लर्ड मेयर शो २०२६ मा गोर्खा विरासत र नेपाली संस्कृति प्रस्तुत हुने

लन्डन, असोज १९ गते । २०० वर्षभन्दा लामो गोर्खा विरासत, वीरता, निष्ठा र सेवाको इतिहास यस वर्षको लर्ड मेयर शोमा ‘गोर्खा हेरिटेज एण्ड नेपालीज कल्चरल फ्लोट’ मार्फत प्रस्तुत हुने भएको छ।
नोभेम्बर १४ मा हुने लर्ड मेयर शोमा सहभागी हुने फ्लोटले नेपाल–बेलायतको ऐतिहासिक सम्बन्ध, गोर्खा समुदायको योगदान, नेपाली संस्कृति तथा बेलायतमा नेपाली समुदायको भूमिकालाई उजागर गर्नेछ। नेपालमा हालै आएको बाढी तथा जलवायु परिवर्तनको प्रभावलाई समेत फ्लोटमा संवेदनशील रूपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ।
फ्लोटको नेतृत्व लन्डनस्थित PANAS Restaurant का संस्थापक सुजन कटुवाल MBE ले गरेका छन्। परियोजनालाई अन्तर्राष्ट्रिय चेस ग्रान्डमास्टर रेमण्ड कीन OBE, व्यवसायी तथा परोपकारी डा. पेट्र फिर्ट, गोर्खा समुदायकी समर्थक डेम जोआना लम्ली तथा रोयल ग्रीनविचका मेयर डेभिड गार्डनरलगायतले समर्थन गरेका छन्।
सन् १२१५ देखि सुरु भएको लर्ड मेयर शो विश्वकै पुरानो नागरिक जुलुसमध्ये एक मानिन्छ।