इन्दिरा रानामगर र रामबहादुर थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौँ, भदौ ८ गते। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रयोग गरेका अमर्यादित र असंसदीय शब्दहरू संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छन्।
सभामुख अर्यालले भदौ १ र भदौ ३ गतेका बैठकमा बोलिएका केही शब्दहरू संसद्को गरिमा विपरीत रहेको ठहर गर्दै सङ्घीय संसद् सचिवालयलाई ती शब्द हटाउन निर्देश गरेका हुन्।
निर्देशनअनुसार भदौ १ गतेको बैठकमा रास्वपा सांसद इन्दिरा राना मगरले बोलेका भालु, वेश्या’ र साइबर सेना जस्ता अमर्यादित तथा अनावश्यक शब्दहरू अब संसद्को अभिलेखमा रहने छैनन्।
त्यसैगरी, भदौ ३ गतेको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सम्बोधनका क्रममा प्रयोग गरेका केही शब्द र वाक्यांशहरू पनि हटाउन निर्देशन दिइएको छ। थापाले प्रयोग गरेका ‘नागरिकहरूको बलि’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ भन्ने शब्दहरूलाई सभामुख अर्यालले अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन्।
संसद्मा बोल्दा मर्यादित भाषाको प्रयोग गर्नुपर्ने र कसैको मानमर्दन हुने गरी शब्द चयन गर्न नहुने भन्दै सांसदहरूको ध्यानाकर्षण गराइएको छ। सभामुखको यो निर्देशनपछि सचिवालयले ती शब्दहरूलाई संसद्को आधिकारिक रेकर्डबाट मेटाउने प्रक्रिया अगाडि बढाउनेछ ।