चक्रवात ‘अर्णव’ नेपालतर्फ, कुन क्षेत्रमा कस्तो जोखिम?

काठमाडौं, कात्तिक ११ गते । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभाव नेपालमा पनि पर्ने भएपछि देशको विभिन्न क्षेत्रमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको जोखिम बढेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि चक्रवातको प्रभाव देखिन सक्ने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले बुधबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार चक्रवात बुधबार भारतको आन्ध्र प्रदेश र विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना छ । त्यसपछि यसको प्रभाव नेपालमा देखिन सक्ने अनुमान गरिएको छ ।
चक्रवातको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा हुने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा समेत वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
मौसमविद् बिनु महर्जनका अनुसार चक्रवातको प्रभाव नेपालमा देखिन थालिसकेको छ । स्याटेलाइट तस्बिरअनुसार चक्रवात भारतको आन्ध्र प्रदेश आसपासको सामुद्रिक क्षेत्रमा रहेको र तटीय क्षेत्रबाट जमिनतर्फ प्रवेश गर्ने क्रममा छ । यसको प्रभावले देशको विभिन्न भागमा बादल लाग्ने, मौसम बदली हुने र केही स्थानमा वर्षा हुने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।
महर्जनका अनुसार शुक्रबार र शनिबार वर्षाको सम्भावना अझ बढ्ने देखिएको छ । यस अवधिमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुन सक्छ ।
ती प्रदेशको थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
हिमाली क्षेत्रमा हिमपातको जोखिम
वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम समेत रहेको महाशाखाले जनाएको छ । पश्चिमी वायुको समेत प्रभाव रहने अवस्थामा कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुन सक्ने सम्भावना छ ।
मौसम प्रतिकूल हुन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा पर्वतारोहण तथा पदयात्राका लागि जाने पर्यटकलाई यात्रा स्थगित गर्न र जोखिमयुक्त क्षेत्रमा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।
हिमपात र हिमपहिरोको सम्भावना रहेका क्षेत्रमा मौसमको अवस्था नबुझी यात्रा गर्दा उद्धारमा समेत कठिनाइ हुन सक्ने भएकाले सावधानी अपनाउन मौसविद् महर्जनले आग्रह गर्नुभएको छ ।
नदी तटीय क्षेत्रमा सतर्कता
सम्भावित वर्षालाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले कात्तिक ११ देखि १५ गतेसम्म नारायणी, बागमती, कमला र कोसी नदीका जलाधार तथा आसपासका क्षेत्रमा उल्लेख्य वर्षा हुन सक्ने जनाएको छ । वर्षाका कारण नदी तथा खोलामा जल सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ ।
नदीको बहाव बढ्न सक्ने समयमा खोला किनारमा जाने, माछा मार्ने, नदी तर्ने वा जोखिमयुक्त क्षेत्रमा आवतजावत गर्ने कार्य नगर्नु आवश्यक छ ।
धानबाली भित्र्याउन आग्रह
चक्रवातको सम्भावित प्रभाव कृषि क्षेत्रमा समेत पर्न सक्ने भएकाले किसानलाई धानबाली सुरक्षित राख्न आग्रह गरिएको छ । धान भित्र्याउने समय भएकाले खेतमा पाकेको धान र काटेर सुकाउन राखिएको बाली वर्षाका कारण प्रभावित हुन सक्छ ।
महाशाखाले सम्भव भएसम्म बिहीबारअघि नै धानबाली भित्र्याउन तथा कृषि कार्य गर्दा मौसमको पछिल्लो अवस्था बुझ्न अनुरोध गरेको छ । वर्षाको सम्भावना रहेका क्षेत्रमा किसानले काटिसकेको धान सुरक्षित स्थानमा राख्ने र भित्र्याउन बाँकी बालीको व्यवस्थापनमा ध्यान दिनुपर्नेछ ।
त्यसैगरी वर्षा र हिमपातका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले यात्रामा निस्कनुअघि मौसमको अवस्था बुझ्न आवश्यक छ । पहिरोको जोखिम भएका सडक खण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन तथा सम्बन्धित निकायले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरिएको छ ।