‘बाख्रा स्मार्ट गाउँ’ कार्यक्रमले कोहला गाउँको घरघरमा बाख्रापालन

सिराज खान / नेपालगञ्ज, असोज २२ गते । बाँकेको नरैनापुर गाउँपालिकाको वडा नं. ६ कोहोला गाउँमा बाख्रा स्मार्ट गाउँ कार्यक्रम सञ्चालन भएपछि सो गाउँका हरेकजसो घरमा व्यावसायिक बाख्रापालन शुरु गरिएको छ ।

नरैनापुर गाउँपालिकाका अनुसार कोहोला गाउँमा ५० घर परिवारले अहिले व्यवसायिक रुपमै बाख्रा पालिरहेका छन् । पहिले शोखका लागि एक दुईवटा बाख्रा पाल्नेहरूले पनि स्मार्ट गाउँ कार्यक्रमसँग जोडिएपछि खोरभरि बाख्रा पाल्न थालेका छन् । सो वडामा हाल आएर बाख्रापालन फस्टाउँदै गएको छ ।

कोहोला गाउँका स्थानीय किसान जुम्मन शेषका अनुसार कार्यक्रम शुरु भएपछि बाख्रालाई सुरक्षित राख्न गाउँमा नयाँ खोर निर्माण गरिएका छन् । बाख्रालाई चाहिने उन्नत जातको बोका, उन्नत घाँस, आवश्यक पर्ने औषधिलगायतको व्यवस्थापन गरिएको छ । उहाँले बाख्रा पालेर राम्रो आम्दानी हुन भएकोले हरेकजसो घरमा बाख्रा पालिरहेको बताउनुभयो ।

सोही गाउँका अर्का स्थानीय किसान जयराम मौर्यले हरेक मङ्गलबार बाख्रा बिक्रीको लागि गाउँमा बजार लगाउने गरिएको बताउनुभयो । उहाँले सो बजारमा नेपालगञ्ज लगायतका विभिन्न स्थानबाट खसी बाख्रा खरिद गर्न व्यवसायीहरू आउने गरेको जनाउनुभयो ।

कोहोला बाख्रा स्मार्ट गाउँ कार्यक्रमका संयोजक साविर खानका अनुसार कार्यक्रमले गर्दा बाख्रापालन बढ्दै गएपछि कोहोला गाउँका हरेक घरका किसानले अहिले १२ देखि ५० वटासम्म बाख्रा पालेको बताउनुभयो ।

स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत बाँकेको नरैनापुर– ६, कोहोला गाउँमा गत आर्थिक वर्षबाट सो कार्यक्रम शुरु गरिएको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नेपालगञ्जले जनाएको छ । कार्यक्रम बाँकेकै जानकी गाउँपालिका र बर्दियाको गेरुवा तथा ठाकुरबाबामा पनि गत आवबाटै सञ्चालन गरिएको पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नेपालगञ्जका प्रमुख कमला अधिकारीका अनुसार सो गाउँमा अहिले पाँच सय बढी बाख्रापालन गरिएको छ ।

कार्यक्रमका लागि लुम्बिनी प्रदेश सरकारले उन्नत जातको बोका, उन्नत घाँस, आवश्यक पर्ने औषधि तथा बजारलगायतको व्यवस्थापनका लागि ५० लाख रुपियाँ लगानी गरेको छ ।

प्रदेश पाँच सरकारले आर्थिक वर्ष २०७५–०७६ सालबाट कृषिमा आधुनिकरण, उत्पादकत्व वृद्धि र बजारीकरणका लागि शुरु गरेको स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०७६–०७७ बाट बाँके र बर्दियाका चारवटा गाउँलाई छनाैट गरेर बाख्रा स्मार्ट गाउँ कार्यक्रम सञ्चालन गरिएको हो ।

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नेपालगञ्जका प्रमुख अधिकारीले कोहोला बाख्रा स्मार्ट गाउँ कार्यक्रमलाई सफल पार्न जलवायु, प्रविधि, पोषण, सिँचाइ, बजार र अन्तरसम्बन्धित कुरालाई विशेष ध्यान दिइएको बताउनुभयो । बाख्राको मलबाट गाउँमा व्यावसायिक तरकारी खेती गर्ने योजना रहेको उहाँले जनाउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter