नेपाली कहाँ र कुन अवस्थामा छन् परराष्ट्रलाई थाहा छैन: परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विश्वभर पुगेका सबै नेपाली विद्यार्थीको तथ्यांक आफ्नो मन्त्रालयसँग नरहेको बताएकी छन् । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे जानकारी गराउँदै मन्त्री राणाले आगामी दिनमा यस्तो तथ्यांक परराष्ट्रमै रहने व्यवस्था गर्नसके उद्धारमा सहज हुने बताइन् । उद्धार गर्न परराष्ट्रसँग पर्याप्त जनशक्ति पनि नभएको उनको भनाइ थियो ।
ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको घटनालाई गम्भीरतापूर्वक लिएको पनि उनले बताइन् । साथै त्यसपछि विकसित घटनाक्रमलाई कूटनीतिक माध्यमबाट समाधान गरेको उनले दाबी पनि गरिन् ।
ओमनको मस्कटमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्केपछि अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री राणाले यस विषयमा हिजो ओडिसाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग फोनमा कुराकानी गर्र्दै दोषीमाथि कारबाही गर्न आग्रह गरेको जानकारी गराइन् । त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षित वातावरणसहित पठनपाठन व्यवस्था गरिदिन पनि आफूले भनेको उनले बताइन् ।
भारतीय मन्त्री सुरजले पनि उक्त घटनालाई ओडिसा राज्यले गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिएको उनको भनाइ छ । यस घटनाका सन्दर्भमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले ओडिसा सरकार र विश्वविद्यालय प्रशासनसँग सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको उनको दाबी छ ।
ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमुद अल बुसाइदीको आमन्त्रणमा उनी फागुन २ गते ओमान गएकी थिइन् । सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा मुख्य विषय राखिएको उक्त सम्मेलनमा आफूले नेपालका तर्फबाट सहभागी भई सम्बोधन गरेको बताइन् ।
ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमुद अल बुसाइदीको आमन्त्रणमा उनी फागुन २ गते ओमान गएकी थिइन् । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे पत्रकारहरुलाई जानकारी गराउँदै मन्त्री आरजुले सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा मुख्य विषय राखिएको उक्त सम्मेलनमा आफूले नेपालका तर्फबाट सहभागी भई सम्बोधन गरेको बताइन् ।
सो सम्मेलनमा हिन्द महासागरीय क्षेत्रका ४० देशका विदेश मन्त्रीस्तरीय सहभागिता थियो । सो सम्मेलनमा उनले ग्लोबल साउथको आवाजलाई थप सशक्त पार्ने सम्बन्धी सत्रलाई सम्बोधन गरेकी थिइन् । यस भ्रमणका क्रममा मन्त्री राणाले भारतीय विदेशमन्त्री डा जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नुको साथै ओमनका विदेशमन्त्री, ऊर्जा र खनिज मन्त्री, सम्पदा तथा पर्यटनमन्त्रीका साथै इरान, संयुक्त अरब इमिरेट्स र श्रीलंकाका विदेशमन्त्री एवं जापानका विदेश राज्यमन्त्रीसँग साइडलाइन भेट गरेकी थिइन् ।
इरानका विदेशमन्त्रीसँगको भेटवार्ताका क्रममा मन्त्री डा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन् । त्यसैगरी जापानका विदेश राज्यमन्त्रीसँगको भेटमा नेपालमा गत असोजमा आएको बाढीका कारण क्षति पुगेको वीपी राजमार्गको पुनर्निर्माणका लागि सहयोग गर्न आग्रह गरेकी थिइन् भने युएई, श्रीलंका र ओमनका विदेशमन्त्रीसँगको भेटका क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गर्न सम्बद्ध देशहरूलाई आग्रह गरिन् ।
यस भ्रमणका क्रममा नेपाल र ओमनबीच कूटनीतिक तथा पर्यटन क्षेत्रका दुई छुट्टाछुट्टै समझदारी पत्रमा हस्तार पनि भएको थियो ।