अन्तर्राष्ट्रिय परिस्थितिका कारण नयाँ सुरक्षा चुनौती : सेना; नेपाल शान्ति सैनिक पठाउने राष्ट्रको अग्रणी सूचीमा,

काठमाडौँ ,फागुन ११ गते। अन्तर्राष्ट्रिय परिस्थितिको असर नेपालमा पनि पर्नसक्ने भन्दै सेनाले नयाँ रणनीति र समन्वय प्रणालीलाई समयानुकूल बनाउनुपर्ने निष्कर्ष निकालेको छ । बिहीबार र शुक्रवार आयोजित पृतनापति समन्वयात्मक बैठकबाट सो निष्कर्ष निकालिएको सैनिक अधिकारीहरू बताउँछन् ।
पृतनापति समन्वयात्मक बैठकपछि सेनाले पत्रकार सम्मेलन गरेर अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । आइतबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका उपरथी प्रेमध्वज अधिकारीले भू–राजनीतिको असर नेपालमा पनि पर्ने र परिरहेको बताए । उनले भने– ‘त्यसमा कसरी अघि बढ्ने भन्नबारे अहिले चिन्तन गर्दैछौँ ।’
पछिल्लो समय अमेरिका र युक्रेनको बिचमा देखा परेको उतार–चढावले नयाँ प्रकारका सुरक्षा चुनौतीहरू सिर्जना हुनसक्ने सेनाको निष्कर्ष छ । सैनिक प्रवक्ता (सहायकरथी) गौरवकुमार केसीले अन्तर्राष्ट्रिय गतिविधि बुझ्ने र प्रभावबारे अध्ययन गरिरहेका बताएका छन् ।
फागुन ८ मा पृतनापति समन्वयात्मक बैठक उद्घाटन गर्दै रक्षामन्त्री मानवीर राईले पनि विश्वको विभिन्न स्थानमा चलिरहेको द्वन्द्वले नेपालमा पनि कुनै न कुनै रूपमा प्रभाव पार्ने बताए । उनले भनेका छन्, ‘जलवायु परिवर्तन र कृत्रिम बौद्धिकताले निम्त्याउन सक्ने चुनौतीहरूलाई सूक्ष्म रूपमा अध्ययन गर्नुपर्ने अवस्था छ ।’
बैठकमा सैनिक विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरू तथा पृतनापतिहरू सहभागी थिए । बैठकमा सिपाहीका समस्या र तालिममा गर्नुपर्ने सुधार लगायतका विषमा छलफल भएर सैनिक प्रवक्ता केसीले बताए । उनले भने– ‘पृतनापति समन्वयात्मक बैठकमा सेनाका समस्या र चुनौतीका विविध विषयमा छलफल भए ।’
बैठकलाई सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले विश्व सुरक्षा परिस्थिति बहु आयामिक दृष्टिकोणले थप संवेदनशील, जटिल र अन्योलपूर्ण भएको बताएका थिए । उनले भनेका थिए– ‘आन्तरिक र बाह्य परिस्थितिमा आउन सक्ने उतार–चढावले नयाँ प्रकृतिका सुरक्षा चुनौतीहरू सृजना हुने सम्भावना छ ।’
सिग्देलले भविष्यका सुरक्षा चुनौतीहरू सामान गर्न विभिन्न रणनीतिक तथा समन्वय प्रणालीलाई समयानुकूल विश्लेषण गरी प्रभावकारी उपायहरू पहिल्याउनुपर्ने बताएका थिए ।
नेपाल शान्ति सैनिक पठाउने राष्ट्रको अग्रणी सूचीमा, हालसम्म ७३ सैनिकको मृत्यु
नेपाल विश्वमा शान्ति स्थापना कार्यका लागि शान्ति सैनिक पठाउने सूचीमा अग्रणी स्थानमा रहेको छ । महिला र पुरुष दुवै शान्ति सैनिक पठाउने राष्ट्रको सूचीमा नेपाल अग्रणी स्थानमा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आइतबार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सेनाका अनुसार हाल ११ वटा मिसनहरूमा नेपाली सेनाका महिला सैनिक ६४२ सहित कुल ५ हजार ९१३ जना शान्ति सैनिकहरूको सहभागिता छ । यस्तै संयुक्त राष्ट्रसंघको छातामुनि रही विश्व शान्ति कार्य र स्थायित्वको लागि सुरुदेखि हालसम्म विभिन्न ४४ वटा विभिन्न मिसनहरूमा १ लाख ५४ हजार ३ सय ४० जना नेपाली शान्ति सैनिकहरू खटाइसकिएको छ ।
यस कार्यको दौरान ७३ जना वीर सपूत सैनिकहरूले मृत्यु भएको र ६९ जना सैनिकहरू घाइते भई आजीवन असहज जीवनयापन व्यतीत गरिरहेको सेनाले जनाएको छ ।
१ करोड २४ लाखबाट सुरु भएको सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब रुपैयाँ पुग्यो
सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब १ करोड रुपैयाँ पुगेको छ । सेनाले आइतबार पत्रकार सम्मेलन गरेर कोषमा भएको रकमबारे जानकारी गराएको हो ।
२०३२ सालमा १ करोड २४ लाख रुपैयाँबाट सुरु भएको कल्याणकारी कोष २०८१ साल पौष मसान्तसम्म आइपुग्दा बचत ८७ अर्ब १ करोड रुपैयाँ पुगेको सेनाको भनाइ छ ।
जसमध्ये बैङ्क तथा वित्तीय संस्थाहरूमा नगद मौज्दात ७९ अर्ब २८ करोड ५६ लाख रुपैयाँ र विभिन्न परियोजनाहरुमा लगानी ७ अर्ब ७२ करोड ४४ लाख रहेको सेनाको भनाइ छ ।
यद्यपि निक्षेपको प्रतिशतमा आएको गिरावटले नेपाली सेनाका सेवाग्राही लक्षित कल्याणकारी कार्यहरू तथा सार्वजनिक दायित्वहरू प्रभावित हुने देखिएको सेनाको भनाइ छ ।
कोषको लगानीको रूपमा रहेको ७ अर्ब ७२ करोड ४४ लाख रुपैयाँमध्ये नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा रु २ अर्ब ३० करोड ९४ लाख र कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी हस्पिटलमा मात्रै १ अर्ब ६० करोड ६० लाख लगानी भएको छ ।