वीरेन्द्रनगरमा सञ्चालनमा आयो ‘समावेशी’ पार्क

सुर्खेत, भदौ २२ गते । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा समावेशी र महिलामैत्री पार्क सञ्चालनमा आएको छ । वीरेन्द्रनगर–८ खजुरामा निर्माण भएको पार्कको सोमबार वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले उद्घाटन गरिन् ।

युनोप्सद्वारा सञ्चालित ‘सिटीज फर वुमेन’ (महिलामैत्री शहर) परियोजनाको ७० प्रतिशत र वीरेन्द्रनगर नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा पार्क निर्माण गरिएको हो । १ करोड ६५ लाखको लागतमा निर्मित उक्त पार्क १.४८९ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ ।

पार्कको उद्घाटन गर्दै मेयर ढकालले वीरेन्द्रनगरलाई पर्यटकीय, महिला मैत्री र छोरी हुनुमा गर्वको सहर भनेर नगर सभाबाट नै पारित गरिएको बताइन् । ‘खुल्ला र सरकारी जग्गाको संरक्षण गर्ने गर्ने प्रमुख ध्येयका साथ यो पार्क सहित अन्य विभिन्न क्षेत्रमा पनि पार्क निर्माण भइरहेका छन्’ उनले भनिन् ।

नगरले निर्माण गर्ने सबै संरचनाहरू समावेशी रूपमा निर्माण गरेको भन्दै उनले महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिइएको बताइन् । ‘यो एउटा समावेशी र महिला मैत्री पार्क हो’ उनले भनिन्, ‘यो कुनै युरोपको पार्क भन्दा कम छैन । यसको दीर्घकालीन महत्वलाई ध्यानमा राखेर निर्माण गरिएको छ ।’

उक्त पार्कको डिजाइन नै स्थानीय अगुवा, टोल विकास समिति, जनप्रतिनिधि र सरोकारवालाहरूको सुझावमा गरिएको सिटिज फर वुमन परियोजना प्रमुख नीलिमा थापा श्रेष्ठले जानकारी दिइन् । ‘हामीले निर्माणको पहिलो दिनदेखि नै कुन ठाउँमा के राख्ने ? भनेर उहाँहरूको सुझाव लिएका थियौ’ उनले भनिन्, ‘मन्दिर, पानीको धारा, शौचालय आदी उहाँहरूकै सुझाव अनुसार राखिएको हो ।’

परियोजना प्रमुख श्रेष्ठले अब पार्क सञ्चालनमा भने स्थानीय र सरोकारवालाहरू चनाखो भएर लाग्नु पर्ने बताइन् । ‘सबैले अपनत्व लिनुहुनेछ भन्ने अपेक्षा गरेका छौँ । टोल, वडा र नगरपालिकाले व्यवस्थितरूपमा सञ्चालन र संरक्षणको जिम्मा लिनेमा विश्वस्त छौँ ।’

उक्त पार्क समुदायको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर निर्माण गरिएको युनोप्सका सहरी योजनाकार इन्जिनियर सुगम गौतमले जानकारी दिए । उनका अनुसार महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई प्राथक्तिामा राखेर सांस्कृतिक गतिविधि, खुला सिकाइ, योग तथा व्यायाम, समुदाय भेला र विश्रामका साथै समावेशी सार्वजनिक शौचालय निर्माण गरिएको छ ।

पार्कमा वर्षाको पानी पुनर् भरण गर्ने, शीतलता र जैविक विविधताका लागि स्थानीय बिरुवा, प्राकृतिक सामग्री तथा सौर्य बत्ती जस्ता जलवायु उत्थानशील र वातावरणमैत्री उपायहरू समावेश गरिएको सहरी योजनाकार गौतमले बताए ।

‘सुरक्षाका लागी सिसिटिभी जडान गरिएको छ । बालबालिकाले खेल्दै रमाउन र सिक्न सक्ने वातावरण निर्माण गरिएको छ’ उनले भने, ‘धार्मिक तथा सांस्कृतिक गतिविधिका लागि पूजा स्थलको व्यवस्था छ । पार्कले विभिन्न उमेर समूहका व्यक्तिहरूलाई एउटै ठाउँमा जोड्ने अपेक्षा गरिएको छ ।’

त्रिशक्ति जेभी, सुर्खेतले पार्क निर्माणको ठेक्का लिएको १० महिनामा आयोजना सम्पन्न गरेको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter