तिहारमा बाउन्न लाख माला चाहिने, ८९ प्रतिशत स्वदेशी उत्पादन

काठमाडौँ, कात्तिक ११ गते । यस पटकको तिहारमा मुलुकभर झन्डै ५२ लाख गोटा माला खपत हुने भएका छन् । तिहारमा सयपत्री र मखमलीको माला बढी खपत हुने गर्छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार यस वर्षको तिहारमा ४८ करोड रुपियाँ बराबरको सयपत्री, मखमली र गोदावरी गरेर ५१ लाख ८० हजार गोटा फूलका माला खपत हुने छ । सबैभन्दा धेरै ४५ लाख गोटा सयपत्री, मखमली छ लाख, गोदावरी २० हजार र मिक्स माला ६० हजार गोटा खपत हुने अनुमान गरिएको छ ।
गत वर्षको हितमा ४० लाख सयपत्रीका माला खपत भएको थियो । गत वर्षको तुलनामा पाँच लाख गोटा सयपत्रीको माला बढी खपत हुने अनुमान गरिएको छ । तिहारमा खपत हुने ८९ प्रतिशत स्वदेशी उत्पादन रहेका छन् ।
तिहारमा लक्ष्मीपूजा गर्न, घर सजाउन र भाइटीकाका लागि मालाको बढी प्रयोग हुने गर्छ । फूलका माला मात्र नभई घर, आँगन, कार्यलय तथा व्यावसायिक परिसरमा सजावटका लागि सयपत्री तथा गोदावरी फूलका पोली तथा गमलाको माग हुने गर्छ ।
मुलुकभर २२५ हेक्टर क्षेत्रफलमा सयपत्रीको व्यावसायिक खेती भइरहेको छ । ग्रामीण तथा उत्पादन क्षेत्रमा सयपत्रीको माग पूर्ण रूपमा स्वदेशी उत्पादनबाटै हुने गरेकोमा सहरी क्षेत्रमा ८९ प्रतिशत आन्तरिक उत्पादनबाट आपूर्ति भरहेको फ्यानले जनाएको छ ।
तिहारमा काठमाडौँका आसपासका जिल्लामा ५० प्रतिशत र बाहिरी जिल्लामा ५० प्रतिशत माला खपत हुने गर्छ । एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले वार्षिक रूपमा बजारमा १० देखि १५ प्रतिशत फूलको माग बढ्दै गएको जानकारी दिनुभयो । व्यावसायिक रूपमा खेती विस्तार हुँदै गए पनि मखमलीमा आत्मनिर्भर भए पनि अन्य फूलमा पूर्ण रूपमा आत्मनिर्भर हुन नसकेको उहाँको भनाइ छ । तीन वर्षदेखि सरकारले सयपत्री फूलको आयातमा प्रतिबन्ध लगाएपछि स्वदेशी उत्पादनले बजार पाउन थालेको छ । मुलुकभर ५४ जिल्लामा ३२५ हेक्टर क्षेत्रफलमा पुष्प खेती भइरहेको छ ।
फ्यानका अनुसार पुष्प व्यवसायमा ११ अर्ब ५० करोड रुपियाँभन्दा बढी लगानी रहेको छ । यस क्षेत्रमा ६२ हजार बढीले रोजगारी पाएका छन् । व्यावसायिक खेतीको विस्तार हुँदै गए पनि आन्तरिक उत्पादनले माग धान्न नसक्दा बाहिरी मुलुकबाट पुष्पजन्य वस्तुको आयात हुने गरेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा एक करोड १५ लाख ७८ हजार रुपियाँको निर्यात भएकामा २६ करोड १३ लाख रुपियाँको आयात भएको छ । निर्यातको तुलनामा आयात उच्च रहेको छ ।
नेपालमा आयात हुने पुष्प तथा पुष्पजन्य वस्तुमा जीवित बिरुवा, पुष्पको बिउ, फ्रेस कट फ्लावर, बल्ब, टयुबर, रुट्स रहेका छन् । भारत, नेदरल्यान्ड, चीन, जापान, जर्मनी, केन्या, थाइल्यान्ड, भियतनाम अमेरिका, इजिप्टलगायतका देशबाट पुष्प तथा पुष्पजन्य वस्तु आयात हुने गर्छ ।
नेपालबाट बेलायत अमेरिका, अस्टे«लियालगायतका मुलुकमा दुई लाखभन्दा बढी सयपत्री माला निर्यात पनि हुने गरेको छ ।