पुस्तान्तरण केयर र स्पार्क कार रेन्टलबीच ज्येष्ठ नागरिकमैत्री यातायात सेवाका लागि सम्झौता

काठमाडौँ, भदौ २३ गते । ज्येष्ठ नागरिकलाई सुरक्षित, सहज र सम्मानजनक यातायात सेवा उपलब्ध गराउने उद्देश्यले पुस्तान्तरण केयर र स्पार्क कार रेन्टलबीच समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार पुस्तान्तरण केयरबाट सिफारिस गरिएका ज्येष्ठ नागरिकलाई स्पार्क कार रेन्टलले उपलब्धताका आधारमा सुरक्षित, आरामदायी तथा ज्येष्ठ नागरिकमैत्री यातायात सेवा प्रदान गर्नेछ। सेवाका क्रममा ज्येष्ठ नागरिकप्रति शिष्ट, धैर्यवान र सम्मानजनक व्यवहार गर्नुपर्ने व्यवस्था पनि समझदारीमा गरिएको छ।
समझदारीपत्रमा पुस्तान्तरण केयरका संस्थापक प्रतिवेदन बैद्य र स्पार्क कार रेन्टलका सह–संस्थापक सीताराम घिमिरेले हस्ताक्षर गर्नुभयो।
यस सहकार्यले ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा, सामाजिक तथा पारिवारिक भेटघाट, विमानस्थल आवतजावत, दैनिक आवश्यकताका काम तथा अन्य आवश्यक यात्रामा सहज यातायात सेवा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पुस्तान्तरण केयरले ‘नेपालमा सम्मानजनक वृद्धावस्था’ (Dignified Aging in Nepal) को अवधारणालाई अघि बढाउँदै ज्येष्ठ नागरिकको स्वास्थ्य, मनोसामाजिक कल्याण र सुरक्षित जीवनका लागि विभिन्न सेवा तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्पार्क कार रेन्टलसँगको सहकार्यले ज्येष्ठ नागरिकका लागि सुरक्षित र सहज आवागमनको पहुँच विस्तार गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ।
समझदारीपत्र दुई वर्षका लागि लागू हुनेछ।