अपराध नियन्त्रणमा सीमापार सहकार्यमा जोड

काठमाडौँ, असोज २८ गते । गृहमन्त्री सुदन गुरुङले आतंकवाद, मानव बेचबिखन, लागुऔषध तस्करी, सम्पत्ति शुद्धीकरण र साइबर अपराध नियन्त्रणका लागि क्षेत्रीय सहकार्य, सूचना आदानप्रदान र प्रविधिको प्रभावकारी उपयोगमा जोड दिनुभएको छ ।
भारतमा सम्पन्न पहिलो बिम्स्टेक गृहमन्त्रीस्तरीय बैठकपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले अन्तरदेशीय अपराध नियन्त्रणका लागि सदस्य राष्ट्रबीच समन्वय र सहकार्य थप सुदृढ गर्नुपर्ने बताउनुभएको हो ।
गृहमन्त्री गुरुङले प्राकृतिक विपद् पनि सीमामा नरोकिने भएकाले बिम्स्टेकअन्तर्गत क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य संयन्त्र र संयुक्त कार्यदल गठन गर्ने प्रस्ताव नेपालका तर्फबाट अघि सारिएको जानकारी दिनुभएको छ ।
“अपराधीको गतिभन्दा छिटो र सीमाभन्दा बलियो सहकार्य आवश्यक छ,” उहाँले भन्नुभएको छ ।
बैठकका क्रममा भारतीय गृहमन्त्री अमित शाहसँग साझा सुरक्षा चासोका विषयमा छलफल भएको जानकारी दिँदै उहाँले द्विपक्षीय सुरक्षाका समसामयिक विषयमा समन्वय र सहकार्य प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त भएको उल्लेख गर्नुभएको छ ।
भेटमा नेपाली उद्योगी तथा व्यापारीले भारतीय बजारमा पहुँच विस्तार गर्दा भोग्नुपरेका चुनौती र भारतमा रहेका नेपालीले सामना गरिरहेका समस्याबारे पनि छलफल भएको उहाँले बताउनुभएको छ । ती विषय समाधानका लागि आवश्यक समन्वय गर्ने प्रतिबद्धता भारतीय पक्षबाट प्राप्त भएको गृहमन्त्री गुरुङको भनाइ छ ।