म प्रष्ट भन्छु- यो सुरुवात हो, अन्त्य होइनः प्रधानमन्त्री शाह (सम्बोधनको पूर्णपाठ)

काठमाडौँ, असोज ३ गते । प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितिले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सहिदका रगतले लेखिएको संविधान, हामी कामले पूरा गर्छौं भन्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी पूर्ण प्रतिबद्ध छौँ, म यो बाचा आज फेरि दोहोर्‍याउँछु । संविधान जारी भएको दिन हरेक वर्ष आउँछ तर संविधान पूरा हुने दिन हामीले आफैँ ल्याउनुपर्छ, हरेक इमानदार निर्णयबाट, हरेक पारदर्शी नियुक्तिबाट, नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट ।”

जनताले सुशासन, विकास, समृद्धि र सामाजिक न्याय मागेका बताउँदै उहाँले सरकारको हरेक कदम त्यही आकाङ्क्षातर्फ केन्द्रित रहेको र रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी राज्य हाम्रा लागि सर्तहरू नभइ हाम्रो राष्ट्रिय जीवनको आधार भएका बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस संविधानले नेपाली जनतासँग एउटा वाचा गरेको छ, विविधताबिचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य, विकास, समृद्धि एवं सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण हो । एउटा कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन । संविधान जति राम्रो भए पनि, त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो कागजको खोस्टो बन्छ ।”

प्रधानमन्त्री शाहले भन्नुभयो, “यो सुरुवात हो, अन्त्य होइन । भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ । तर त्यो जरो उखेल्ने हातहरू अब झन् बलिया छन्, झन् धेरै छन् । विकासका लागि सुशासन अनिवार्य पूर्वशर्त हो भन्ने कुरामा सरकार सचेत छ ।”

वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रिया अवलम्बन गरेको उहाँको भनाइ थियो ।

“सुशासन नारा होइन, काम हो, हामी काम गरिरहेका छौ । सङ्घ, प्रदेश र स्थानीय तहबिच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न सङ्घीय सरकार प्रतिबद्ध छ” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री शाहले आफूहरु पुरानै बाटो मात्र नहिँड्ने उल्लेख गर्दै कृत्रिम बुद्धिमता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर, नवप्रवर्तन र नवउद्यमलाई अगाडि राखेर, ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरिने बताउनुभयो । डिजिटल सुशासन कार्ययोजनाअनुसारको राष्ट्रिय डिजिटल पूर्वाधार त्यसैको जग भएको उल्लेख गर्दै प्रधानमन्त्रीले युवाले सडकमा मागेको सुशासन प्रविधिबाट पनि सुनिश्चित गरिने प्रतिबद्धता जनाउनुभयो ।

प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट भएको क्षति हाम्रा लागि अकल्पनीय र अपुरणीय भएको आजको यस विशेष घडीमा विपद् व्यवस्थापन एवं उद्धारमा सहयोग गरेका सबै मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय एवं संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी, आम नागरिक तथा देशवासीप्रति आभार प्रकट गर्नुभयो ।

“धन्यवाद मात्र पर्याप्त छैन । नेपाल विश्वका विपद् उच्च जोखिम भएका मुलुकहरूको सूचीमा छ । यो तथ्यलाई हामी विपद् आइसकेपछि होइन, आउनुअघि नै सामना गर्छौँ। जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यमा विशेष जोड दिइनेछ । विपद्को पूर्वसूचना प्रणाली सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइनेछ” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री शाहले नेपालको राजनीतिक व्यवस्थाको परिवर्तन र सुशासनको मागगरी गरिएका आन्दोलनमा आफ्नो ज्यान आहुती गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरु तथा ऐतिहासिक जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका जेनजी सुशासन योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो । साथै उहाँले भोटेकोशी बाढीमा जीवन गुमाएका सबै स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवदेना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

सम्बोधनको पूर्णपाठ

सम्माननीय राष्ट्रपतिज्यू,
सम्माननीय उपराष्ट्रपतिज्यू,
सम्माननीय प्रधान न्यायाधीशज्यू,
सम्माननीय सभामुखज्यू,
राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू,
माननीय मन्त्रीहरू,
माननीयहरू,
स्थानीय तहका प्रमुखहरू,
उपस्थित विशिष्ट व्यक्तित्व,
कुटनीतिक नियोगका प्रमुखहरू,
स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ।

नेपालको राजनीतिक व्यवस्थाको परिवर्तन र सुशासनको माग गरी गरिएका आन्दोलनमा आफ्‌नो ज्यान आहुती गर्ने सम्पूर्ण ज्ञात -अज्ञात शहीदहरू तथा ऐतिहासिक जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका जेनजी सुशासन‍ योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । साथै, हालै आएको रसुवा -भोटेकोशी बाढीमा परी मृत्यु भएका सबै स्वदेशी तथा विदेशी नागरिकप्रति समेत श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवदेना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

यो संविधानले नेपाली जनतासँग एउटा वाचा गरेको छ – विविधताबीचको एकता , सबै प्रकारका विभेद र असमानताको अन्त्य र विकास, समृद्धि एवम् सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण। प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र , मानव अधिकार र कानुनी राज्य – यी हाम्रा लागि सर्तहरू होइनन्, यी हाम्रो राष्ट्रिय जीवनको आधार हुन्। यो संविधानको अक्षर र भावना, दुवैप्रति यो सरकार पूर्णरूपमा प्रतिबद्ध छ।

तर एउटा कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन। संविधान जति राम्रो भए पनि, त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो कागजको खोस्टो बन्छ।

म प्रस्ट भन्छु: यो सुरुवात हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ। तर त्यो जरो उखेल्ने हातहरू अब झन् बलिया छन्, झन् धेरै छन्। विकासको लागि सुशासन अनिवार्य पूर्वसर्त हो भन्ने कुरामा सरकार सचेत छ। वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रिया अवलम्बन गरेको छ। सुशासन नारा होइन, काम हो। र हामी काम गरिरहेका छौ। संघ, प्रदेश र स्थानीय तहबिच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न संघीय सरकार प्रतिबद्ध छ।

र हामी पुरानै बाटो मात्र हिँड्ने छैनौँ। कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर , नवप्रवर्तन र स्टार्टअपलाई अगाडि राखेर हामी ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्दैछौँ। डिजिटल सुशासन ब्लुप्रिन्टअनुसारको राष्ट्रिय डिजिटल पूर्वाधार त्यसैको जग हो। युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट पनि सुनिश्चित गर्छौँ।

हालैको रसुवा -भोटेकोशी बाढीले पुर्याएको क्षति हाम्रा लागि अकल्पनीय र अपुरणीय रह्‍यो । आजको यस विशेष घडीमा विपद् उद्धार कार्यमा सहयोग गर्ने तथा राहत कार्यमा योगदान पुर्‍याउने सबै मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय समुदाय एवम् संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारीहरू, आम नागरिक तथा देशवासीहरूप्रति विशेष धन्यवाद र आभार प्रकट गर्दछु। तर धन्यवाद मात्र पर्याप्त छैन।

नेपाल विश्वका उच्च विपद्‌ जोखिम भएका मुलुकहरूको सूचीमा छ। यो तथ्यलाई हामी विपद् आइसकेपछि होइन , आउनुअघि नै सामना गर्छौँ। जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यमा विशेष जोड दिइनेछ। विपद्को पूर्वसूचना प्रणाली सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइनेछ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
संविधान जारी भएको दिन हरेक वर्ष आउँछ। तर संविधान पूरा हुने दिन हामीले आफैँ ल्याउनुपर्छ – हरेक इमानदार निर्णयबाट, हरेक पारदर्शी नियुक्तिबाट, नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट।

जनताले सुशासन मागेका छन्, विकास मागेका छन्, समृद्धि र सामाजिक न्याय मागेका छन्। यो सरकारको हरेक कदम त्यही आकांक्षातर्फ केन्द्रित छ र रहनेछ। यो संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी पूर्ण प्रतिबद्ध छौँ – म यो वाचा आज फेरि दोहोर्‍याउँछु।

शहीदहरूको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौँ।
सम्पूर्ण नेपाली जनतामा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को हार्दिक शुभकामना।
धन्यवाद

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter