रसुवा बाढी : अर्थतन्त्रमा बहुआयामिक असर, आर्थिक वृद्धिमा धक्का

काठमाडौँ । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले जनधनको ठुलो क्षति पुर्‍याएको छ ।

बाढीले भन्सार नाकादेखि भोटेकोशी र त्रिशूली करिडोरको सबै बस्ती बगाएको छ । बाढीले भौतिक संरचनामात्र हैन, मुलुकको अर्थतन्त्रको सबैभन्दा सक्रिय लाइफलाइन मानिने नदी करिडोरको मेरुदण्डमै तहसनहस बनाएको छ ।

प्रारम्भिक तथ्याङ्क अनुसार बाढीबाट भएको भौतिक र आर्थिक क्षति २०७२ सालको विनाशकारी भूकम्पपछिकै सबैभन्दा ठुलो र गम्भीर प्रकृतिको मानिएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विभिन्न फोरममा दिएको जानकारी अनुसार बाढीले ७ देखि ८ खर्ब रुपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान छ ।

अर्थमन्त्री वाग्लेका अनुसार ७ देखि ८ खर्ब रुपैयाँ नोक्सानी हुँदा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब १३ प्रतिशत हिस्सामा असर पुर्‍याएको छ । अर्थ क्षेत्रका जानकारका अनुसार बाढीले भूकम्पदेखि नै शिथिल अर्थतन्त्रलाई थप असर पर्ने गरी क्षति पुगेको छ ।

बाढीले भौतिकमात्रै नभएर ठुलो मानवीय क्षतिसमेत गरेको छ । बाढीमा परी जलविद्युत् आयोजनाका दक्ष प्राविधिक, अनुभवी टुर गाइड र स्थानीय उद्यमीहरूको ठुलो संख्या बेपत्ता छन् । कतिपयको मृत्यु भएको छ ।

ऊर्जा र भौतिक पूर्वाधारमा ‘ब्ल्याक आउट’

नेपालको ऊर्जा सुरक्षाको आधार मानिएको भोटेकोशी–त्रिशूली करिडोरका ११ जलविद्युत् आयोजनामा बाढीले पूर्णरुपमा ध्वस्त बनाएको छ । ७८३ मेगावाट क्षमताका यी आयोजनामध्ये कतिपय सञ्चालनमा रहेका र कतिपय निर्माणाधीन थिए ।

त्यस्तै, विद्युत् उत्पादनपछि आपूर्तिका लागि बनाइएका प्रसारण लाइन र सबस्टेसन लाइनमा समेत क्षति पुगेको छ । यो क्षतिले नेपालको ऊर्जा क्षेत्रमा ठुलो लगानी जोखिममा परेको छ ।

पूर्वाधारतर्फ ५५ किलोमिटर सडक र ३७ वटा मोटरेबल पुल पूर्ण रूपमा बग्दा रसुवा र नुवाकोटको सम्पर्क विच्छेदमात्र भएको छैन, चीनसँगको लाइफलाइन मानिने रसुवागढी नाका बन्द भएको छ । उक्त नाकाबाट उठ्ने करोडौँ राजस्वमा समेत असर पर्ने देखिएको छ ।

रसुवागढी नाका बन्द भएसँगै चीनतर्फको व्यापार भौगोलिक रूपमा कठिन कोरला नाकामा डाइभर्ट हुनु पर्ने बाध्यता आइपरेको छ । कोरोला नाका भौगोलिक रूपमा टाढा भएकाले ढुवानी लागत वृद्धि भई बजारमा महँगी बढाउने देखिएको व्यवसायी बताउँछन् ।

पर्यटन क्षेत्रको अवस्था झन् भयावह छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन क्षेत्रमा मात्र ५० अर्ब रुपैयाँ हाराहारीको क्षति भएको छ । लाङटाङ र गोसाइँकुण्ड जस्ता विश्वप्रसिद्ध पदमार्गहरू तहसनहस भएका छन् भने नदी किनारका १४२ होटल र ५७ रेस्टुरेन्ट बाढीले निमिट्यान्न पारेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार कैलाश मानसरोवर जाने पर्यटकको मुख्य मार्गसमेत बन्द भएको अवस्था छ, जसका कारण ठुलो आर्थिक आर्जनको बाटो टुटेको छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी भोटेकोशी बाढीले १६औँ आवधिक योजनाका लक्ष्य र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा गम्भीर चुनौती थपेको बताउँछन् ।

उनले बाढीले मुलुकको अर्थतन्त्रको चक्रलाई नै परिवर्तन गराउने अवस्था आएको बताए । सरकारले बनाउने योजना र बजेटलाई समेत परिमार्जन गर्नु पर्ने अवस्था आइपुगेको उनको भनाइ छ ।

आपूर्ति शृङ्खला खलबलिँदा उच्च मूल्यवृद्धि हुने र राजस्व सङ्कलनमा व्यापक गिरावट आउने निश्चित देखिएको अधिकारीले बताए । उनका अनुसार थलिएको अर्थतन्त्रलाई पुनर्जीवन दिन सरकारले अब परम्परागत उद्धार र राहतको घेराभन्दा माथि उठेर दरिलो र सुरक्षित पुनरुत्थानको रणनीति लिनु आवश्यक देखिएको छ ।

त्यस्तै, योजना आयोगका पूर्वसदस्य डा. रमेश पौडेलले भदौ १० को बाढी नेपालका लागि एक कठोर पाठ भएको बताए । सरकारले अहिले नै दरिलो पुनर्निर्माण र पूर्वतयारीको रणनीति अख्तियार गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

जलवायु परिवर्तनका कारण निम्तिने यस्ता विपद्ले मुलुकको अर्थतन्त्रलाई बारम्बार धराशायी बनाइरहने निश्चित देखिएको उनले बताए ।

बाढीपछि अर्थतन्त्र पुनरुत्थानका लागि रणनीतिक योजना
लामो समयदेखिको आर्थिक मन्दी र हालैको भीषण बाढीका कारण शिथिल बनेको नेपाली अर्थतन्त्रलाई पुनः गतिशील बनाउन सरकारले रणनीतिक योजनाको तयारी गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढीले ८ खर्ब बढीको क्षति गरेकाले त्यसलाई पुनः गतिशील बनाउन छुट्टै रणनीतिक योजना अघि बढाउन लागेको बताए । उनले नेपालको अर्थतन्त्रलाई सङ्कटबाट बाहिर निकाल्न सरकारले स्पष्ट रोडम्याप तयार पारेको जानकारी दिए ।

बाढीबाट प्रभावित क्षेत्रका साना तथा ठुला व्यवसायीहरूलाई राहत दिन मन्त्रिपरिषद्बाट बिजनेस रिकभरी प्याकेज पारित भइसकेको छ । यसले सङ्कटमा परेका उद्योगी–व्यवसायीलाई पुनः उठ्न मद्दत गर्ने अर्थमन्त्री वाग्लेको विश्वास छ ।

सेयर बजारलाई व्यवस्थित र सुदृढ बनाउन सरकारले विशेष सुधार योजना ल्याएको छ । लगानीकर्ताको मनोबल उच्च राख्दै पुँजी बजारलाई पारदर्शी र भरपर्दो बनाउनु यसको मुख्य उद्देश्य रहेको अर्थमन्त्री वाग्लेको भनाइ छ ।

निजी क्षेत्रको सक्रियताबिना अर्थतन्त्र चलायमान नहुने भन्दै सरकारले आर्थिक सहुलियत र लगानी प्रोत्साहनका प्याकेजहरू ल्याएको छ । यसले थलिएको बजारमा नयाँ उत्साह भर्ने विश्वास गरिएको छ ।

विपद्का कारण भएको क्षतिको यकिन मूल्याङ्कन गरी पुनर्निर्माणका लागि आवश्यक ठुलो लगानी जुटाउन सरकारले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग समन्वय गरिरहेको छ । वैदेशिक सहायता र अनुदानलाई उत्पादनशील क्षेत्रमा केन्द्रित गर्ने अर्थमन्त्रीको योजना छ ।

अर्थमन्त्री डा. वाग्लेले नेपाल अहिले चुनौतीपूर्ण मोडमा भए पनि सरकारको सही हस्तक्षेप र अन्तर्राष्ट्रिय समुदायको सहयोगले अर्थतन्त्र चाँडै लयमा फर्कने विश्वास व्यक्त गरेका छन् । ‘हामी केवल सङ्कट टार्नमात्र होइन, अर्थतन्त्रको संरचनामै सुधार गरेर दिगो विकासको बाटोमा जान प्रतिबद्ध छौँ,’ उनले भने ।

डा. शिवराज अधिकारी भन्छन्– विकासको ढाँचा नै गलत भयो (उनकै शब्दमा)
सरकारले बाढीबाट कति नोक्सानी भयो भनेर भौतिक क्षतिलाई मात्र हेरिरहेको छ । बाढी नआएको भए अर्थतन्त्र कुन गतिमा जान्थ्यो भन्ने सम्भावित क्षतिको आकलन गरिएको देखिएको छैन ।

अहिले खाल्डो पर्दा कति क्षति भयो भनेरमात्र हेरियो, तर त्यो खाल्डो नपरेको भए अर्थतन्त्र कसरी गतिशील भएर अघि बढ्थ्यो भन्ने हेरिएको छैन । त्यसैले बाढीले गरेको वास्तविक क्षति अनुमान गरिएभन्दा धेरै बढी छ ।

अर्थतन्त्रमा विपद्पछिको पुनर्निर्माणले आर्थिक वृद्धि बढाउँछ भन्ने गलत बुझाइ छ । भूकम्पपछि पनि यस्तै भाष्य निर्माण गरिएको थियो, तर त्यस्तो भएको पाइँदैन । विपद्अघिको अवस्थामा अर्थतन्त्रलाई फर्काउनुलाई आर्थिक वृद्धि भन्न मिल्दैन ।

क्षति हुनुभन्दा अगाडिको अवस्थामा ल्याउनको लागि ठुलो मेहनत गर्नुपर्छ । त्यो मेहनतले अर्थतन्त्रलाई पुरानै बिन्दुमा ल्याइपुर्‍याउने हो । त्यसले नयाँ वृद्धि ल्याउने होइन, तर खाल्डोबाट माथि नाप्दा प्रतिशतमा वृद्धि देखिन्छ, जुन मापनको त्रुटि हुन सक्छ ।

पहिलेकै अवस्थामा फर्किंदा त्यसले सरकारको राजस्वमा पनि खासै ठुलो योगदान दिँदैन, तर पुनर्निर्माणका क्रममा हुने पुँजी निर्माणले भने आगामी वर्षको वृद्धिलाई केही सहयोग पुग्ने देखिन्छ ।

बाढीपहिरोबाट जलविद्युत् लगायतका पूर्वाधारमा भएको अकल्पनीय क्षति भएको छ । यो अकल्पनीय क्षतिले विगतको विकासको ढाँचालाई प्रश्न गर्न ठाउँ देखिएको छ । नेपालको विकासको ढाँचाकै दोष देखिन्छ र भन्न पनि मिल्छ । नेपालको विकास मोडल अत्यन्तै खर्चिलो र गलत छ । अब सरकारले विपद् रोकथाममा बढी ध्यान दिनुपर्ने देखिन्छ ।

एउटै नदी बेसिन (खोला) मा सबै जलविद्युत् आयोजना थुपार्ने काम प्राकृतिक स्रोतको दुरुपयोग मानिन्छ । यस्तो हुनु भनेको ड्यामेज नै हो । हामीले साना–साना फोरममा जलवायु परिवर्तनका कुरा उठायौँ, तर व्यवहारमा देखाएनौँ । हाम्रो विकास निर्माणको बाटो नै गलत छैन । यसलाई सरकारले गम्भीर रूपमा समीक्षा गर्नुपर्छ ।

विगतको जस्तै पुरानै आर्थिक मोडलबाट मात्र अबको विकास सम्भव छैन । पूर्वाधार निर्माण गर्दा जलवायु परिवर्तन र सम्भावित विपद्लाई ध्यानमा राखेर नयाँ शिराबाट काम थाल्नुपर्ने भोटेकोशी बाढीले थप पाठ सिकाएको छ ।

अर्थविद् डा. रमेश पौडेल भन्छन्– बस्ती विकास र पूर्वाधारको ढाँचा नै बदल्नुपर्छ (उनकै शब्दमा)
भोटेकोशी बाढीका कारण मुलुकको अर्थतन्त्रमा १० खर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष भौतिक क्षति भएको अनुमान छ । अर्थमन्त्रीले अनुमानको आधारमा ८ खर्बको क्षति आकलन गरे पनि १० खर्बभन्दा बढीको क्षति भएको हुनसक्छ ।

सरकारले क्षतिको पूर्ण विवरण अझै सङ्कलन गर्न नसकेको छैन । बाढीले पशुपन्छी र इकोसिस्टममा परेको क्षतिको त अझै हिसाब नै गरेको छैन । सरकारले सुरुमा २ अर्ब र पछि ८ अर्बको क्षति भएको अनुमान गरेको छ । त्यसैले अझै यकिन भएको छैन । आजसम्म सरकार उद्धारमा लागिरहेको छ । त्यसैले बाढीले पुर्‍याएको क्षति हेर्दा प्रत्यक्ष रुपमा १० खर्बभन्दा माथि जाने र यसले अर्थतन्त्रलाई गम्भीर धक्का दिने अवस्था छ ।

अहिलेको क्षतिको आकलन गर्ने विधि नै एकदमै परम्परागत र र्‍यान्डम छ । कुन गाउँमा, कुन घरमा कति क्षति भयो, कति पशुपन्छी मरे भन्ने यकिन तथ्याङ्क राख्ने प्रणाली नै हामीसँग छैन । हाम्रो अनौपचारिक अर्थतन्त्रलाई औपचारिक रूपमा रूपान्तरण नगर्दासम्म वास्तविक क्षतिको हिसाब निस्किँदैन ।

नेपाल प्राकृतिक जोखिमको क्षेत्रमा छ । विपद् व्यवस्थापनका लागि फुल इन्ट्याक्टसहितको एउटा छुट्टै र स्थायी संयन्त्र बनाउन आवश्यक छ ।

विपद् पर्दामात्र सरकार तात्ने तर पूर्वतयारी नगर्ने परिपाटीले ठुलो मानवीय र भौतिक क्षति भइरहेको छ । काठमाडौँमै खोलाको बिचमा फसेका नागरिकलाई हेलिकोप्टरबाट उद्धार गर्न सक्ने अवस्था विगतका सरकारसँग पनि थिएन ।

नेपालको पूर्वाधार र बस्ती विकासको मोडलमै गम्भीर त्रुटि छ । हामीले जति विकास गर्‍यौँ, त्यति नै विनाश निम्त्याइरहेका छौँ । हाम्रा अधिकांश बस्ती क्याचमेन्ट एरिया नदी किनार वा खोचमा छन् । बुटवल, रिडी, दोलालघाट, गाईघाटदेखि तनहुँसम्मका बस्ती जोखिममा छन् । पहाडमा घर बनाउँदा पहिरोको डर, बेँसीमा जाँदा बाढी र कटानको डर छ ।

अबको पुनर्निर्माण गर्दा आगामी २०० देखि ५०० वर्षसम्मको भिजन राखेर सुरक्षित ठाउँमा मात्र बस्ती र उद्योग बसाल्नुपर्छ । कुन ठाउँमा बस्ती बसाल्ने, कहाँ उद्योग खोल्ने र कहाँ पूर्वाधार बनाउने भन्ने विषयमा दीर्घकालीन नीति आवश्यक देखिएको छ ।

बाढीपहिरो र जलवायु परिवर्तनका कारण नेपालले आफ्नो गल्तीबिना नै ठुलो मूल्य चुकाउनु परेको छ । नेपालले गल्ती नै नगरेको क्षति हामीले भोगिरहेका छौँ । यो प्रवृत्ति बढ्दै गयो भने समुद्री देशहरू डुब्ने र हाम्रा जङ्गल मासिने, खडेरी पर्ने जोखिम झन् बढ्छ । यो सन्देश अन्तर्राष्ट्रिय समुदायलाई प्रभावकारी रूपमा दिन सक्ने संयन्त्र हामीले बनाउनुपर्छ ।

बाढीपहिरोले तत्कालका लागि देशको आर्थिक वृद्धिलाई नकारात्मक अवस्थामा धकेलेको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यो विपद्ले प्रत्यक्ष असर पारेको छ । आजको दिनमा हाम्रो ग्रोथ नेगेटिभ छ, तर यो सधैँ रहँदैन । श्रीलंकामा सुनामीपछिको अवस्थाको उदाहरणलाई पनि हेर्न सक्छौँ, जहाँ सुनामीपछि अन्तर्राष्ट्रिय सहायता र प्रभावकारी पुनर्निर्माणले श्रीलंकाको आर्थिक वृद्धि राम्रो भएको थियो ।

हामीले पनि बाँकी रहेका महिनाहरूमा आर्थिक गतिविधि बढाउन सक्यौँ र दातृ निकायको सहयोग जुटाउन सक्यौँ भने अर्थतन्त्रलाई छिट्टै रिकभर गरेर सकारात्मक वृद्धिमा लैजान सक्छौँ । यद्यपि, सरकारको अहिलेको साधनस्रोत र क्षमता पर्याप्त नभएकाले यो एउटा ठुलो चुनौती छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter