बाँझो जमिनमा केरा खेतीको बहार

गुल्मी, असोज ६ गते । वर्षौंदेखि बाँझिएको गुल्मी रेसुङ्गा नगरपालिका–४ सेउघा थुक्का टोलको जमिन पुन: हराभरा हुन थालेको छ । मानिसहरू गाउँबाट शहरतर्फ बसाइँ सर्न थालेपछि बाँझिदैै गएको जमिनमा अहिले स्थानीय जातका केराका बोट लहलह देखिन थालेका छन् ।
बाँझो जमिनलाई सदुपयोग गर्दै स्थानीय किसानले थालेको केराखेतीले कृषि पेसाप्रति आकर्षण बढाएको छ । सेउघाको थुक्का टोलमा करिब ३२ वर्षदेखि बाँझिएको जमिनमा अहिले केराका बोटले हरियाली छाएको छ ।
गत वर्ष भगवती कृषि फर्मले करिब २० रोपनी बाँझो जग्गा भाडामा लिएर व्यावसायिक रूपमा केराखेती सुरु गरेपछि लामो समयदेखि उपयोगविहीन रहेको जमिनले नयाँ स्वरूप पाएको हो । भगवती कृषि फर्मका सञ्चालक झवि पाण्डेका अनुसार केराखेती सुरु गर्दा पहिलो चरणमा स्थानीय जातका करिब ५०० बोट लगाइएको थियो ।
त्यसबाट उत्साहजनक सम्भावना देखिएपछि अहिले बोटको संख्या थपेर केरा खेती विस्तार गरिएको छ । गत वर्षको फागुनमा रोपिएका केराका बोटले अहिले उत्पादन दिन थालेका छन् ।
लामो समय बाँझिएको जमिनमा लगाइएको केराले छोटो समयमै उत्पादन दिन थालेपछि पाण्डे उत्साहित छन् । उनका लागि यो केवल एउटा व्यावसायिक खेती मात्र होइन, गाउँमा बाँझिँदै गएको जमिनलाई पुन: उत्पादनसँग जोड्ने प्रयास पनि हो ।
पाण्डेले गाउँमा बाँझो रहेको जमिनलाई खेतीयोग्य बनाउँदै अन्य किसानलाई पनि कृषि पेसामा आकर्षित गर्ने उद्देश्यले केरा खेती विस्तार गरेको बताए ।
चार किसानबाट सुरु भएको व्यावसायिक प्रयास
सेउघामा स्थानीय जातको केरा घरघरमा उत्पादन हुँदै आए पनि ठूलो परिमाणमा व्यावसायिक उत्पादन भने पहिलो पटक विस्तार हुन थालेको हो । पाण्डेसँगै स्थानीय गोपाल पन्थी, सुमन पन्थी र हिमलाल पन्थीले पनि केराखेती गर्दै आएका छन् ।
गोपालले करिब ४०० बोट, सुमनले ४०० बोट र हिमलालले २५० बोट केरा लगाएका छन् ।
यी चार जनाबाट प्रभावित भई अहिले गाउँका अन्य किसानले पनि केरा लगाउन थालेका छन् ।
केराखेतीबाट करिब १५० घरपरिवारले आम्दानी लिन थालेका छन् । एकै पटक ठूलो क्षेत्रफलमा खेती गर्न नसक्ने परिवारले पनि आफ्नो घरबारी र उपलब्ध जमिनमा थोरै–थोरै बोट लगाएर उत्पादन गर्न थालेका छन् ।
यसले गाउँमा केरा खेतीलाई क्रमश: आम्दानीको स्रोतका रूपमा स्थापित गर्दै लगेको किसान गोपाल पन्थीले बताए । गाउँमा नगदे बालीका रूपमा छिटो उत्पादन दिने भएकाले यसतर्फ धेरैको आकर्षण बन्दै गएको पन्थीको भनाइ छ ।
सडक छेउमै बिक्री, घरखर्चमा सहयोग
सेउघामा उत्पादन भएको स्थानीय जातको केरा अहिले तम्घास–छल्दी सडकअन्तर्गत रैदी क्षेत्रमा दैनिक बिक्रीका लागि राख्ने गरिएको छ । आफूले उत्पादन गरेको केरा सडक छेउमै बिक्री भएपछि किसानलाई बजारसम्म पुर्याउने झन्झट कम भएको छ ।
स्थानीय स्तरबाट बोटमै केरा किनेर टेकलाल पन्थी, केशरबहादुर कुँवर, सुमन पन्थीले सडक छेउमा राखेर बिक्री गर्ने गरेका छन् ।
घरमै उत्पादन गरेको केरा बिक्री गरेर प्राप्त हुने आम्दानीले दैनिक घरखर्च चलाउन सहयोग पुगेको किसानहरूको भनाइ छ ।
स्थानीय जातको केराको माग बजारमा राम्रो रहेको किसान टेकलाल पन्थीले बताए । स्वादिलो हुने भएकाले उपभोक्ताले स्थानीय जातको केरा रुचाउने र बजारमा मूल्यसमेत राम्रो पाउने गरेको उनको भनाइ छ ।
तरकारीबाट केरासम्म
भगवती कृषि फर्मका सञ्चालक झवि पाण्डेले कृषि क्षेत्रमा काम गर्न थालेको करिब ६ वर्ष भएको छ । उनले पाँच वर्षअघि फर्म दर्ता गरेर तरकारी खेती गर्दै आएका छन् ।
तम्घासमा खाद्यान्नको थोक बिक्रीको व्यवसायसमेत गर्दै आएका पाण्डेले व्यवसायबाट बचेको समयलाई सदुपयोग गर्दै आफ्नै गाउँमा कृषि कर्मलाई अगाडि बढाउँदै आएका छन् । मौसमी तथा बेमौसमी तरकारी उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि उनले पछिल्लो समय केराखेतीलाई पनि विस्तार गरेका छन् ।
तरकारी खेतीसँगै केराखेती विस्तार गर्ने उनको निर्णयले फर्मको कृषि गतिविधि थप फराकिलो बनेको छ । कृषिमा सम्भावना देखेपछि बाँझो जमिन भाडामा लिएर खेती विस्तार गरेको उनले बताए ।
पाण्डेले सञ्चालन गरेको कृषि फर्ममा स्थानीय केही व्यक्तिले रोजगारीसमेत पाएका छन् । आफ्नै गाउँमा केही गर्न सकियो भने राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्ने उद्देश्यले कृषि क्षेत्रमा निरन्तर लागिरहेको पाण्डेको भनाइ छ ।
बाँझो जमिनलाई उत्पादनसँग जोड्ने प्रयास
पछिल्लो समय गुल्मीका ग्रामीण क्षेत्रमा बसाइँसराइ बढ्दै जाँदा खेतीयोग्य जमिन बाँझिँदै जाने क्रम बढेको छ । गाउँमा जनशक्ति कम हुँदै जाँदा खेती गर्ने मानिसको अभाव, रोजगारीका लागि युवाको बाहिरिने क्रम र परम्परागत कृषि प्रणालीप्रतिको घट्दो आकर्षणका कारण धेरै जमिन उपयोगविहीन बन्दै गएका छन् ।
यस्तो अवस्थामा सेउघाका किसानले बाँझो जमिन भाडामा लिएर केराखेती गर्नु कृषि क्षेत्रका लागि उदाहरणीय प्रयास बनेको छ । लामो समयदेखि प्रयोगविहीन रहेको जमिनमा हरियाली फर्कनुका साथै स्थानीय स्तरमै उत्पादन र आम्दानीको सम्भावना देखिन थालेको छ ।
एकातिर बाँझो जमिन बढिरहेको अवस्था र अर्कोतर्फ बजारमा बाहिरी जिल्लाबाट ठूलो परिमाणमा केरा भित्रिने अवस्था रहेको गुल्मीमा स्थानीय उत्पादन बढाउन सके किसानले राम्रो आम्दानी गर्न सक्ने सम्भावना देखिन्छ ।
अहिले सेउघामा वार्षिक १५ लाख रुपैयाँ बढीको केरा उत्पादन गर्ने लक्ष्यका साथ यहाँका किसान लागिपरेका छन् । बजारमा स्थानीय जातको केराको माग राम्रो रहेको अवस्थामा जिल्लाभित्रै यसको उत्पादन विस्तार गर्न सके बाहिरबाट आउने केरालाई केही हदसम्म प्रतिस्थापन गर्न सकिने सम्भावना धेरै रहेको किसान गोपाल पन्थीले बताए ।