै गएको धारणा राख्नुभयो ।

उहाँले संघीयता नै खारेज गर्ने आफ्नो पार्टीको धारणा रहेको बताउँदै प्रदेशको नामका विषयमा कुनै विमति नरहेको र राजधानीका विषयमा देखिएको विवाद समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भयो ।

जनता समाजबादी पार्टीका अर्का सांसद विजयवहादुर यादवले प्रदेशको नामका विषयमा असहमति जनाउँदै मगरात थरुहट प्रदेश नामाकरण गर्न आग्रह गर्नुभयो ।

उहाँले भूगोलका हिसावले पनि प्रस्तावित प्रदेश राजधानी नमिलेको बताउँदै विगतमा गठन भएको विशेष समितिले दिएको प्रतिवेदन अनुसार गर्न माग गर्नुभयो ।

नेकपाका सांसद दिपेन्द्र पुन मगरले प्रदेश सरकारले ल्याएको राजधानी र नामको प्रस्ताव सवै हिसावले ठीक रहेकोले प्रदेश सभाले छिटोभन्दा छिटो पारित गरोस् भन्नुभयो ।

उहाँले यसअघि प्रदेशको राजधानी र नाम सिफारिस गर्न प्रदेश सभाले गठन गरेको विशेष समितिले पनि राजधानी दाङ र नाम लुम्विनी प्रस्ताव गरेकोले उक्त प्रतिवेदन सार्वजनिक गर्न पनि सभामुखसंग आग्रह गर्नुभयो ।

सोमवारकै बैठकमा प्रदेश सभाका सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको प्रस्तावका पक्षमा मतदान गर्न सवै सांसदहरुसंग आग्रह गर्नुभयो ।

उहाँले संसदीय परम्परामा विरोध स्वाभाविक प्रकृया भएपनि सभामुखमाथि नै प्रहार गर्ने र बैठक कक्षका कुर्सी तोडफोड गरेर कांग्रेसले अलोकतान्त्रिक चरित्र प्रकट गरेको आरोप लगाउनु भयो ।

यसैवीच प्रदेश सभाको छैठौं अधिवेशनको ३१ औं बैठक मंगलवार १२ बजे बोलाइएको छ ।

सभामुख पूर्णबहादुर घर्तीले सोमवार नै सरकारको प्रदेशको राजधानी र नामकरणका विषयमा प्रदेश सभामा प्रस्तुत भएको प्रस्तावमा संशोधन हाल्न १८ घण्टाको समय दिनुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter