पुस्तान्तरण नेपालको निःशुल्क स्वास्थ्य शिविरबाट ७० भन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित

काठमाडौं / भदौ २१ गते ।: पुस्तान्तरण नेपालद्वारा काठमाडौंको बिशालनगरमा आज आयोजित निःशुल्क स्वास्थ्य, मनोसामाजिक तथा दन्त शिविरबाट ७० भन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित भएका छन्।
पुस्तान्तरण नेपालले हिमाल डेन्टल अस्पताल र इन्टरप्लास्ट नेपालसँगको सहकार्यमा आयोजना गरेको शिविरमा ज्येष्ठ नागरिकहरूको आधारभूत स्वास्थ्य परीक्षण, दन्त परीक्षण तथा मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको थियो।
शिविरमा जेरियाट्रिक चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षण तथा परामर्श दिएका थिए भने मनोसामाजिक परामर्शदाताहरूले सहभागीहरूलाई आवश्यक परामर्श र सहयोग प्रदान गरेका थिए।
ज्येष्ठ नागरिकहरू जलनसम्बन्धी घटनाका दृष्टिले पनि संवेदनशील हुने भएकाले शिविरमा जलनबाट बच्ने उपाय तथा सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम समेत सञ्चालन गरिएको थियो। कार्यक्रममा घरायसी दुर्घटनाबाट हुने जलन रोकथाम तथा जलन भइहालेमा अपनाउनुपर्ने प्राथमिक सावधानीबारे सहभागीहरूलाई जानकारी दिइएको थियो। जलनबाट हुने जोखिम न्यूनीकरणका क्षेत्रमा कार्यरत संस्था इन्टरप्लास्ट नेपालले यस सचेतना अभिवृद्धि पहलमा सहकार्य गरेको छ।
शिविरमा सहभागी ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षणका क्रममा उच्च रक्तचाप र ब्लड सुगर लगायतका स्वास्थ्य समस्या बढी देखिएको चिकित्सकहरूले बताएका छन्। मनोसामाजिक परामर्शका क्रममा थप नियमित सहयोग आवश्यक देखिएका केही सहभागीलाई पुस्तान्तरण नेपालले आगामी दिनमा फलोअप परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ।
शिविरमा सहभागी ज्येष्ठ नागरिकहरूले पुस्तान्तरण नेपालसँग सम्झौता तथा सहकार्यमा रहेका विभिन्न स्वास्थ्य संस्थामार्फत विशेषज्ञ स्वास्थ्य सेवा सहुलियत दरमा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
पुस्तान्तरण नेपालले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य, मानसिक स्वास्थ्य तथा समग्र कल्याणका विषयमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्थानीय सरकार तथा विभिन्न साझेदार संस्थासँगको समन्वयमा नियमित रूपमा स्वास्थ्य तथा मनोसामाजिक शिविर सञ्चालन गर्दै आएको छ।
“पुस्तान्तरण नेपाल सधैँ ज्येष्ठ नागरिकसँगै छ र नेपालमा गरिमामय वृद्धावस्था प्रवर्द्धन गर्न प्रतिबद्ध छ,” पुस्तान्तरण नेपालका अध्यक्ष प्रतिवेदन बैद्यले भने।
उनले यस्ता निःशुल्क स्वास्थ्य शिविरमार्फत ज्येष्ठ नागरिकहरूको स्वास्थ्य तथा मनोसामाजिक अवस्थाबारे सचेतना अभिवृद्धि गर्न तथा आवश्यक सेवासँग उनीहरूलाई जोड्न सहयोग पुगेको बताए। “हामीले आफ्नै केन्द्र तथा घरमै पुगेर पनि ज्येष्ठ नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउँदै आएका छौँ। हाम्रो उद्देश्य नाफाभन्दा पनि गरिमामय वृद्धावस्थालाई प्रवर्द्धन गर्नु हो,” बैद्यले भने।
पुस्तान्तरण नेपालले नेपालमा गरिमामय तथा सक्रिय वृद्धावस्था प्रवर्द्धन गर्ने उद्देश्यले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य क्लिनिक, डे–केयर तथा होम–केयर सेवा सञ्चालन गर्दै आएको छ। संस्थाले स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श तथा अन्य आवश्यक सहयोगलाई ज्येष्ठ नागरिकमैत्री र सहज रूपमा उपलब्ध गराउने प्रयास गर्दै आएको छ।
नेपालको जनसंख्या क्रमशः वृद्ध हुँदै गइरहेको अवस्थामा ज्येष्ठ नागरिकका लागि थप व्यवस्थित, पहुँचयोग्य र उमेरमैत्री स्वास्थ्य तथा हेरचाह सेवाको आवश्यकता बढ्दै गएको पुस्तान्तरण नेपालको भनाइ छ। संस्थाले हालैको बाढीबाट प्रभावित व्यक्ति, गैरआवासीय नेपाली (एनआरएन) तथा नेपाली प्रवासी र उनीहरूका परिवारका लागि विशेष सहुलियत तथा सहयोग समेत उपलब्ध गराउँदै आएको छ।
पुस्तान्तरण नेपालले ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक, सक्रिय र आत्मनिर्भर जीवन बिताउन सहयोग गर्ने तथा उनीहरूको ज्ञान, सीप र अनुभवलाई परिवार र समुदायमा निरन्तर उपयोग गर्ने वातावरण निर्माण गर्ने लक्ष्यका साथ आफ्ना कार्यक्रम विस्तार गर्दै आएको छ।