मन्त्रीहरुले उद्धार कोषमा एक महिनाको तलब सहयोग गर्ने; सडक सञ्जालबाट पुनः जोडियो रसुवा सदरमुकाम

काठमाडौं, भदौ १२ गते । सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यहरुको एक महिनाको तलब–पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
यस्तै, बैठकले गत बुधबार नेपाल–चीन सीमा रसुवागढी एवम् भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति, व्यावसायिक संस्थाका लागि सहुलित तथा पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । बैठकले भारतसँग जिटुजी खरिदमाध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने समेत निर्णय गरेको छ।
सडक सञ्जालबाट पुनः जोडियो रसुवा सदरमुकाम
रसुवा सदरमुकाम धुन्चे सडक सञ्जालसँग पुनः जोडिएको छ । सडक विभागका अनुसार वैकल्पिक काठमाडौँबाट धुन्चेसम्म चार चक्के साना सवारी जाने बाटो खुला भएको हो ।
विभागका अनुसार काठमाडौँबाट टोखा, छहरे, गड्खार पुल, आप्र, नर्जा लच्याङ, सरमथली, पाटीखर्क हुँदै बोगटीटार, कालिकास्थान हुँदै धुन्चे सडक खण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको छ।
सडक खण्ड सुचारु भएसँगै त्यहाँको जनजीवन थप सहज बन्ने अपेक्षा गरिएको छ । यसले राहत र उद्दार कार्यलाई समेत सहज बनाउने विश्वास गरिएको छ ।