काठमाडौँका सबै विद्यालय व्यवस्थापन समिति भङ्ग; सामुदायिक विद्यालयको प्रवेश परीक्षामा ‘ओएमआर’ सिट

सूर्यप्रसाद पाण्डे / काठमाडौँ, साउन ६ गते । काठमाडौँ महागरपालिकाले आफूमातहतमा सम्पूर्ण सामुदायिक विद्यालय व्यवस्थापन समिति (विव्यस) भङ्ग गर्ने निर्णय गरेको छ। महानगरपालिकाको गत असार ३० गते सम्पन्न नगर सभाले उक्त प्रस्ताव पारित गरेको हो।

नगर सभाले हालको समिति भङ्ग गरेर सम्बन्धित वडाका अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पारित गरेको छ। नगर सभाले पारित गरेको प्रस्तावप्रति सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकले ठाडो असन्तुष्टि जनाएका छन्।

महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले नगर सभाले पारित गरे पनि उक्त निर्णय हालसम्म प्रमाणीकरण नभएको जानकारी दिनुभयो। नगर सभाले पारित गरेको प्रस्ताव प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणीकरण भएपछि मात्रै राजपत्रमा प्रकाशित हुने व्यवस्था छ।

नगर सभाले पारित गरेको निर्णय सामान्यतया १५ दिनभित्रमा प्रमाणीकरण गर्ने चलन छ तर प्रमाणीकरण भएको भोलिपल्टदेखि नै पुरानो समिति स्वतः भङ्ग हुने छ भने वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्ने छन्।

महानगरपालिकाभित्र ८९ वटा सामुदायिक विद्यालय छन्। महानगरपालिकाभित्र ३२ वटा वडा छन्। नयाँ व्यवस्था अनुसार व्यवस्थापन समिति गठन भएको अवस्थामा एकै वडाध्यक्षले थुप्रै विद्यालयको व्यवस्थापन समिति सम्हाल्नुपर्ने हुन्छ।

नगर सभाले विव्यस भङ्ग गर्ने निर्णय गरेसँगै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा हालका व्यवस्थापन समितिका पदाधिकारीले असन्तुष्टि जनाएका छन्। वर्तमान समिति भङ्ग गरेर वडाध्यक्षको अध्यक्षतामा नयाँ समिति गठन गर्ने व्यवस्थाले विद्यालयमा प्रतिगमन भित्रिन लागेको र यसले आफूहरूलाई समेत समस्यामा पार्ने भन्दै उनीहरूले सङ्गठित रूपमा विरोध गर्ने तयारी गरेका छन्। सोही तयारीस्वरूप सामुदायिक विद्यालयका शिक्षकले हालै मात्र नेपाल शिक्षक महासङ्घको काठमाडौँ महानगर समितिसमेत गठन गरेका छन्।

नेपाल शिक्षक महासङ्घ गठन भएको वर्षौं बितिसक्दा पनि यसअघि महानगर समिति गठन भएको थिएन। महासङ्घको महानगर समितिका अध्यक्ष राजेन्द्र अधिकारीले भन्नुभयो, “सामुदायिक विद्यालयका शिक्षाको स्तर उकास्न महानगरपालिकामा नयाँ मेयर आएपछि गरेका हरेक काम निकै प्रशंसा भएको थियो तर विव्यस भङ्ग गरेर वडाध्यक्षको अध्यक्षतामा नयाँ समिति गठन गर्ने निर्णय विरोध गर्न योग्य छ।” उहाँले नगर सभाको निर्णय राजपत्रमा प्रकाशित भएपछि त्यसको विरोधमा अदालतमा जाने तयारी भएको बताउनुभयो। महानगरपालिकाले केही समयअघि महानगरपालिकाभित्रका विद्यालयमा कुनै पनि राजनीतिक दलसँग सम्बन्धित कुनै पनि कार्यक्रम गर्न नदिने तथा राजनीतिक दलको भ्रातृ सङ्गठनसमेत गठन गर्न नदिने निर्णय गरेको थियो तर अहिले वडाध्यक्षलाई नै व्यवस्थापन समितिको अध्यक्ष बनाउने निर्णय गरेर महानगरपालिका आफैँले विद्यालयभित्र राजनीति प्रवेश गराउन खोजेको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले आरोप लगाएका छन्।

वडाध्यक्षलाई नै विव्यसको अध्यक्ष बनाउने व्यवस्थाले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षबिच राजनीतिक द्वन्द्व हुने र अन्ततः यसले विद्यालय शिक्षाको गुणस्तरमै असर पु¥याउने प्रधानाध्यापकहरूको चिन्ता छ तर शिक्षकहरूबाट चर्को दबाब आएमा नगर सभाको निर्णय रोक्न सक्ने वा संशोधन गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई छ। यसअघि पनि मुलुकका थुप्रै स्थानीय तहले पुरानो व्यवस्थापन समिति भङ्ग गरेर सम्बन्धित वडाका वडाध्यक्षको अध्यक्षतामा नयाँ समिति गठन गरेका थिए।

सामुदायिक विद्यालयको प्रवेश परीक्षामा ‘ओएमआर’ सिट

त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयले कक्षा ११ मा नयाँ भर्नाको लागि सञ्चालन गरेको प्रवेश परीक्षामा अप्टिकल मार्क रिडर (ओएमआर) प्रविधिको प्रयोग गरेको छ ।

परीक्षार्थीको उत्तरपुस्तिका कम्प्युटरबाट परीक्षण गर्ने प्रविधि ओएमआर हो । प्रवेश परीक्षालाई स्तरीय र विश्वसनीय बनाउन उक्त प्रविधिको प्रयोग गरिएको विद्यालयले जनाएको छ । साथै सामुदायिक विद्यालयको प्रवेश परीक्षामा यो प्रविधि प्रयोग गर्ने आफूहरू नै पहिलो हुनसक्ने विद्यालयका सहायक प्रधानाध्यापक केदार दाहालले दाबी गर्नुभयो ।

यसअघि यो प्रविधि लोकसेवा आयोग, चिकित्सा शास्त्र, इन्जिनियरिङ शिक्षा लगायतका विषयमा भर्नाको लागि लिइने प्रवेश परीक्षामा प्रयोग हुँदै आएको छ । ओएमआर प्रविधि प्रयोग गरेपछि परीक्षार्थीको नतिजा कम्प्युटर प्रणालीबाट परीक्षण हुनेछ । साथै नतिजा प्रकाशनको काम पनि सहज हुनेछ ।

यो प्रविधि प्रयोग गरेर प्रवेश परीक्षा सञ्चालन गरेपछि परीक्षा उत्तीर्ण गराइदिन वा भर्ना गरिदिन अनावश्यक दबाब दिने प्रवृत्ति पनि निरुत्साहित हुनेछ । किनकि कम्प्युटर प्रणालीबाट उत्तर पुस्तिका परीक्षण हुने भएपछि परीक्षार्थीको उत्तीर्णाङकमा तलमाथि गर्ने अवस्था रहँदैन ।

उक्त स्कुलले कक्षा ११ मा भर्नाको लागि शुक्रवार प्रवेश परीक्षा सञ्चालन गरेको छ । नयाँ भर्ना हुन चाहनेको चाप अत्यधिक भएपछि तीन सत्र (सिफ्ट) मा प्रवेश परीक्षा सञ्चालन गरेको विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा ११ मा उक्त विद्यालयले सबै विषयमा गरेर कुल एक हजार दुई सय विद्यार्थी भर्ना गर्नेछ ।

जसमध्ये विज्ञान समूहमा चार सय, व्यवस्थापन समूहमा ६५०, मानविकी र कानुन समूहमा ५०-५० जनाका दरले विद्यार्थी भर्ना क्षमता रहेको विद्यालयले जनाएको छ । तर प्रवेश परीक्षामा तीन हजार विद्यार्थी सहभागी भएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter