धौवादीको फलाम उच्च गुणस्तरको, सरकारले थाल्यो आवश्यक तयारी

काठमाडौँ, कात्तिक १ गते। सरकारले महत्वका साथ अगाडि बढाएको नवलपरासीको धौवादी फलामखानीमा रहेको धाउको चीनको छेन्दुमा सफलतापूर्वक परीक्षण गरिएको छ । खानीमा रहेको धाउ उच्चगुणस्तरको रहेको पाइएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूले सो मन्त्रालयको कार्यभार सम्हालेपछि प्राप्त गरिएका उपलब्धिको विवरण सार्वजनिक गर्दै फलामखानीको धाउको परीक्षण सफलतापूर्वक गरिएको बताउनुभयो ।

मन्त्रालयले गत पुसमा नै पूर्वी नवलपरासीको धौवादीमा रहेको फलामखानीबाट फलाम निकाल्न धौवादी फलाम कम्पनी लिमिटेड गठन गरिसकेको छ । खानी तथा भूगर्भ विभागको कार्यालयमा नै उक्त कम्पनी छ । चालू आर्थिक वर्षको बजेटमा सो खानी उत्खनन गरी उद्योग स्थापना गर्ने विषय समेटिएको छ ।

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ को धौवादी डाँडामा फलामखानी छ । फलामखानीको विषयमा आवश्यक अध्ययन तथा त्यहाँको धाउ गुणस्तरीय रहेपछि देशको आवश्यकताअनुसार फलाम उत्पादन गर्ने सरकारको तयारी छ । धौवादी फलाम खानीबाट निकाल्न सकिने परिणाम र गुणस्तरका बारेमा मन्त्रालयले चीनको सिचुआन इन्स्टिच्युट अफ मेटालजिकल जिओलजी एन्ड एक्स्प्लोरेसन छेन्दुमा पाँच टन फलाम परीक्षणका लागि पठाएको थियो । मन्त्री भट्टले सार्वजनिक गर्नुभएको आफ्नो १० महिने कार्यकालको उपलब्धिमा फलामखानी तथा परीक्षण सम्पन्न भएको जानकारी दिनुभयो ।

धौवादीमा १० किलोमिटर लामो फलामखानी भेटिएको मन्त्रालयको भनाइ छ । तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशी पनि खानीस्थलको निरीक्षण गरी सडक निर्माणका आवश्यक बजेट उपलब्ध गराउनुभएको थियो । पूर्व पश्चिम महेन्द्र राजमार्गको डण्डा बजारबाट २४ किलोमिटर उत्तरमा फलामखानी छ । परीक्षणको सम्पूर्ण रिपोर्ट आइसकेको जानकारी दिँदै मन्त्री भट्टले सार्वजनिक गर्नुभएको विवरणमा अब थप प्रक्रिया अगाडि बढाइने उल्लेख गर्नुभयो ।

यस्तै मन्त्रालयले पर्वतको फलामखानी र तनहुँको तामाखानीको पनि अध्ययन गरिरहेको छ । यसैगरी दैलेखमा रहेको पेट्रोल खानीको समेत अन्वेषणको प्रारम्भिक कार्य सम्पन्न भएको छ । सो अध्ययनबाट पेट्रोलियम पदार्थको भण्डारको सम्भावना देखिएको छ ।

मन्त्रालयले थप १२ वटा खानी उद्योग सञ्चालनको अनुमति प्रदान गरेको छ । त्यस्ता उद्योगमा सुन, तामा, कोइला, ग्रेनाइट र चुनढुङ्गा छन् । आर्थिक समृद्धिका लागि खानी तथा खानीजन्य उद्योग स्थापनामा जोड दिएको सरकारले देशभित्र रहेका थप खानीको समेत अध्ययन गरिरहेको छ । केही दिनपहिले मन्त्री भट्ट स्वयम्ले नै सुदूरपश्चिम प्रदेशमा रहेका केही खानीको स्थलगत निरीक्षण गर्नुभएको थियो ।

यस्तै विगतमा सञ्चालनमा रहेका तथा पछिल्ला दिनमा विभिन्न कारणले बन्द भएका रुग्ण उद्योगलाई समेत सञ्चालनमा ल्याउने ध्येयका साथ पूर्वसचिव दीपक सुवेदीको संयोजकत्वका कार्यदल गठन गरेर काम अगाडि बढाएको छ । सरकारले रुग्ण वा बन्द भएका उद्योगलाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

हेटौँडा कपडा कारखाना, वीरगञ्ज चिनी उद्योग, कृषि औजार कारखाना, जनकपुर चुरोट उद्योग, गोरखाकाली रबर उद्योगलगायत झण्डै डेढ दर्जनभन्दा बढी उद्योग रुग्ण अवस्थामा छन् । ती उद्योगलाई हालको सम्पत्तिका आधारका सरकारको शेयर रहने र निजीक्षेत्रले थप लगानी गर्ने वा सरकारले नै कुनै उपयुक्त मोडल अपनाएर सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

मन्त्रालयका अनुसार त्यस्ता उद्योगको व्यवस्थापन निजीक्षेत्रलाई दिने गरी तयारी गरिएको तर अन्तिम निर्णय भने पूर्वसचिव सुवेदी संयोजकत्वको कार्यदलले दिने प्रतिवेदनका आधारमा गर्ने तयारी छ । समितिले त्यस्ता रुग्ण उद्योगका बारेमा गर्ने सिफारिसका आधारमा कार्यान्वयन गर्नेछ ।

यस्तै कुनै समय सफल उद्योगका रुपमा रहेको र पछि बन्द भएको गोरखकाली रबर उद्योगका ३५२ जना कर्मचारीलाई अनिवार्य अवकाश दायित्व भुक्तानी गरिएको छ ।

प्राविधिक पक्षको समेत विश्लेषण गरेर उक्त उद्योग सञ्चालनको मोडालिटी तय गरिने मन्त्री भट्टले सार्वजनिक गर्नुभएको विवरणमा उल्लेख छ । यस्तै सरकारले हाल सञ्चालनमा रहेका वा नरहेका सबै सरकारी लगानीका उद्योगको जग्गा तथा अभिलेख दुरुस्त गराएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter