स्याउ बिक्रीबाट एक करोड ६२ लाख आम्दानी

शेरबहादुर सार्की / बाजुरा, असोज २८ गते । बाजुराका किसानको स्याउ बिक्रीबाट एक करोड बैसट्ठी लाख २० हजार रुपियाँ आम्दानी गरेका छन् । भदौ १५ देखि असोज मसान्तसम्म जिल्लाभित्र तथा बाहिर स्याउ बिक्री गरेपछि उनीहरुले सो आम्दानी गरेका हुन् ।
यहाँको हिमाली, स्वामिकार्तिक र जगनाथ गाउँपालिकाका किसानलाई कर्णाली करिडोरले सहज बनाए पनि यता बुढीनन्दा नगरपालिकाका किसानलाई भने मार्तडी–कोल्टी सडक लामो समयदेखि अवरुद्ध हुँदा स्याउ ढुवानीमा सास्ती खेप्नु परेको थियो ।
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने मार्तडी–कोल्टी सडक समयमै सुचारु नहुँदा यहाँका स्याउ किसानलाई स्याउ बजारसम्म पुगाउन किनै सास्ती खेप्नु परेको थियो । सडक समयमै सुचारु भइदिएको भए सायद यो वर्ष करिब दुई करोडसम्म आम्दानी हुने कृषकको भनाइ छ ।
बारीमा स्याउ चाँडो पाके पनि यता मार्तडी–कोल्टी सडक ढिला सञ्चालनमा आएपछि त्यो स्याउ समयमै बजार पुगाउन नसकेपछि उत्पादन भए जति सबै स्याउ समयमै बिक्री गर्न समस्या भएको बुढीनन्दा नगरपालिकाका अधिकांश स्याउ किसानहरु बताउँछन् ।
बाटो र ढुवानी अुदानको अभाव भए पनि यहाँका किसानले गत वर्षभन्दा यो वर्ष बढी आम्दानी गरेका छन् । गत वर्ष करिब एक करोड ५० लाख आम्दानी गरेका यहाँका किसानले यो वर्ष त्यो भन्दा १२ लाख बढी आम्दानी गरेका छन् ।
हिमालीका गाउँपालिकाका किसानले यो वर्ष दुई लाख २० हजारको स्याउ बिक्री गरेका छन् । त्यसैगरी जगनाथका गाउँपालिकाका किसाने १० लाख बुढीनन्दाका किसानले ५० लाख र स्वामिकार्तिकका किसानले एक करोड रुपियाँको स्याउ बिक्री गरेको यहाँका कृषि प्राविधिक बताउँछन् ।
गत वर्षभन्दा यो वर्ष स्याउ राम्रो उत्पादन भएकाले यहाँका किसानले एक करोडभन्दा बढी रुपियाँको स्याउ बिक्री गरेको स्वामिकार्तिक खापर गाउँपालिकाका कृषि शाखा प्रमुख बिनोद शाहीले बताउनुभयो ।
त्यसैगरी बारीमा स्याउ राम्रो उत्पादन भए पनि बाटो अभावका कारण समयमै बजार नपुग्दा यहाँका स्याउ किसानले यो वर्ष घाटा ब्यहोर्नु परेको बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख दिपक कार्कीले बताउनुभयो ।
गत वर्षभन्दा यो वर्षमा राम्रो स्याउ उत्पादन भएको थियो । तर पाक्ने बेलामा बाँदरले खाएपछि यहाँका किसानलाई निकै घाटा भएको जगनाथ कृषि शाखा प्रमुख रिनेश कटेलले जनाएको छ ।
विगत चार वर्ष पहिला परीक्षणका लागि खाद्य कार्यक्रमद्वारा लगाएको स्याउ यस वर्षबाट फल्न सुरु भएको हो । यहाँका किसानले पहिलो वर्षमै दुई लाख २० हजार बराबरको स्याउ बिक्री गर्न सफल भएको हिमाली गाउँपालिकाका कृषि शाखा प्रमुख टोपबहादुर शाहीले बताउनुभयो ।
बाजुरामा ४१० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ, जसमध्ये करिब २०० हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
गत वर्ष ढुवानी अनुदान प्राप्त गर्दैआएका यहाँका स्याउ किसानलाई यो वर्ष भने सो अनुदानको व्यवस्था गर्न सकेको छैन । प्रदेश सरकारबाट बजेट ढिला भएपछि उनीहरुलाई अनुदान दिन नसकेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरिशबहादुर बिष्टले बताउनुभयो ।