व्यायाम र खानपानले बढाउन सकिन्छ अक्सिजन

यलु जोशी . काठमाडौँ, वैशाख २१ गते । कोरोना (कोभिड–१९) सङ्क्रमणको दोस्रो लहरका कारण धेरैमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या बढी देखिएको छ । घरमै विभिन्न व्यायामको माध्यमबाट समेत शरीरमा अक्सिजन मात्रा बढाउन सकिने विज्ञहरूले जनाएका छन् ।

श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा. रक्षा पाण्डे सामान्य व्यायामले श्वासप्रश्वासलाई बढाउन सकिने बताउनुहुन्छ । “कोरोना प्रकोपले हजारौँ सङ्क्रमित होम आइसोलेसनमा छन् । सामान्य व्यायामले धेरैलाई श्वासप्रश्वासमा सहज बनाउन सक्छ”, उहाँको भनाइ छ । डा. पाण्डेका अनुसार घोप्टो परेर सुत्दा श्वासप्रश्वाससम्बन्धी बिरामीलाई केही फाइदा पुग्छ । “यो पुरानो विधि हो । यसो गर्दा फोक्सोमा धेरै परिमाणमा अक्सिजन पुग्छ”, उहाँ थप्नुहुन्छ ।

अस्पतालमा समेत यस्तो विधि प्रयोग गरिएको डा. पाण्डेको भनाइ छ । उहाँले थप्नुभयो, “बिरामीलाई अक्सिजन दिएर मात्र कहिलेकाहीँ पुग्दैन । त्यस्तो बेला हामी उहाँहरूलाई घोप्टो पार्छौं । यसो गर्दा फोक्सो फैलिन पाउँछ र श्वासप्रश्वासमा सजिलो हुन्छ ।”

उहाँका अनुसार फोक्सोको सबभन्दा गह्रौँ भाग हाम्रो पछिल्तिर हुन्छ । त्यसैले उत्तानो पारेर राख्दा बिरामीलाई पर्याप्त अक्सिजन तान्न कठिन हुन्छ भने घोप्टो पार्दा अक्सिजनको प्रवाह बढ्न गई फोक्सोका विभिन्न भाग सक्रिय हुन पाउँछ । यस्तै गिलासको पानीको सहायताले पनि अक्सिजनको मात्रा बढाउन सकिन्छ । डा. पाण्डेका अनुसार यसका लागि सुरुमा गिलासमा पानी राख्नुपर्छ र मुखमा बाहिरको हावा भर्नुपर्छ ।

त्यसपछि गिलासको पानीमा विस्तारै मुखको हावा छोड्ने गर्दा अक्सिजनको मात्रा बढाउन सकिन्छ ।

यता कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अनुसन्धान अधिकृत डा. अमितमान जोशीले वैज्ञानिक रूपमै पुष्टि भइसकेका श्वासप्रश्वास विधि घरमा आइसोलेसनमा बसेका सबैले अपनाउनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “शरीरमा अक्सिजनको मात्रा ९४ भन्दा बढी हुनुपर्छ । यसका लागि अनुलोम विलोम पनि एउटा उपाय हुन्छ । ” अनुलोम विलोममा पलेँटी कसेर मेरुदण्ड सीधा पारेर बसेपछि नाकका दुई प्वालमध्ये एकबाट हावा लिएर दोस्रोबाट छोड्नुपर्ने सुझाव उहाँको छ ।

प्लास्टिक झोलाको माध्यमबाट पनि श्वासप्रश्वासमा सजिलो हुन्छ । उहाँ भन्नुहुन्छ, “प्लास्टिकको झोला फुक्ने र श्वास लिने गर्दा पनि राम्रो हुन्छ । ” कोरोना सङ्क्रमण भएपछि शरीरमा पानीको मात्रा कम हुन नहुने जानकारी दिँदै उहाँले पानीको मात्रा पुगे फोक्सोलाई अक्सिजन लिन सजिलो हुने वैज्ञानिक आधार रहेको बताउनुभयो ।

डा. जोशीका अनुसार झोलिलो खानेकुरा धेरै खाने, टुसा उम्रिएको चनाको झोल बनाएर खाने, ज्वानोको झोल, कुरिलोको झोल, मासुको झोल बनाएर खाँदा राम्रो हुन्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले पनि अक्सिजन आपूर्तिका लागि घोप्टो परेर सुत्न सल्लाह दिएको छ । अमेरिकन थो¥यासिक सोसाइटीले फेब्रुअरीमा चीनको वुहान जिन्यिन्तान अस्पतालमा रहेका १२ जना कोभिड–१९ का बिरामीमा गरेको अध्ययनमा घोप्टो पारिएका बिरामीको तुलनामा नपारिएका बिरामीमा फोक्सोको फैलिने क्षमता कम पाइएको जनाइएको थियो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

Efforts are underway to send US vaccines to Nepal: Ambassador Khatiwada

Govt. to resume Vaccination Campaign from May 16

CAAN asks not to charge high fare in name of Emergency Flight

NRNA to supply Oxygen Concentrators to Nepal

Kami Rita scales Everest 25 times; Tourism Ministry appeals not to disseminate fake information




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter