गणितमा एमए, शिक्षक, सफल किसान, मासिक कमाइ दुईलाख

केदार तिमल्सिना / काभ्रे, असोज २५ गते । गणित विषयमा स्नातकोत्तर बनेपाका प्रकाश तिमल्सिनाको परिचय केही वर्षअघिसम्म एक शिक्षक र सहकारीकर्मी थियो । तर अहिले उहाँको परिचय फेरिएको छ, सफल कृषक र उद्यमीका रुपमा । त्यस अर्थमा उहाँको दिनचर्या अन्य युवाको भन्दा फरक छ ।

पैँतीस वर्षीय प्रकाशका दिन बिहान ५ बजे उठेदेखि आफूले पालेका भैँसीको स्याहारसुसारमै बित्ने गरेको छ । वि. सं. २०७२ मा बनेपा नगरपालिका–५, घोकेचौरमा उहाँले स्थापना गर्नुभएको भैँसीफार्ममा अहिले २३ वटा भैँसी तथा पाडापाडी छन् ।

वि.सं. २०५७ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरी गणित विषयमा स्नातकोत्तर तह पास गर्नुभएका उहाँले २०६४ सालसम्म शिक्षण र त्यसपछि सहकारीमा काम गर्नुभएको थियो ।

‘अरुको नोकरी गर्दा जीविकोपार्जन मात्रै भयो, साथीभाइ धेरै चिनिए, तर यसले जीवनमा धेरै प्रगति हुने अवस्था देखिएन र आफैँ व्यवसाय गर्नुपर्छ भनेर भैँसीपालनमा लागेँ’ तिमल्सिनाले भन्नुभयो ।

उहाँले पाँच लाख रुपियाँबाट सुरु गरेको भैँसीपालन व्यवसायमा अहिले एक करोड रुपियाँभन्दा बढी लगानी भएको छ । निजी इन्ष्टिच्युटमा अतिरिक्त कक्षा पढाउँदा मासिक ७० हजारसम्म कमाएको र सहकारीमा काम गर्दा पनि राम्रो तलब लिने तिमल्सिना दीर्घकालीन पेशाको रुपमा भैँसीपालनमा लागेको बताउनुहुन्छ । उहाँको फार्ममा आफूसहित बुबा, आमा, दाजु, भाउजू र श्रीमती गरी छ जना दैनिक रुपमा भैँसीको रेखदेख तथा काममा व्यस्त हुनुहुन्छ । कोरोना भाइरसका कारण विद्यालय बन्द भएपछि छोराछोरीसमेतले उहाँहरुको काममा सघाउने गरेका छन् ।

तिमल्सिनाको फार्मबाट औसत दैनिक १५० लिटर दूध उत्पादन हुन्छ । उहाँले दैनिक २० लिटर दूध घरबाटै बिक्री गर्नुहुन्छ भने अरु बनेपाका दुई वटा डेरीमा बिक्री गर्नुहन्छ । आफू्ले उत्पादन गरेको दूध प्रतिलिटर ११० रुपिँयामा बिक्री गर्ने गरेको बताउनुहुन्छ । उहाँले व्यवसाय चलाउनका लागि बनेपामा रहेको प्राइम कमर्सियल बैङ्कबाट ऋण लिएको बताउनुभयो । आगामी दिनमा भैँसीको सङ्ख्या बढाएर ५० वटा बनाउने तिमल्सिनाको योजना छ । तिमल्सिनाले दुध बिक्रीबाट वार्षिक झण्डै ६० लाख रुपियाँ आम्दानी हुने गरेको र खर्च कटाएर वार्षिक ३० देखि ३५ लाख रुपियाँ बचत हुने गरेको बताउनुभयो ।

बचत रकमबाट नै फार्ममा भैँसी थप्ने, बैङ्कको ब्याज तथा किस्ता तिर्ने गरेको उहाँले बताउनुभयो । छोराछोरी पढाउने र परिवार चलाउने खर्च पनि यहीबाट हुने गरेको बताउनुभयो । ‘मैले अहिलेसम्म ब्याज, किस्ता र छोराछोरी पढाउनका लागि अरुसँग पैसा सापटी लिनुपरेको छैन’ उहाँले थप्नुभयो ।

उहाँले भैँसीको पाडापाडी, गोबर मल, तथा फार्मसँगै रहेको जग्गामा उत्पादित तरकारी बिक्रीसमेत गर्दैआउनु भएको छ । गत व्यवसायबाट गरी ७२ लाख रुपियाँ आम्दानी गरेको उहाँले बताउनुभयो । आम्दानीमध्ये झण्डै ५० प्रतिशत खर्च हुने उहाँले बताउनुभयो ।

तिमल्सिनाले व्यवसाय सुरु गरेको दुई वर्षमा अर्थात् २०७४ सालमा भैँसी मरेर ठूलो क्षतिसमेत व्यहोर्नुभएको थियो । उच्च ज्वरोका कारण फार्मका १४ वटा भैँसी मरेका थिए भने झण्डै २० लाख रुपियाँको क्षति पुगेको थियो ।

‘फार्ममा पालिएका भैँसी मरेपछि मलाई आफन्त र छिमेकीले अर्को व्यवसाय गर्न सुझाव दिनुभयो । एकपटक डुबे पनि यही पेशाबाट नै प्रगति गर्छु भनेर फेरि व्यवसाय सुरु गरेँ ।’ तिमल्सिनाले भन्नुभयो । नेपालमा नै काम गर्न सकेको खण्डमा २५÷३० हजार रुपियाँ कमाउनका लागि विदेश जानु नपर्ने उहाँको अनुभव छ ।

उहाँले आगामी दिनमा वार्षिक एक हजार किलो गोबरलाई प्रशोधन गरी कम्पोष्ट मल बनाउनका लागि विभिन्न सङ्घसंस्थासँग कुराकानी भइरहेको बताउनुभयो । फार्ममा एक लाखदेखि दुई लाख २५ हजार रुपिँयासम्मको भैँसी पालिएका छन् । भैँसीका लागि चाहिने आहारा काभ्रे, चितवन, झापालगायत जिल्लाबाट ल्याउने गरेको उहाँले बताउनभयो । दीर्घकालीन सोच राखेर काम गरेको खण्डमा व्यवसाय सफल हुने उहाँको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter