हिउँदमा लोडसेडिङ हुन नदिन प्राधिकरणको अग्रिम तयारी

काठमाडौँ, भदौ ३० गते । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँद् (सुक्खा याम)मा नेपालमा लोडसेडिङ हुन नदिन आवश्यक तयारी थालेको छ ।

प्राधिकरणले भदौ १० गते भोटेकोशीमा आएको बाढीले १३ जलविद्युत् आयोजनामा ठुलो क्षति गरेसँगै सुक्खा याममा विद्युतको लोड व्यवस्थापनका लागि आवश्यक तयारी थालेको प्राधिकरणले जनाएको छ ।

बाढीले नेपालका धेरै जलविद्युत् आयोजनामा क्षति पुर्‍याएकाले आन्तरिक बिजुली उत्पादन क्षमता घटाउने र थप बिजुलीको माग बढाउने देखिएको छ । वर्षायाममा बिजुली निर्यात गर्दै आएको नेपालले सुक्खायाममा भने आन्तरिक माग धान्न भारतबाट बिजुली आयात गर्दै आएको छ ।

प्राधिकरणका अनुसार त्यही अनुरुप हिउँदको विद्युत् माग धान्न भारतले ६५४ मेगावाट आयातको स्वीकृति दिएको छ । भारतले आगामी पुस १६ सम्म नेपाललाई दैनिक १८ घण्टा बिजुली आयात गर्न दिने भएको छ ।

भारतको ऊर्जा मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई २८ भदौदेखि आगामी १६ पुससम्म बिजुली आयात अनुमति नवीकरण गरिएको उल्लेख छ । भारतले नेपालमा पुस १६ सम्म राति १२ बजेदेखि साँझ ६ बजेसम्म आयात गर्न दिने भएको छ ।

‘भारतको स्वीकृतिले नेपालको आवश्यक बिजुलीको माग परिपूर्ति गर्न मद्दत गर्नेछ । नेपाल र भारतबिचको ऊर्जा सहकार्यलाई थप सदृढ बनाउनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालसँग ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्य सदृढ गर्नसमेत भारत प्रतिबद्ध छ ।’

भारतले पछिल्लो पटक चैत १८ देखि वैशाख २ गतेसम्म २४ घण्टा, वैशाख ३ देखि असार १६ सम्म १६ घण्टा र असार १७ देखि भदौ १५ सम्म २४ घण्टा बिजुली दिने गरी स्वीकृति नवीकरण गरेको थियो ।

भारतले ४०० केभीको ढल्केबर–मुजफ्फरपुरबाट ६ सय मेगावाट र १३२ केभीको टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट बिजुली नेपाललाई आयात गर्न दिएको प्राधिकरणले जनाएको छ । आगामी जनवरी २०२७ देखि गरिने आयातका लागि भने डिसेम्बर २०२६ मा समीक्षा गरिने विज्ञप्तिमा उल्लेख छ ।

विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठले प्राधिकरणले आगामी पुस १६ गतेसम्म दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न सक्ने गरी व्यवस्थापन गरिरहेको बताए । उनले बाढीको कारण जलविद्युतमा ठुलो क्षति भएकाले त्यसलाई मध्यनजर गरी हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन समयमै भारतसँग समन्वय गरेर आयातको स्वीकृति लिएको स्वीकार गरे ।

हिउँद् अर्थात् सुक्खा याममा नेपालका नदी प्रवाहमा आधारित (रन अफ रिभर) जलविद्युत् आयोजनाहरूको पानीको बहाव घट्दा आन्तरिक उत्पादन खुम्चिने गरेको छ । यस्तो अवस्थामा आन्तरिक माग धान्न प्राधिकरणले भारतबाट विद्युत् आयात गर्नुपर्ने हुन्छ । श्रेष्ठका अनुसार अन्तिम समयमा समस्या नहोस् भनेर प्राधिकरणले एक/दुई महिना अगाडि नै भारतसँग विद्युत् आयातको स्वीकृति लिएको हो ।

‘हिउँदमा आन्तरिक उत्पादन घट्दा माग धान्न हामीले ६५४ मेगावाट विद्युत् आयात गर्ने पूर्वस्वीकृति लिइसकेका छौँ,’ कामु कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘जसमा ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट ६०० मेगावाट र टनकपुरबाट ५४ मेगावाट विद्युत् आयात गर्न स्वीकृति प्राप्त भइसकेको छ । हामी आवश्यकता अनुसार यो विद्युत् ल्याउने छौँ ।’

श्रेष्ठका अनुसार प्राधिकरणले अतिरिक्त सुक्खा यामको विद्युत् व्यवस्थापनलाई अझै सहज र सुरक्षित बनाउन प्राधिकरणले थप १५० मेगावाट विद्युत् द्विपक्षीय राउन्ड द क्लक (आरटीसी) मोडमा आयात गर्नका लागि समेत भारतमा प्रस्ताव पठाइसकेको छ । ‘१५० मेगावाटको उक्त प्रस्तावको पनि स्वीकृति आएपछि हामीलाई सुक्खा यामको विद्युत् व्यवस्थापन गर्न निकै सहज हुनेछ,’ उनले भने ।

गत आर्थिक वर्ष नेपालले सुक्खायाममा भारतबाट १० अर्ब २२ करोड ७४ लाख रुपैयाँको बिजुली आयात गरेको थियो । यस वर्ष बिजुली आयात बढ्ने अवस्था रहेको प्राधिकरणले जनाएको छ ।

बाढीपछि भारतमा कति भइरहेको छ विद्युत् निर्यात ?

कार्यकारी निर्देशक श्रेष्ठले भोटेकोशी बाढीले १३ आयोजनामा क्षति पुर्‍याए पनि भारतमा निरन्तर विद्युत् निर्यात भइरहेको बताए । उनले भारतमा निर्यात हुने विद्युत् नरोकिएको भन्दै निर्यातलाई प्राधिकरणले निरन्तरता दिएको उल्लेख गरे ।

श्रेष्ठका अनुसार आगामी पुस १६ गतेसम्म नेपालले निरन्तर बिजुली निर्यात गर्नेछ । आन्तरिक लोड व्यवस्थापन गरेर दैनिक ५०० देखि ८०० मेगावाटसम्म विद्युत् भारत निर्यात भइरहेको उनले जानकारी दिए ।

‘हामीले हाम्रो आन्तरिक लोड व्यवस्थापन गरेर बचेको विद्युत् निर्यात गरिरहेका छौँ । अहिले इन्डियन इनर्जी एक्सचेन्जको बिडिङ र प्रसारण लाइनको अवस्था हेरेर दैनिक ५०० देखि ८०० मेगावाटसम्म पनि निर्यात भइरहेको छ,’ कामु कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘आज बिहानमात्रै पनि ८०० मेगावाटसम्म बिजुली भारत गएको थियो, दिउँसोको समयमा केही कम हुन्छ ।’

हिउँदमा लोडसेडिङको जोखिम कति ?

भोटेकोशीमा आएको बाढीका कारण ४३१.१ मेगावाट बिजुली अवरुद्ध बनेको छ । प्राधिकरणका अनुसार पछिल्लो समय विद्युत् उत्पादन करिव ४ हजार १२० मेगावाट पुगेको थियो, तर बाढीले जलविद्युत् आयोजनामा पारेको प्रभावपछि ३ हजार ५ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ ।

प्राधिकरणका अनुसार कुल उत्पादित विद्युतमा करिब दुई हजार मेगावाट बिजुली खपत हुने गरेको छ । सुक्खायाममा खोलाको बहाव घट्दा वर्षायामको तुलनामा क्षमताको करिब २५ प्रतिशतमात्रै विद्युत् उत्पादन हुने गरेको छ ।

बाढीले क्षति पुगेका जलविद्युत् आयोजनाको २८१.१ मेगावाट, सोलार आयोजनाको २५ र सबस्टेसन लगायत प्रसारण प्रणालीमा क्षति पुगेका आयोजनाको १५० गरी कुल ४३१.१ मेगावाट बिजुली राष्ट्रिय प्रणाली बाहिर रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले अहिले बर्खाको समय भएकाले नदीहरूमा पानीको बहाव उच्च रहेको र अन्य क्षेत्रका आयोजनाहरू पूर्ण क्षमतामा चलिरहेकाले कुनै समस्या नहुने बताएको छ ।

यता पूर्वऊर्जामन्त्री तथा विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको सम्भावना नरहेको प्रस्ट पारे । उनले भने, ‘सबै नेपालीलाई के आश्वस्त पार्न चाहन्छु भने अब नेपालमा फेरि लोडसेडिङ हुने अवस्था छैन । जब हामीले २०७३ सालमा लोडसेडिङ अन्त्य गरेका थियौँ, तब देशभरको कुल क्षमता मात्र ८०० मेगावाट थियो र हिउँदमा ३०० मेगावाट मात्र उत्पादन हुन्थ्यो । अहिले हामीसँग ४५ सय मेगावाटभन्दा बढी क्षमता पुगिसकेको छ ।’

उनले बाढीले क्षति पुर्‍याएर ५०० मेगावाट कम हुँदा पनि नेपालसँग पर्याप्त विद्युत् उत्पादन रहेको बताए । उनले हिउँदमा केही कमी भए पनि भारतबाट आयात गरेर व्यवस्थापन गर्न सक्ने अवस्था रहेको उल्लेख गरे ।

घिसिङले भने, ‘हाम्रो पिक डिमान्ड २५ सय मेगावाट जति हो । त्यसैले २५५ मेगावाट घट्दैमा देशव्यापी लोडसेडिङ हुँदैन । अब हिउँदमा बिजुली अभाव भएर लोडसेडिङ हुने जमाना गइसक्यो । हाम्रो निजी क्षेत्रले धेरै बिजुली उत्पादन गरिसकेको छ ।’

आर्थिक वर्ष २०८२/०८३ मा राष्ट्रिय विद्युत् प्रणालीमा ५२९ मेगावाट बिजुली थपिएको छ । यसमा १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजना समेत पर्छ । त्यस्तै, ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएर उत्पादन परीक्षण भइरहेको छ । उत्पादनसँगै विद्युत् प्रसारणतर्फ पनि पूर्वाधार थपिएका छन् ।

कोहलपुर–सुर्खेत प्रसारण लाइन, खिम्ती–बाह्रबिसे ४०० केभी प्रसारण लाइन र मार्किचोक–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएपछि उत्पादित बिजुली उपभोग गर्न सहज भएको छ । बाढीले ४३१ मेगावाट बिजुली कम भए पनि गत वर्षको तुलनामा नयाँ उत्पादन र प्रसारण पूर्वाधार थपिएकाले हिउँदमा समस्या नहुने घिसिङको भनाइ छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter