• Wednesday, April 16, 2025

‘मोदीसँगको वार्ता सार्थक र सकारात्मक रह्यो’; थाइल्याण्डको औपचारिक भ्रमण ऐतिहासिक : प्रधानमन्त्री ओली


काठमाडौँ, चैत २२ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता सार्थक र सकारात्मक भएको बताउनुभएको छ।

बिहीबार बैंककमा भएको भेटवार्तापछि ट्वीट (एक्स)मा लेख्नुहुँदै ओलीले यस्तो बताउनुभएको हो। मोदीसँग आत्मीय र सौहार्दपूर्ण भेट भएको उहाँको भनाइ छ। ओलीले आत्मीय भेटवार्ताप्रति खुसी व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले एक्समा लेख्नुभएको छ, ‘‘मेरा प्रिय मित्र, प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग आत्मीय र सौहार्दपूर्ण भेट भयो। हाम्रो वार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो। यस आत्मीय भेटवार्ताप्रति म खुसी व्यक्त गर्दछु।’’

थाइल्यान्डको बैंककस्थित होटल माडारिन ओरियन्टलमा प्रधानमन्त्री ओलीको भारतीय प्रधानमन्त्री मोदीसँग करिब ४५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उहाँहरूबिच पूर्वनिर्धारित तालिकाअनुसार भेटवार्ता भएको हो।

यसअघि उहाँहहरूबिच संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा गत असोज ७ गते भेटवार्ता भएको थियो। यता प्रधानमन्त्री ओलीसँगको भेटपछि भारतका प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिएको उल्लेख गर्नुभएको छ।

थाइल्याण्डको औपचारिक भ्रमण ऐतिहासिक : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सफल भएको बताउनुभएको छ।

थाइल्याण्डको औपचारिक भ्रमण र बिम्स्टेकको शिखर सम्मेलनका क्रममा बैङ्ककमा रहनुभएका प्रधानमन्त्री ओलीले स्वदेश फर्कनु एक दिनअघि शुक्रबार प्रिदीबानोमयाङस्थित नेपाली राजदूतावासको कार्यालय अवलोकन गर्दै यो भ्रमण सफल रहेको बताउनुभयो।

नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध भएको ६६ वर्षको इतिहासमा नेपालका प्रधानमन्त्रीबाट थाइल्याण्डको भ्रमण भएको यो पहिलो अवसर हो। प्रधानमन्त्री ओलीले भ्रमण र शिखर सम्मेलनका क्रममा भएका द्विपक्षीय भेटवार्ताका क्रममा पनि ती मुलुकसँगको सम्बन्ध विस्तारमा थप बल पुगेको उल्लेख गर्नुभयो।प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पेथोङथान शिनावात्रालाई नेपालको औपचारिक भ्रमणको निमन्त्रणा दिनुभएको छ भने दुईपक्षीय वार्ताका क्रममा संस्कृति, पर्यटनसहित आठ विषयमा सम्झौतामा हस्ताक्षर भएको थियो।

प्रधानमन्त्री ओलीले आफ्नै जग्गामा नेपाली राजदूतावास सञ्चालन भएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा यसका लागि थप पूर्वाधार विकास गर्नुपर्ने खाँचो औँल्याउनुभयो।

प्रधानमन्त्री ओलीसहित भ्रमण दलमा रहनुभएका प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायतले दूतावासको अवलोकन गर्नुभएको थियो। भ्रमण दललाई स्वागत गर्दै थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले दूतावासको आफ्नै जग्गामा भवन भए पनि नयाँ भवन बनाउनुपर्ने र जग्गा पनि थप विस्तार गर्नुपर्ने अवस्थाबारे जानकारी गराउनुभएको थियो।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter