बाढीबाट क्षतिग्रस्त स्थानीय तह सञ्चालन गर्न सुझाव

नगेन्द्र सापकोटा / काठमाडौँ, भदौ २३ गते । भदौ १० गते रसुुवाको भोटेकोशीमा आएको बाढीबाट रसुवा र नुुवाकोटको स्थानीय तह र तिनका वडा कार्यालयको कामलाई पुनस्र्थापित गरी सेवा सुरु गर्न ढिलाइ गर्न नहुने माग हुन थालेको छ ।
सरकारले उक्त स्थानीय तह र वडा कार्यालयको कामलाई पुुनस्र्थापित गर्दै नागरिकका अत्यावश्यक सेवालाई पुनः सञ्चालनमा ल्याई बाढीपीडित नागरिकको उद्धार, राहत, पुनस्र्थापितमा अझ सक्रिय भएर लाग्नुपर्ने सुझाव आउन थालेको छ ।भूूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उत्तरगया र गोसाइँकुुण्ड गाउँपालिकाका कतिपय वडा कार्यालयको प्रशासनिक भवन नै बाढीले बगाएकाले उक्त गाउँपालिकाको अस्थायी रूपमा सेवा सञ्चालन गर्ने गरी मन्त्रालयले छलफल अगाडि बढाएको जनाएको छ ।
मन्त्रालयका सहसचिव प्रकाश दाहालका अनुसार दुई स्थानीय तहबाहेक अन्य स्थानीय तहमा सेवा सञ्चालन गर्न अप्ठ्यारो छैन । ती स्थानीय तहमा प्रारम्भिक सेवा सञ्चालनका लागि चाहिने न्यूूनतम सामग्रीबारे सम्बन्धित गाउँपालिकासँग माग गरिएको अब एक सातामा सेवा सुुचारु गर्ने गरी मन्त्रालयले समन्वय गरिरहेको स्पष्ट पार्नुुभयो । रसुवाको उत्तरगया गाउँपालिकाको प्रशासनिक भवनसहित वडा नं. १, २ र ३ का वडा कार्यालय र गोसाइँकुुण्ड गाउँपालिकाको प्रशासनिक भवनसहित वडा नंं. १ देखि ५ सम्मका वडा कार्यालय पूर्ण रूपमा क्षति भई सेवा बन्द भएको उक्त गाउँपालिकाले जनाएका छन् ।
त्यस्तै रसुवाको आमाछोदिङ्मो गाउँपालिका, नुुवाकोटको विदुुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किप्पाङ गाउँपालिका, लिखुु, तारकेश्वर गाउँपालिका र तिनका कतिपय वडा कार्यालयमा समेत बाढीले आंशिक क्षति पुु-याएको छ । साबिकका जिल्ला विकास समिति महासङ्घ नेपालका अध्यक्ष कृष्णप्रसाद सापकोटाले बाढी प्रभावित क्षेत्रमा स्थानीय तह र वडा कार्यालयको सेवा पुुनः सञ्चालनका लागि ढिलो भइसकेको भन्दै तत्काल स्थानीय सेवा सञ्चालन सुुचारु गर्नुुपर्ने आवश्यकता औँल्याउनुुभयो ।
२०७२ सालमा भूकम्प जाँदा पनि साबिकका कतिपय गाउँ विकास समिति, नगरपालिकाकाको भवन क्षति हुँदा तत्काल टेन्ट राखेर सेवा सुुचारु गरिएको थियो । उहाँले भन्नुभयो, “सेवाग्राहीको काम धेरै दिन रोक्नुु हुँदैन । उद्धार, राहत र पुुनस्र्थापित गर्ने कार्यमा अग्रभागमा नै स्थानीय तहका जनप्रतिनिधि देखिनुु पर्छ । तसर्थ अब उक्त गाउँपालिका वडाको सेवा सञ्चालन गर्न अब ढिलो गर्नु हुँदैन ।”
स्थानीय तह र वडा कार्यालयबाट नागरिकको दैनिक अत्यावश्यक पर्ने जन्म, मृत्युु, विवाहदर्ता, बसाइँसराइ, नागरिकता तथा राहदानीको सिफारिस, घरजग्गासम्बन्धी सिफारिस, नाता प्रमाणित, आर्थिकसम्बन्धी सिफारिस, विकासनिर्माण र सेवा प्रवाहलगायतका अत्यावश्यक काम हुुन्छन् ।
वैकल्पिक उपाय
क्षतिग्रस्त कार्यालयको सट्टा विद्यालय, सामुदायिक भवन वडा कार्यालयबाट अस्थायी रूपमा तत्काल सेवा सञ्चालन गर्न सकिने सुुझाव उहाँको छ । सापकोटाका अनुसार गाउँपालिका र नगरपालिकाको केन्द्रको काम केही समयका लागि बाढीबाट बचेका वडाबाट सञ्चालन गर्ने, साथै केही सेवा अनलाइन वा मोबाइलमार्फत सञ्चालन गरी डिजिटल सेवा सुुचारु गर्न सकिने विकल्प छन् । अन्तस्र्थानीय तह सहकार्य गर्न सकिने उहाँले सुझाव दिनुभयो ।
उत्तरगया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेतीले अहिले बाढीले गाउँपालिकाको प्रशासनिक भवन र तीन वटा विद्यालय, स्वास्थ्य चौकी, पशुसेवा कार्यालय, कृषि कार्यालयलगायतको सेवा ठप्प रहेको बताउनुुभयो । गाउँपालिकामा विद्युत् सेवा र बैङ्किङ सेवा पूर्ण रूपमा ठप्प छन् । कार्यालय र बैङ्क नचलेका कारण पीडितलाई तत्काल नगद राहत दिन सक्ने अवस्था नभएको गुनासो गाउँपालिकाले गरेको छ । गाउँपालिकाकै पाँच जना कर्मचारीसमेत बेपत्ता भएका छन् । जसमध्ये एक जनाको मात्र शव फेला परेको उप्रेतीले बताउनुुभयो ।