राति पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना; कृष्णभिर क्षेत्रमा आज रातिदेखि सवारी सञ्चालनमा रोक; सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा

काठमाडौँ, असोज ७ गते । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

महाशाखाका अनुसार बिहीबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा साथै मधेस प्रदेशको एक, दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

हाल देशभर कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ । यी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको एक, दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

शुक्रबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र गण्डकी प्रदेशको एक, दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । मधेस प्रदेशको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

कृष्णभिर क्षेत्रमा आज रातिदेखि सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बिहान केही स्थानमा पहिरो खसेर एकतर्फी सञ्चालन भएको धादिङको कृष्णभिर सडकखण्ड अहिले दुईतर्फी रूपमा सञ्चालनमा आएको छ । बिहान खसेको पहिरो हटाएपछि सवारी आवत-जावत सामान्य बने पनि थप वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज बेलुका ८: ०० बजेदेखि भोलि बिहान ५: ०० बजेसम्म सो सडक खण्डमा सवारी सञ्चालन बन्द गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार अहिले कृष्णभिरमा दुवैतर्फ सवारीसाधन सञ्चालन भइरहेको छ । सडकको अवस्था निगरानी गर्न तथा वर्षाका कारण आउन सक्ने सम्भावित अवरोध तत्काल व्यवस्थापन गर्न प्राविधिक टोली, होल्डिङ सेन्टर, जेसीबीलगायतका उपकरण तथा प्रहरी टोली तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार भारी वर्षाका कारण सडकमा पुनः पहिरो खस्न सक्ने तथा सडकको अवस्था जोखिमपूर्ण हुन सक्ने भएकाले रातिको समयमा सवारी सञ्चालन रोक्ने निर्णय गरिएको हो । बिहीबार बेलुका ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म सडक बन्द गरेर सो अवधिमा सडकको अवस्था निरीक्षण तथा आवश्यक व्यवस्थापनको काम गरिने जनाइएको छ ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीका अनुसार बिहान कृष्णभिरलगायत केही स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्ग केही समय एकतर्फी भएको थियो । पहिरो पन्छाएपछि बिहानैदेखि सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ ।

डिएसपी कार्कीका अनुसार अहिले कृष्णभिरमा सवारीसाधनको आवत-जावत भइरहेको छ । यद्यपि, वर्षा निरन्तर भइरहेकाले राजमार्गको विभिन्न स्थानमा पहिरो तथा लेदो खस्न सक्ने सम्भावना रहेकाले सुरक्षा निकायले सडकको अवस्था निरन्तर निगरानी गरिरहेको जनाएको छ ।

यसअघि भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोका कारण कृष्णभिरमा सडकको केही भाग क्षतिग्रस्त भएपछि पृथ्वी राजमार्गको उक्त खण्ड लामो समय अवरुद्ध भएको थियो । सडक भासिएपछि नयाँ ट्रयाक निर्माण गरी असोज १ गतेदेखि सवारी साधन दुईतर्फी सञ्चालनमा आएको थियो ।

डिएसपी कार्कीले यात्राको क्रममा सडकको अवस्थालाई ध्यानमा राखी सुरक्षित यात्रा गर्न आग्रह गर्नुभएको छ । उहाँका अनुसार आवश्यक सहयोग, समन्वय तथा सहजीकरणका लागि जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र (डीईओसी) को १२३४ वा ०१०–५२१४६४, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बलको १११४ मा सम्पर्क गर्न सकिनेछ ।

भारी वर्षाका कारण पृथ्वी राजमार्गका अन्य स्थानमा समेत पहिरो तथा सडक अवरोधको जोखिम रहेकाले सवारी चालकलाई सडकको तत्कालीन अवस्था बुझेर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । विशेषगरी रातिको समयमा सडकको दृश्यता कम हुने तथा वर्षाका कारण पहिरोको जोखिम बढ्न सक्ने भएकाले आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी आवत–जावत रोक्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो ।

निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा

मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि चार दिनसम्म निरन्तर वर्षा हुने पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानलगायतका सम्भावित विपद्को प्रतिकार्यका लागि देशभरको सुरक्षा संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखिएको छ ।

सम्भावित विपद् भएलगत्तै खोज तथा उद्धार, राहत तथा घाइतेको उपचारमा परिचालन गर्न नेपाली सेनाले हवाई साधनसहित विशेष टोलीलाई चार स्थानमा तयारी अवस्थामा राखेको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले जोखिमयुक्त क्षेत्रमा ठूलो सङ्ख्यामा जनशक्ति र उद्धार सामग्री परिचालन गरेका छन् ।

सुरक्षा निकायले देशभर ६४९ स्थानलाई सम्भावित जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरी पूर्वसचेतना, निगरानी र प्रतिकार्यको तयारी अघि बढाएका छन् । बढी वर्षा हुने आकलन गरिएको गण्डकी र लुम्बिनी प्रदेशमा सुरक्षा संयन्त्रलाई थप सक्रिय बनाइएको छ । नदी तटीय क्षेत्र, पहिरोको जोखिम रहेका बस्ती तथा विगतमा डुबान प्रभावित क्षेत्रलाई विशेष निगरानीमा राखिएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले काठमाडौँ, सुर्खेत, धनगढी र रुपन्देहीलाई केन्द्र बनाएर हवाई साधनसहितका विशेष उद्धार तथा विपद् प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

काठमाडौँमा चारवटा हेलिकोप्टरसहितको उद्धार टोलीलाई तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ । सुर्खेतमा एक हेलिकोप्टर र एक स्काई ट्रक, धनगढीमा अगुष्टा हेलिकोप्टरसहितको आपत्कालीन उद्धार टोली तथा रुपन्देहीको बुटवलमा आवश्यक साधनसहितको विपद् प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ ।

“सम्भावित चक्रवात र त्यसबाट उत्पन्न हुनसक्ने विपद्लाई मध्यनजर गरी चार स्थानमा हवाई साधनसहितको टोली तयारी अवस्थामा राखेका छौँ,” प्रवक्ता बस्नेतले भन्नुभयो, “सबै पृतना र गणलाई पनि उच्च सतर्क अवस्थामा राखिएको छ ।”

सेनाले देशभरका आठवटा पृतना मुख्यालय तथा जिल्लास्थित सबै गुल्म र गणलाई आवश्यक जनशक्ति, उपकरण र साधनसहित तत्काल प्रतिकार्यमा खटिन सक्ने अवस्थामा राखेको छ । सम्भावित विपद्मा घाइते तथा बिरामीको चाप बढ्नसक्ने अवस्थालाई ध्यानमा राख्दै काठमाडौँस्थित वीरेन्द्र सैनिक अस्पताल, छाउनी तथा सातै प्रदेशमा रहेका सैनिक फिल्ड अस्पतालमा आकस्मिक स्वास्थ्य टोली र आवश्यक स्वास्थ्य सेवा तयारी अवस्थामा राखिएको छ ।

यसैगरी सशस्त्र प्रहरी बलले जोखिमयुक्त क्षेत्रमा ११ हजार ७६३ फौज परिचालन गरेको छ । उद्धारका लागि ८२ वटा -याफ्ट बोट र ५३ वटा मोटर बोट तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायम महानिरीक्षक (डिआईजी) नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो । तालिमप्राप्त गोताखोर, मेडिकल टोली र ड्रोन टोलीसमेत जोखिमयुक्त क्षेत्रमा परिचालन गरिएको छ ।

सशस्त्र प्रहरीले नदी तटीय क्षेत्रमा पूर्वसूचना प्रवाह गर्नुका साथै स्थानीयलाई सम्भावित जोखिमबारे सचेत गराइरहेको छ । नदी किनारमा दाउरा सङ्कलनलगायतका काममा पुग्ने स्थानीयलाई समेत जोखिमबारे जानकारी गराउने कार्य भइरहेको छ ।

नेपाल प्रहरीले पनि विपद् प्रतिकार्य तथा तालिम केन्द्रबाट विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त सुरक्षाकर्मीलाई थप मद्दतका रूपमा जोखिमयुक्त क्षेत्रमा परिचालन गरेको छ । प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक (डिआईजी) अविनारायण काफ्लेले बागमती प्रदेशका रोशी, सुनकोशी, त्रिशूली र इन्द्रावती तथा मधेस प्रदेशका कमला, चारनाथ, बलान र बिहुल खोलाका तटीय क्षेत्रमा माइकिङ तथा पूर्वसचेतना अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार मधेस प्रदेशमा ७४ र काठमाडौँ उपत्यकामा ५२ स्थानलाई जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरी सोहीअनुसार पूर्वतयारी गरिएको छ ।

सुरक्षा निकायले मौसम सक्रिय रहने अवधिभर जोखिमयुक्त क्षेत्रमा निरन्तर निगरानी राख्ने जनाएको छ । स्थानीय तह तथा जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी आवश्यकताका आधारमा थप जनशक्ति, उद्धार सामग्री तथा हवाई साधन परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।

सम्भावित विपद्को प्रारम्भिक सूचना प्राप्त हुनासाथ सम्बन्धित स्थानमा तत्काल प्रतिकार्य टोली पठाउने गरी सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter