कार्यान्वयन गर्न सक्ने कार्यक्रममात्र प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह
काठमाडौं, चैत १९ गते । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रममात्र प्रस्ताव गर्न मन्त्रालयका प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको आज बिहीबार भएको छलफलमा अर्थमन्त्री पौडेलले सो आग्रह गर्नुभयो ।
अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्र प्रस्ताव गर्न अनुरोध गर्दै बहुवर्षीय योजनाहरुमा पनि खर्च गर्न सक्नेजति मात्र बजेट माग्न आग्रह गर्नुभएको उहाँको प्रेस संयोजक भुवन केसीले जानकारी दिनुभयो ।
सिलिङभित्र रहेर बजेट निर्माण गर्नुपर्ने सीमा रहेको चर्चा गर्नुहुँदै अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयन गर्न सक्ने संयन्त्रलाई पनि ध्यान दिन आवश्यक रहेको बताउनुभयो । बजेट राख्दा र कार्यान्वयनमा अन्तर मन्त्रालयबीच समन्वयको आवश्यकता हुने पनि चर्चा गर्नुभयो ।
कोभिड १९ ले पर्यटन क्षेत्रमा पारेको असरलाई बजेट र नीतिमार्फत सम्बोधन गरिने बताउनुहुँदै अर्थमन्त्री पौडेलले प्राथमिकता हेरेर कार्यक्रम प्रस्ताव गर्न आग्रह गर्नुभयो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड १९ बाट पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएकाले त्यसलाई ध्यान दिन आग्रह गर्नुभयो ।
आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले साना कार्यक्रमहरुभन्दा संघीयताको मर्म र भावनाअनुसार ठूला र विशेष कार्यक्रममा जोड दिनुपर्ने सुझाव दिनुभयो । अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा समावेश गर्नुपर्ने कार्यक्रम तथा बजेटबारे मन्त्रालयहरु र सरोकारवाला पक्षसँग छलफल गर्दै सुझाव संकलन गरेको प्रेस संयोजक केसीले जानकारी दिनुभयो ।