बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा

काठमाडौँ, भदौ ८ गते । धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवाको पहुँच पुगेको छ । नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै सोमबारदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो।

जनैपूर्णिमाका अवसरमा बडीमालिका क्षेत्रमा लाग्ने धार्मिक मेलाको पूर्वसन्ध्यामा सेवा सञ्चालनमा आएको छ । समुद्री सतहबाट करिब चार हजार दुईसय मिटरको उचाइमा रहेको त्यस क्षेत्रमा सञ्चार सेवा पुगेपछि स्थानीयवासी, तीर्थयात्री, पर्यटक तथा विभिन्न सरकारी तथा गैरसरकारी निकायका लागि सञ्चार सम्पर्क सहज हुने अपेक्षा गरिएको छ।

सोमबार दिउँसो करिब १ बजे टावर जडानको काम सम्पन्न भएसँगै फोर–जी सेवा सञ्चालनमा ल्याइएको हो । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सेवा सञ्चालनको भर्चुअल माध्यमबाट उद्घाटन गर्नुहुँदै दुर्गम भूगोलमा रहेका नागरिकलाई पनि सञ्चारको आधारभूत अधिकारबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । त्यस क्षेत्रमा दूरसञ्चार सेवा दिन निरन्तर खटिने नेपाल टेलिकमका कर्मचारी, हेलिकप्टरमार्फत् सामान ढुवानीमा सहयोग गर्ने नेपाली सेना तथा सो कार्यमा समन्वय र सहकार्य गरेका बडीमालिकाका जनप्रतिनिधिलाई सञ्चारमन्त्री डा. तिमिल्सिनाले धन्यवाद ज्ञापन गर्नुभयो।

सञ्चारमन्त्री तिमिल्सिनाले यस वर्षलाई सरकारले दूरसञ्चार क्षेत्रमा अभूतपूर्व सुधारको वर्ष र डिजिटल रूपान्तरणको वर्षका रुपमा मनाउन लागेको उल्लेख गर्नुहुँदै भौगोलिक रूपमा विकट भएकै कारण कुनै पनि नागरिक सञ्चार सेवाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गरिने बताउनुभयो । उहाँले देशका दुर्गम तथा पर्यटकीय क्षेत्रसम्म गुणस्तरीय टेलिफोन र इन्टरनेट सेवा विस्तारलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिनुभयो ।

सेवा सञ्चालनपछि सञ्चारमन्त्री डा. तिमिल्सिनाले टावर स्थापनाका लागि बडीमालिका क्षेत्रमा खटिएका नेपाल टेलिकमका प्राविधिकसँग भिडियो कलमार्फत प्रत्यक्ष संवाद गर्नुभयो । नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालय र सुदूरपश्चिम प्रादेशिक निर्देशनालयबाट टावर निर्माणका लागि बडीमालिका क्षेत्रमा खटिएका कर्मचारीसँग उहाँले सेवा सञ्चालनको अवस्था र त्यहाँको कठिनाइबारे जानकारी लिनुभयो ।

सो भिडियो संवादका क्रममा सहायक प्राविधिक अधिकृत माधव बुढाथोकी, इन्जिनियर सुदर्शन आचार्य, सिभिल इन्जिनियर दीपकराज भट्टलगायतका प्राविधिकले टावर स्थापना तथा सेवा सञ्चालनका क्रममा भएका कामबारे जानकारी गराउनुभएको थियो।

त्यस्तै, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीले दुर्गम क्षेत्रमा सञ्चार सुविधा पु¥याउने विषय टेलिकमको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले टेलिकमको सेवा पहुँच विस्तारसँगै गुणस्तर सुधारमा समेत काम भइरहेको जानकारी दिनुभयो । प्रबन्ध निर्देशक पहाडीले व्यावसायिक लाभलाई मात्र आधार बनाएर सेवा विस्तार गर्नुभन्दा सञ्चार सेवाको पहुँच कमजोर रहेका दुर्गम क्षेत्रमा सेवा पु¥याउने जिम्मेवारीलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँले देशका विकट भूभागमा समेत नागरिकलाई सञ्चार सेवाको पहुँचमा ल्याउने उद्देश्यअनुसार नयाँ पूर्वाधार निर्माण र सेवा विस्तार भइरहेको जानकारी दिनुभयो ।

एक महिनाको सफल प्रयास

बडिमालिका क्षेत्रमा टेलिफोन सेवा सञ्चालनमा ल्याउनका लागि सरकार र नेपाल टेलिकमले करिब एक महिनादेखि निरन्तर काम गरिरहेका थिए। सञ्चारमन्त्री डा. तिमिल्सिनाले बडीमालिका क्षेत्रमा तत्काल सञ्चार सेवा विस्तार गर्न गत साउन ८ गते नेपाल टेलिकमलाई निर्देशन दिनुभएको थियो । बडीमालिकामा सञ्चार सेवा नपुगेको विषयमा गम्भीर चासो देखाउँदै उहाँले आवश्यक प्रक्रिया तत्काल अघि बढाउन र प्राविधिक तथा भौगोलिक चुनौती समाधान गरी सेवा सञ्चालन गर्न निर्देशन दिनुभएको थियो ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाको निर्देशनपछि नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा टावर निर्माण तथा फोर–जी सेवा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको थियो । सडक सञ्जालबाट उपकरण तथा निर्माण सामग्री ढुवानी गर्न कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत टावर निर्माणका लागि आवश्यक उपकरण तथा अन्य सामग्री बडीमालिका क्षेत्रमा पु¥याइएको थियो।

यसबिच सञ्चारमन्त्री डा. तिमिल्सिनाले बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्कासँग पनि त्यहाँ आवश्यक पर्ने दूरसञ्चार पूर्वाधार, सम्भावित टावर जडानस्थल तथा सडक सञ्जालको अवस्थाबारे छलफल गर्नुभएको थियो । सडकमार्फत उपकरण तथा निर्माण सामग्री पु¥याउन सम्भव नदेखिएपछि हेलिकप्टरबाट सामग्री ढुवानी गर्ने व्यवस्था मिलाउन उहाँले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो ।

बडीमालिका मन्दिर क्षेत्र समुद्री सतहबाट करिब चार हजार दुई सय मिटर उचाइमा रहेको छ । टावर भने करिब चार हजार दुईसय ३० मिटरको उचाइमा रहेको लौरी विनायक भन्ने स्थानमा स्थापना गरिएको नेपाल टेलिकमले जनाएको छ । अत्यन्तै विकट तथा उच्च हिमाली भूगोलमा टावर स्थापना गर्न प्राविधिक टोलीले चुनौतीपूर्ण परिस्थितिमा काम गरेको थियो ।

बडीमालिका क्षेत्रमा स्थायी बस्ती कम रहेको भए पनि धार्मिक, पर्यटकीय तथा पदयात्राका दृष्टिले यो क्षेत्र महत्वपूर्ण रहेको नेपाल टेलिकमका सहायक प्राविधिक अधिकृत माधव बुढाथोकीले जानकारी दिनुभयो । बडीमालिका मन्दिर, विभिन्न पाटन, पदमार्ग तथा त्रिवेणी क्षेत्रसम्म पुग्ने तीर्थयात्री तथा पर्यटकका लागि मोबाइल तथा इन्टरनेट सेवा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

नेपाल टेलिकमले यसअघि साउन महिनाभित्र बडीमालिकामा सेवा सञ्चालन गर्ने लक्ष्य लिएको थियो । प्रारम्भिक रूपमा साउन ३० गतेभित्र काम सम्पन्न गर्ने योजना रहे पनि प्रतिकूल मौसम, उच्च हिमाली भूगोल र सामग्री ढुवानीमा देखिएको कठिनाइका कारण निर्धारित समयभन्दा केही ढिला सेवा सञ्चालनमा आएको हो।

सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्षको रूपमा अघि बढाउने घोषणा गरेको छ । त्यसअन्तर्गत देशका दुर्गम, ग्रामीण तथा पर्यटकीय क्षेत्रसम्म दूरसञ्चार पूर्वाधार विस्तार गर्ने, फोर–जी सेवाको पहुँच बढाउने, सेवा गुणस्तर सुधार गर्ने तथा नयाँ प्रविधिको विस्तारलाई प्राथमिकता दिइएको छ।

यसै योजनाअनुसार नेपाली भाषाको उद्गमस्थल मानिने जुम्लाको हाट सिँजा क्षेत्रमा पनि नेपाल टेलिकमको फोर–जी सेवा यहि भदौ ५ गतेदेखि सञ्चालनमा आएको छ । कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा फोर–जी सेवा विस्तार भएसँगै सिँजा क्षेत्रको सञ्चार पहुँच थप सहज भएको छ।

त्यस्तै, सगरमाथा आधार शिविर क्षेत्रमा समेत फोर–जी सेवा विस्तारका लागि अध्ययन अघि बढाइएको छ । यसअघि नै केही उच्च हिमाली क्षेत्रमा दूरसञ्चार सेवा विस्तार भइसकेको छ ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका –६ स्थित ल्हान तथा ठुलीभेरी नगरपालिका –१, दुनै क्षेत्रमा समुद्री सतहबाट करिब तीन हजार नौसय मिटर उचाइमा फोर–जी सेवा सञ्चालनमा आइसकेको छ । त्यसैगरी ताप्लेजुङको ओलाङचुङगोलामा करिब तीन हजार चारसय मिटरको उचाइमा पनि फोर–जी सेवा सञ्चालनमा आएको छ । उच्च हिमाली तथा दुर्गम क्षेत्रमा सेवा विस्तारसँगै स्थानीय बासिन्दा, पर्यटक, तीर्थयात्री तथा सुरक्षा र उद्धारमा खटिने निकायलाई समेत सञ्चार सम्पर्क सहज हुने अपेक्षा गरिएको छ।

सरकारले सञ्चार सेवाको पहुँच कमजोर रहेका देशका अन्य दुर्गम क्षेत्र पहिचान गरी क्रमशः सेवा विस्तार गर्ने योजना अघि बढाएको छ । डिजिटल विभाजन घटाउँदै सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवाको पहुँचमा ल्याउने उद्देश्यले दूरसञ्चार पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको हो । नेपाल टेलिकमका अनुसार हाल देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विस्तारका लागि करिब एक हजार छ सय नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ ।

नयाँ टावर निर्माण तथा विद्यमान पूर्वाधारको क्षमता विस्तारबाट ग्रामीण र दुर्गम क्षेत्रका नागरिकलाई भरपर्दो मोबाइल तथा इन्टरनेट सेवा उपलब्ध गराउने सरकारको लक्ष्य छ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter