उपाध्यक्षदेखि वरिष्ठ नेतासम्मको यात्रा लुम्बिनीसँग जोडियो : विद्यादेवी भण्डारी

काठमाडौँ, असोज १३ गते । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले लुम्बिनी क्षेत्रमा उद्योग व्यवसाय विस्तारका लागि औद्योगिक क्षेत्रमा रहेका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने बताएकी छन्।
रूपन्देहीको बुटवलमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले उद्योगी व्यवसायीहरूसँग सरसल्लाह गरी यस क्षेत्रमा रहेका समस्या समाधानतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएकी हुन्।
भण्डारीले लुम्बिनी क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र सडक पूर्वाधार निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन्। आफूले पहिलो पटक पार्टी उपाध्यक्षको जिम्मेवारी समेत लुम्बिनीमै पाएको स्मरण गर्दै पुनः वरिष्ठ नेताका रूपमा सोही क्षेत्रबाट सक्रिय हुन पाउँदा उनले खुशी व्यक्त गरिन्।
एमालेले आफूलाई वरिष्ठ नेतामा मनोनयन गरेकोमा प्रसन्नता प्रकट गर्दै औपचारिक रूपमा जिम्मेवारी निर्वाह गर्ने प्रक्रिया भने टुङ्गो लागिनसकेको उनले बताइन्।
उनले भनिन्, ‘मलाई पहिलो पटक पार्टी उपाध्यक्षको जिम्मेवारी यही अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट प्रदान गरिएको थियो। सोही समयमा हामीले यो ठाउँमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र खेलमैदान लगायतका पूर्वाधार बनाउनुपर्छ भन्ने कुरा गरेका थियौँ। आज त्यो सबै पूरा भएको छ। अन्तर्राष्ट्रिय विमानस्थल, सम्मेलन केन्द्र र राम्रा बाटोहरू बनेका छन्। अब उद्योग व्यवसायमा लागेका मित्रहरूसँग सरसल्लाह गरेर औद्योगिक क्षेत्रका समस्या समाधान गर्दै अगाडि बढ्नुपर्छ।’
विश्वमै प्रसिद्ध लुम्बिनी क्षेत्र यी भौतिक संरचनाहरू बनेपछि झनै प्रसिद्ध भएको धारणा उनले राखिन्। हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेतामा मनोनयन गरेको थियो। वरिष्ठ नेता मनोनित भएपछि उपत्यका बाहिर उनको यो पहिलो भ्रमण हो।