मलेसियाबाट फर्किएर गाउँमै कुखुरापालन

टोपलाल अर्याल / गुल्मी, असोज २६ गते । पन्ध्र वर्ष मलेसियामा काम गरेर फर्किनुभएका गुल्मीको मालिका गाउँपालिका–८ मरभुङ्गका इन्द्रदेव पौडेल अहिले आफ्नै गाउँमा कुखुरापालनमा व्यस्त हुनुहुन्छ । विदेशमा प्राविधिक क्षेत्रमा काम गर्नुभएका पौडेलले गाउँ फर्किएपछि स्थानीय जातका कुखुरापालनलाई व्यवसायका रूपमा अघि बढाउनुभएको हो ।
कोभिड–१९ को महामारीपछि २०७७ सालमा सुरु गर्नुभएको कुखुरापालन व्यवसाय अहिले विस्तार भएर तीन हजार कुखुरासम्म पुगेको छ । सुरुमा दुई सय कुखुराबाट व्यवसाय थाल्नुभएका पौडेलले हरेक महिना सातदेखि आठ सय कुखुरा थप्ने गर्नुभएको छ । यसले गर्दा वर्षभरि कुखुरा बिक्री गर्न सहज भएको उहाँ बताउनुहुन्छ ।
सुरुमा उहाँको सिमलटारी बजारमा होटल र कुखुरापालन व्यवसाय दुवै थिए । स्थानीय जातका कुखुराको माग बढ्दै गएपछि उहाँले होटल छाडेर कुखुरापालनमा ध्यान केन्द्रित गर्नुभयो । तर, व्यवसाय सुरु गर्दा बजारको अभाव र उत्पादनअनुसार मूल्य नपाउने समस्या थियो । त्यसका बाबजुद उहाँले व्यवसायलाई निरन्तरता दिनुभयो ।
“सुरुमा बजार पाइएन, मूल्य पनि राम्रो थिएन । स्थानीयले डुब्यो भनेर जिस्क्याउनसमेत थाले । तर, विस्तारै बजार खोज्दै जाँदा राम्रो हुँदै गयो,” पौडेलले भन्नुभयो ।
उहाँको फार्ममा दैनिक कम्तीमा तीन सय अण्डा उत्पादन हुने गरेका छन् । स्थानीय बजारमा बिक्री हुँदै आएका कुखुरा तथा अण्डाको माग अहिले बुटवल, पाल्पा, स्याङ्जा र तनहुँसम्म पुग्ने गरेको छ । एकैपटक १५ वटाभन्दा बढी कुखुराको माग भए ग्राहकले भनेकै ठाउँमा पुर्याउने व्यवस्था पनि उहाँले मिलाउनुभएको छ । अहिले कुखुराको भाले प्रतिकिलो ७५० रुपियाँ र पोथी प्रतिकिलो ७०० रुपियाँमा बिक्री हुने गरेको पौडेलले बताउनुभयो ।
कुखुरापालनमा अहिलेसम्म करिब ५० लाख रुपियाँ लगानी भइसकेको उहाँको भनाइ छ । सबै खर्च कटाएर मासिक न्यूनतम ६० हजार रुपियाँ आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो ।
१५ वर्ष विदेशमा बिताएर फर्किएपछि पुनः विदेश जानुपर्ने अवस्था नआएकोमा पौडेल सन्तुष्ट हुनुहुन्छ । गाउँमै परिवारसँग बसेर विदेशमा हुने आम्दानीको हाराहारीमा कमाउन सक्नु आफ्नो लागि खुसीको विषय भएको उहाँ बताउनुहुन्छ । फार्मको व्यवस्थापन पौडेल र उहाँको परिवारले गर्दै आएको छ ।
कुखुरापालन जोखिमरहित भने छैन । रोगको सङ्क्रमणसँगै दाना, पानी, सरसफाइ र तापक्रम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने पौडेल बताउनुहुन्छ । “हरेक क्षेत्रमा जोखिम छ । कुखुरामा पनि रोग लाग्यो भने ठूलो क्षति हुन्छ । त्यसैले दाना, पानीदेखि तापक्रमसम्म निरन्तर निगरानी गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
व्यवसाय विस्तारका लागि सरकारी सहयोग नपाएको पौडेलको गुनासो छ । प्रविधि सहयोगका लागि पटकपटक आवेदन दिए पनि स्थानीय सरकार र प्रदेशका निकायबाट सहयोग प्राप्त नभएको उहाँले बताउनुभयो ।