गाउँभर दुहुना भैँसी, मासिक दुई लाख आम्दानी

टिस्टुङ, कात्तिक २० गते। मकवानपुरको थाहा नगरपालिका–१२ स्थित जगडाँडाका किसान भैँसीपालनतर्फ आकर्षित भएका छन् । नगरपालिकाले भैँसी खरिदमा २५ प्रतिशत अनुदान र कृषि विकास कार्यालयले चार प्रतिशत सहुलित व्याजदरमा ऋण उपलब्ध गराएपछि जगडाँडाका २० परिवारले एकैपटक २० वटा दुहुनु भैँसी किनेका छन् । पच्चीस घरधुरी रहेको गाउँमा ज्येष्ठ नागरिकले नेतृत्व गरेका बाहेक सबैले करिब रु डेढ लाख बराबरका दुहुनु भैँसी किनेर व्यावसायिक रुपमा दूध बिक्री गर्न थालेका छन् ।

पहिले भैँसीको दूध खान बजार पुग्नुपर्ने अवस्था रहेकोमा अहिले घरघरै दुहुनु भैँसी भएपछि कृषकलाई दहीमहीको दुःख छैन । गाउँका २० वटा भैँसीबाट दैनिक करिब १०० लिटर दूध बिक्री हुन थालेको स्थानीय सयपत्री कृषि तथा पशुपालन समूहका अध्यक्ष क्षेत्रबहादुर आलेमगरले बताउनुभयो । मगरका अनुसार दूध खरिद गर्न स्थानीय व्यापारी अटोगाडी लिएर घरघरमै पुग्छन् । भैँसीको दूध प्रतिलिटर रु ६० देखि रु ७० सम्म बिक्री हुने गरेको कृषकहरुको भनाइ रहेको छ । दूध विक्रीबाट गाउँमा मासिकरुपमा करिब रु दुई लाख भित्रिने गरेको कृषक कृष्णबहादुर आलेमगरले बताउनुभयो ।

तरकारीखेती, फलफूलखेती, बाख्रापालन, कुखुरापालन, मौरीपालनलगायत जुनसुकै कृषिकर्म अपनाए पनि व्यावसायिक रुपमा गर्ने गरेका जगडाँडाका कृषकको मेहनत देखेर थाहा नगरपालिकाले सो गाउँमा व्यावसायिक भैँसीपालनका लागि रु १० लाख विनियोजन गरेको थियो । कृषकको लगानी र कृषि विकास बैंकको ऋणसहित करिब रु ३० लाखको दुहुनु भैँसी गाउँमा भित्रिएको स्थानीय समाजसेवी एवं कृषक प्रेमबहादुर आलेमगरले बताउनुभयो ।

कृषकले छिमेकी धादिङ जिल्लाको धार्के क्षेत्रबाट आफैँले छानीछानी भैँसी किनेर ल्याएका हुन् । नयाँ व्यवसायको रुपमा कृषक भैँसीपालनतर्फ आकर्षित भएपछि अब उनीहरुलाई व्यावसायिक तालीमको आवश्यकता रहेको थाहा नगरपालिका पशु सेवा शाखाका प्रमुख रुपेशकुमार मिश्रले बताउनुभयो । उहाँले एक÷एक जना गोठालोसहित सबै भैँसीको पशुबीमा गरिएको पनि जानकारी दिनुभयो । भैँसीको पशुबीमा नगरपालिकाले नै गरिदिएको हो ।

नगरपालिका कार्यालयको सहजीकरण र सहयोगमा कृषकको गोठगोठमा दुहुनु भैँसी भित्रिएपछि अहिले स्थानीय कृषकहरुको दिनचर्या फेरिएको छ । उत्पादित दूध सहजरुपमा बिक्री हुन थालेपछि बजारको समस्या नरहेको र भैँसीको स्याहारमै दिन बित्ने गरेको कृषक बताउँछन् ।

चालु आर्थिक वर्षको शुरुमै जगडाँडालाई भैँसीको पकेट क्षेत्र बनाउन सफल भएकोमा अब कृषकलाई भैँसीपालन व्यवसायमा कसरी ‘भ्यालु एड’ गर्न सकिन्छ भनेर सोचिरहेको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताउनुभयो । आगामी वर्ष पशु सेवा शाखार्मात थप तालीम, गोठ सुधार तथा पौष्टिक आहार व्यवस्थापनका कार्यक्रमहरु सचालन गरिने उहाँले बताउनुभयो ।

अहिले दुई फेस लाइनबाट विद्युतीकरण भएको गाउँमा तीन फेस लाइनबाट विद्युत् पु¥याउन सके आगामी दिनमा गाउँमै दूग्ध चिस्यान केन्द्र स्थापना गर्ने तयारी रहेको पशु सेवा शाखाले जनाएको छ । कार्यालयले कृषकलाई भैँसीका लागि दाना तयार पार्न प्रयोग गरिने औजार (च्यापकटर) पनि उपलब्ध गराउने योजना बनाएको छ । प्रजनन्का लागि नगरपालिकाकै सहयोगमा कृत्रिम गर्भाधान गराइने कार्यालयले जनाएको छ ।

दुहुनु भैँसीबाट ५–६ महिना पछि विस्तारै दूध कम हुन थाल्ने र छोड्ने भएकाले बाँकी समयमा आयआर्जनको व्यवस्था गर्न कृषकले भैँसीसँगै बाख्रा पालन व्यवसायलाई पनि अघि बढाउने भएका छन् । कृषकले गठन गरेको सयपत्री कृषि तथा पशुपालन समूहले बुधबार उन्नत बोयर जातको व्याडको बोकासमेत खरिद गरेको छ । “भैँसीको दूध नहुने समयमा खसी–बोका बिक्री गरेर आम्दानी लिने योजना छ”, समूहका अध्यक्ष मगरले भन्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter