दुई महिनामा पौने ५ खर्बको वैदेशिक व्यापार, आयात र निर्यात दुवैमा उछाल

काठमाडौँ, असोज ७ गते । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब १० करोड ६५ लाख रुपैयाँ पुगेको छ।
बुधबार भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार व्यापार ३५.६४ प्रतिशतले बढेर सो बराबर पुगेको हो। गत वर्ष यही अवधिमा ३ खर्ब ५२ अर्बको व्यापार भएको थियो ।
यसमध्ये आयात र निर्यात दुवै बढेका छन् ।
पहिलो दुई महिनामा नेपालले ४ खर्ब १ अर्ब रुपैयाँ बराबरको विदेशी सामान भित्र्याएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.५८ प्रतिशतले बढी हो। गत वर्ष ३ खर्ब ५ अर्ब रुपैयाँको आयात भएको थियो ।
त्यस्तै, यस अवधिको निर्यातमा पनि उच्च वृद्धि भएको छ । तथ्याङ्क अनुसार यस वर्षको पहिलो दुई महिनामा नेपालले ७६ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ।
जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६१.८६ प्रतिशतले बढी हो। गत वर्ष २ महिनामा ४७ अर्ब ३१ करोड ७६ लाख रुपैयाँको निर्यात भएको थियो ।
निर्यातमा आएको यस उछालले कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि बढेको छ। अघिल्लो वर्ष कुल व्यापारमा निर्यातको योगदान १३.४२ प्रतिशत मात्र रहेकोमा यस वर्ष सुधार हुँदै १६.०२ प्रतिशत पुगेको छ।
वैदेशिक व्यापारमा आयातको हिस्सा भने सामान्य घटेको छ। अघिल्लो वर्ष कुल व्यापारमा ८६.५८ प्रतिशत हिस्सा आयातको रहेकोमा यस वर्ष घटेर ८३.९८ प्रतिशतमा सीमित भएको छ।
निर्यातको तुलनामा आयातको आकार निकै ठुलो हुँदा व्यापार घाटा भने फराकिलो नै बनेको छ।
दुई महिनाको अवधिमा नेपालको कुल व्यापार घाटा २६.०२ प्रतिशतले बढेर ३ खर्ब २४ अर्ब ९३ करोड १४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २ खर्ब ५७ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ रहेको थियो।
व्यापार घाटा बढे पनि आयात निर्यात अनुपात १८.७१ प्रतिशतले सकारात्मक सुधार आएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले १ रुपैयाँको सामान निर्यात गर्दा ६ रुपैयाँ ४५ पैसा बराबरको सामान आयात गर्ने गरेको थियो। तर, यस वर्ष उक्त अनुपात घटेर ५.२४ मा झरेको छ।