जेनजी घाइते भन्छन्, ‘सुशासनयुक्त नेपाल हेर्न चाहन्छौँ’

सपना थामी / काठमाडौँ, भदौ २३ गते । गत वर्ष भदौ २३ गते सामाजिक सञ्जालको सूचनामार्फत जेनजी आन्दोलनमा सहभागी हुनुभएको थियो २६ वर्षीय मदन कार्की । अहिले उहाँको बायाँ हात राम्रोसँग चल्दैन । त्यो बेला बायाँ हातको काखीमुनि गोली लागेकोले उहाँ घाइते अवस्थामा हुनुहुन्छ।
२०८२ भदौ २३ गतेको घटना सम्झिदै उहाँले भन्नुभयो, “त्यो दिन बानेश्वर संसद भवन परिसरमा आन्दोलन चर्किदै गयो र भिड थाम्न नसक्ने स्थिति भयो । केही अराजक तत्वहरुले भिड तोडे । ढुङ्गा–मुढा नगर ! भन्दा भन्दै पुलिसले अश्रु ग्याँस हान्न थाले । लगभग साढे १ बजेतिर बायाँ हातको काखीमुनिको नसामा मलाई गोली लाग्यो ।” जेनजी आन्दोलनमा घाइते भएकाहरु यतिबेला पीडादायी अवस्थाबाट गुज्रनुपरेको उहाँको भनाइ छ ।
उहाँ भन्नुुहुन्छ, “म फोटो, भिडियो इडिटिङको काम गर्थें । अहिले त डामाडोल नै छ । जे होस् एक हातले भए पनि इडिटिङको काम गरिराछु । हात पोलिरहन्छ । नसाको कारणले हात दुखिरहेको हुन्छ । सहिद हुनेहरु मरेर गए, हामी जिउँदो सहिद जसरी हरपल भोगेर बस्न परिरहेको छ ।”
यसैगरी, सञ्जीवकुमार झा भ्रष्टाचारको अन्त्य र सुशासन कायम हुनुपर्छ भन्ने मागका साथ जेनजी आन्दोलनमा सहभागी हुनुभएको थियो । प्रदर्शनका क्रममा कालीमाटीमा प्रहरीले मरणासन्न हुनेगरी कुटेपछि सञ्जिव घाइते हुनुभयो ।
सञ्जिवको दाइ राजिव झा भन्नुहुन्छ, “जेनजी घाइते परिवारको तर्फबाट हाम्रो आक्रोश के छ भने नेपाली नागरिकको सुरक्षा हुनुपर्छ । नेपाली नागरिकलाई राज्यले सुव्यवस्थित तरिकाले सम्मानपूर्वक बाँच्ने आधार दिनुपर्छ ।” रसुवाको भोटेकोशी बाढी पीडितलाई सहयोग गर्न स्वयम्सेवकको रुपमा खटिदा सञ्जिव पुनः अस्वस्थ भएकोले अस्पतालमा भर्ना भइ उपचार गराइरहनुभएको छ ।
उहाँले जेनजी आन्दोलनका घाइतेको माग र मुद्दाप्रति राज्य उदासीन बन्दै गएको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो । जेनजी आन्दोलनका सबै घाइतेहरुले सुशासनयुक्त नेपाल हेर्न चाहेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हाम्रा दाजुभाइ, दिदीबहिनीहरु सडकमा आए । जे विषय लिएर कुटाइ खाए, गोली खाए, सहादत प्राप्त गरे त्यो विषय सम्बोधन नभएसम्म न सहिदको आत्माले शान्ति पाउछ न सहिद परिवारको त्यो सहादतको मूल्याङ्कन हुन सक्छ । घाइतेहरु जुन अङ्गभङ्ग भएका छन्, न त उनीहरुको पीडामा मलम लाग्न लाग्छ ।”
यसैगरी, २८ वर्षीय उदय प्रकाश शाह पनि देशमा सुशासन ल्याउनुपर्छ भन्ने माग राख्दै जेनजी आन्दोलनमा सहभागी हुनुभयो । माइतीघरबाट प्रदर्शन गर्दै बानेश्वर पुग्नुभयो । प्रदर्शनको क्रममा संसद भवन परिसरमा गोली चल्दै गर्दा उहाँको देब्रे खुट्टामा पनि गोली लाग्यो ।
उहाँ भन्नुहुन्छ, “त्यतिखेर हाम्रो साथीहरुलाई पनि गोली लाग्यो, त्यो क्रममा मलाई पनि गोली लाग्यो । खुट्टामा गोली लागेपछि म ढलें, खुट्टाभरी रगतै रगत भयो । म बेहोस् भएँ । त्यसपछि साथीभाइले उचालेर मलाई ट्रमा सेन्टरमा पुर्याएछन् ।” उदय प्रकाश अहिले पनि राम्रोसँग हिड्न सक्नुहुन्न । खुट्टा सुन्निने, लामो समय हिड्न नसकिने, गह्रुङ्गो सामान उठाउन नमिल्ने लगायतको समस्या उहाँलाई छ ।
उहाँले राज्यसँग जेनजी घाइतेहरुको गुणस्तरीय उपचारको माग पनि गर्नुभयो । उहाँले भन्नुभयो, “यो जेनजी सरकार हो । जेनजी घाइते र सहिदहरुको पीडा बुझ्नुपर्यो । अझै नजिक आएर बुझ्नुपर्यो । अझै कति घाइते साथी कोमामा छन्, कसैको हात अहिलेसम्म झुन्ड्याइ राखेकै छन् । मेरो खुट्टामा दुखाइ त्यस्तै छ । म के अनुरोध गर्छु भने हाम्रै देशमा उपचार हुन्छ भने राम्रोसँग उपचार गराइदिनु ।हाम्रो देशमा उपचार सम्भव छैन भने बाहिर लगेर पनि उपचार गराइदिनुपर्यो । किनकी, हातखुट्टा त हाम्रो गरिखाने बाटो हो नि त ।”
बेरोजगारीको समस्या समाधान गर्न घाइतेहरुका लागि सहुलियतपूर्ण ऋणको व्यवस्था भए गरिखाने बाटो बन्नेथियो कि भन्ने उहाँको भनाइ छ ।